प्रश्न नगर्ने कसरी बौद्धिक ?

तपराज जोशी । एकजना मित्र विद्यालय तहदेखि उच्च शिक्षासम्म प्रथम श्रेणीमा उत्तीर्ण हुने गर्दथे । उनी निकै जिज्ञासु पनि थिए । कक्षामा सबैभन्दा बढी प्रश्न गर्ने उनी एकमात्र हुन्थे । उनी शिक्षकले बोलेका हरेक वाक्यहरूको सत्यता परीक्षण समेत गर्न चाहन्थे ।

उनी हरेक वादमा केही न केही कमजोरी औंल्याउने र समीक्षा गर्ने प्रयास गरिरहन्थे । उनी भन्ने गर्दथे, कुनै पनि व्यक्तिको व्यक्तित्व एकनाशको हुँदैन । सबैमा फरक–फरक गुण र प्रतिभा रहेको हुन्छ । त्यसैले त एकै समयमा जन्मिएका जुम्ल्याहाहरूको पनि रुची, व्यवहार र विचार दुरुस्तै हुँदैन । यति मात्र होइन, जीवन–जगतमा जति पनि विचारहरू विकसित भएका छन् ती कुनै न कुनै निश्चित सन्दर्भमा भएका हुन्छन् ।

आज उपयुक्त लागेको विचार समयान्तरालमा अनुपयुक्त पनि हुन सक्छ । कुनै पनि विचार आपैmमा परिपूर्ण हुँदैन । अर्थात् व्यक्ति र विचारलाई परिवेशको सापेक्षतामा हेरिनुपर्दछ । यदि यसलाई निरपेक्ष रूपमा हेरियो भने सत्यता ओझेलमा पर्न सक्दछ । किनकी सत्य केवल एउटै हुँदैन । सत्यका पनि बहु–रूपहरू हुन्छन् भन्ने उनको धारणा थियो ।

ती मित्रका विचार सुन्दा हामीलाई पनि लाग्थ्यो तिनले बौद्धिकतालाई सही तरिकाबाट बुझेका रहेछन् । हुन पनि हो, सत्यताका बहुरूप नै हुन्छन् । हजारौं फिटमाथि आकाशबाट देखिने कुनै सहरको सौन्दर्य त्यही सहरको पैदलयात्रीले नदेख्न सक्छ । जसरी एउटै घरलाई विभिन्न दिशाहरूबाट हेर्दा फरकफरक आकृति देखिन्छ त्यसरी नै कुनै विचार, सिद्धान्त वा कसैको व्यवहारलाई फरकफरक दृष्टिकोणबाट हेर्ने हो भने उस्तै देख्न सकिँदैन, फरक–फरक देखिन्छ किनकि यहाँ निश्चित विषयवस्तु वा विचारलाई कुन दृष्टिकोणले हेरिएको हो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

जस्तो रङको चस्मा लगाएर हेर्यो दृश्य उही रङको देखिन्छ । त्यसैले साँचो अर्थमा विद्वान हुनु र विद्वान कहलिनुमा ठूलो अन्तर छ । विद्वानले यो दृष्टिकोणको भेद बुझेको हुनुपर्दछ । उसले लगाएको चस्माले यथार्थमा जुन वस्तु हो त्यही देख्न सक्नुपर्दछ । अझ, उच्च शिक्षाको प्रमाणपत्र लिइसकेका र आफूलाई अरुले विद्वान भनेर सम्बोधन गरिदिँदा गर्व गर्नेहरूले त यी भिन्न दृष्टिकोणका बिचबाट सत्य के हो खोज्न र समाजलाई बुझाउन सक्नुपर्दछ ।

समयको अन्तरालमा मेरा ती मित्र आफूले खोजेजस्तो विद्वत परिवेश नपाएकाले होला चाँडै नै विदेश पलायन भए । उनका अनुसार विद्वान दुई प्रकारका हुन्छन् । एकथरि विद्वानले ज्ञानको प्रसार मात्र गर्ने गर्दछन् भने अर्काथरि विद्वान ज्ञानको उत्पादन र प्रसार दुवै कार्यमा संलग्न देखिन्छन् । यी दुवै प्रकारका विद्वानको मूलभूत चरित्र भने एउटै हुन्छ किनकि, यिनीहरू अरुले बोलेका वाक्यहरू तथा संप्रेषण गर्न चाहेको विचारलाई आफ्ना तर्कका ममाध्यमबाट परीक्षण नगरी ग्रहण गर्न चाहदैनन ।

अर्थात् उनीहरूको मूलभूत चरित्र भनेको हरेक कुरामा प्रश्न गर्नु, खोज गर्नु र निष्कर्षमा पुग्नु अघि त्यसको सत्यता र वैधताको परीक्षण गर्नु रहेको हुन्छ तर हाम्रो देशको सन्दर्भमा भने यो कुरा फरक देखिन्छ । त्यसैले होला उनले आफ्नो बोद्धिकताको अभ्यास गर्ने र आफ्नै देशलाई आफ्नो कर्मथलो बनाउने वातावरण पाएनन् । हाम्रो देशको सन्दर्भमा बैद्धिकताको अर्थ फरक छ । हामीकहाँ वौद्धिक व्यक्ति भनेको धेरै नबोल्ने, प्रश्न नगर्ने, आफूभन्दा उच्च ओहोदामा रहेका व्यक्तिको विचार र व्यवहारलाई लिएर कुनै प्रतिवाद नगर्ने व्यक्तिहरू यस कोटिमा पर्दछन् ।

यतिसम्म कि कुनै सभासमारोह तथा गोष्ठीहरूमा समेत उच्च तहका राजनीतिज्ञको उपस्थिति छ भने उनको इच्छा चाहनामा ठेस पुग्नेगरी तर्क गर्न समेत चाहदैनन् बरु राजनैतिक नेतृत्वको जस्तोसुकै विचार किन नहोस् त्यसको वैधता प्रमाणित गर्ने र त्यसलाई सत्य सावित गर्ने प्रयत्नमा नै तल्लिन देखिन्छन् । यो कुनै प्राज्ञिक कार्यक्रम तथा शैक्षिक क्षेत्र वा प्रतिष्ठानको मात्र विषय नभएर समग्र मुलुकका अधिकांश विद्वानहरूको चरित्र नै बनिसकेको देखिन्छ ।

विद्यालय तहदेखि नै शिक्षण पेसामा संलग्न प्रबुद्ध वर्गहरू प्रश्न गर्न र गराउन चाहँदैनन् बरु एउटा कुनै समूह वा राजनैतिक दलको ओत लागेर अर्को दल वा समूहको विरुद्ध मोर्चाबन्दी गर्न र गराउन उद्दत देखिन्छन् मानौँ कि उनीहरूले गरिरहेको कार्य नै उत्कृष्ट, अनुकरणीय र पूर्ण सत्य हो । उनीहरूको यस्तो व्यवहारले समाजलाई कतातिर लगिरहेको छ त्यसका बारेमा समेत उनीहरू न बुझ्न नै चाहन्छन् न त अरुले भनेको सुन्न नै ! शिक्षण पेसामा लाग्ने तर समाजका विकृति–विसङ्गतिविरुद्ध न आपूm प्रश्न गर्ने न त अरुलाई नै प्रश्न गर्न उत्प्रेरित गराउने व्यक्ति कसरी विद्वान हुन सक्छ ?

आफ्नो स्वार्थ अनुकुलका सबै कुरालाई सत्य साबित गर्न खोज्ने तर स्वार्थ प्रतिकुल हुनेबित्तिकै अरुको खेदो खन्ने व्यक्ति कसरी विद्वान हुन सक्छ ? एकातिर बौद्धिकताको प्रमाणपत्र बोकेर निष्पक्ष तथा सत्यमा आधारित ज्ञानको सिर्जना र प्रसार गर्ने जिम्मा लिने अर्कोतिर कुनै राजनैतिक दलविशेषको विचार बोकेर उक्त सन्दर्भहीन विचारहरूलाई सत्य साबित गराउन लागिपर्ने व्यक्ति वा वर्ग कसरी विद्वत हुन सक्छ ?

साँचो अर्थमा भन्ने हो भने विद्वान न कुनै जातको शंकीर्णताभित्र सीमित रहन सक्छ न कुनै भौगोलिक क्षेत्र, न कुनै लिङ्ग, वर्ण, धर्म–संस्कृति तथा कुनै राष्ट्रको सीमाभित्र संकुचित रहन सक्छन् तर बिडम्बना ! हाम्रो देशमा अधिकांस वौद्धिक वर्गको कोटिमा गनिएका व्यक्तिहरूले विद्वताको आधारभूत चरित्रसमेत अवलम्बन गर्न सकेको देखिँदैन ।

उनीहरू यतिसम्म पनि महसुस गर्न सक्दैनन् कि समाजले जहिले पनि विद्वतवर्गबाट सबैभन्दा धेरै आशा गरेको हुन्छ । उनीहरूबाट सचेत एवम् उद्देश्यमूलक अन्तरक्रिया याको अपेक्षा गरिएको हुन्छ । देशको राजनैतिक, आर्थिक, सामाजिक तथा शासन व्यवस्थामा आइपर्ने शङ्कटको समाधानका लागि हस्तक्षेपकारी भूमिकाको पनि उनीहरूबाटै अपेक्षा गरिएको हुन्छ ।

वर्तमान परिवेशलाई विश्लेषण गर्ने हो भने हाम्रो देशको विद्वतवर्ग भूमिकाविहीन तथा अत्यन्त निरीह देखिएको छ । यस्तो शंकटका बेला पनि सँगै बसेर देशलाई निकाश दिनका लागि आवश्यक छलफल गर्ने प्रयत्न गर्नसम्म पनि उनीहरू असमर्थ देखिन्छन् । के कारणले देश दिनानुदिन शंकटग्रस्त हुँदै गइरहेको छ ? यसका पछाडिको कारक तत्व के हो ?

केवल राजनैतिक नेतृत्वको कमीकमजोरीले मात्रै देश यस्तो गम्भीर मोडमा आइपुगेको हो वा अरु कुनै आन्तरिक तथा बाह्य पक्ष पनि यसका लागि जिम्मेवार छन् ? यीमध्ये कुनै पनि विषयमा बौद्धिक वर्गले विचारविमर्श गर्न नचाहनुका पछाडि मूलभूत रूपमा एउटै कारण देखिन्छ । त्यो हो यी घटनाहरूको समीक्षापछि निस्कने निष्कर्ष उनीहरूको व्यक्तिगत स्वार्थ परिपूर्ति गर्ने सन्दर्भमा आत्मघाती साबित हुन सक्दछ ।

यी घटनाहरूको समीक्षा गर्नेबित्तिकै राजनैतिक दलका गतिविधिहरू र उनीहरूले विगतमा देशलाई समृद्ध बनाउने नाममा रोजेको बाटो नै गलत थियो भन्ने निष्कर्षमा पुगिने संभावना धेरै छ । यदि यो निष्कर्ष निस्कियो भने राजनैतिक नेतृत्व र दलहरूसँगको उनीहरूको सम्बन्धको डोरी जुनसुकै बेला पनि चुँडिन सक्छ र उनीहरूले जीवनभरि पालेका सपनाहरू पलभरमा भताभुङ्ग भइदिन सक्छन् ।

जुन सम्बन्धको धरातलमा विद्वानहरूले थुप्रै राजनैतिक नियुक्तिहरू हासिल गर्न जीवनभर प्रयत्न गरिहेका छन्, जसका लागि आफ्नो विद्वतालाई नै बन्धकी राख्र्दै, सर्वाङ्ग नाङ्गिएर, लोकलाजको पनि ख्याल नगरेर लागिपरेका छन् त्यो केवल सपनामा मात्र सीमित हुने देखिन्छ । त्यसैले त देश विखण्डनको अन्तिम चरणमा पुगिसक्दा पनि, राजनैतिक प्रणाली एकपछि अर्को हुँदै पटकपटक धरापमा पर्दा पनि, विदेशी हस्तक्षेपले देशलाई आक्रान्त बनाउदासम्म पनि विद्वतवर्ग सामूहिक रूपमा वर्तमान अवस्थाबारे छलफल गर्न समेत चाहदैनन् ।

त्यतिमात्र होइन देश विगत लामो समयदेखि महामारीको मारले आहत भइरहँदा पनि विद्वानहरूले गोलबद्ध भएर यसबाट उन्मुक्तिका लागि कुनै अग्रसरता लिएको पाईदैन बरु सत्तापक्ष र विपक्षझैँ राजनैतिक दलहरूकै लयमा लोरी गाइरहेका देखिन्छन् । त्यसैले मौनताको यो वर्तमान सन्दर्भले आम जनमानस र विद्याका पारखीहरूमा एउटा प्रश्न टड्कारो रूपले उठिरहेको छ, यी बोल्दै नबोल्नेहरू पनि कसरी विद्वान हुन सक्छन् ?

(बाह्रखरीबाट)

प्रश्न नगर्ने कसरी बौद्धिक ?

YUGAAWHAN NATIONAL DAILY (2078-03-01)

प्रश्न नगर्ने कसरी बौद्धिक ?

बजेटका प्राथमिकता

Leave a comment

Your email address will not be published. Required fields are marked *