सिंहदरबारभित्रै कर्मचारीको आन्दोलन

काठमाडौं । निजामती सेवा ऐनमा बहालवाला कर्मचारीलाई विभेद गर्ने प्रावधान राखिएको भन्दै कर्मचारीहरू सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएका छन् । प्ले कार्ड बोकेर उनीहरू शान्तिपूर्ण प्रदर्शनमा गरेका हुन् ।
निजामती सेवा ऐनमा बहालवाला कर्मचारीको वृत्ति विकासमा अवरोध हुने गरी व्यवस्था राखिएको हुँदा त्यसको खारेजीको माग गर्दै सेवा अवरुद्ध नहुने गरी आन्दोलन थालिएको हो । निजामती कर्मचारी अब आन्तरिक प्रतिस्पर्धाबाट माथिल्लो पदमा जान नपाउने भएका छन् ।
यही साता संसद्मा पेस गरिएको निजामती कर्मचारी सेवासम्बन्धी विधेयकमा आन्तरिक प्रतिस्पर्धालाई हटाएर खुला प्रतिस्पर्धा र अन्तर तह प्रतियोगिताको प्रावधान राखिएको छ । यसअघि उपसचिव र सहसचिवका रिक्तमध्ये आन्तरिक प्रतिस्पर्धाबाट २०–२० प्रतिशत पदपूर्ति हुँदै आएकामा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा–सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यो व्यवस्था हटाउन सिफारिस गरिएको हो ।

विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरी संसद्मा पेस गरेको हो । विधेयक अझै संशोधन हुने सम्भावना छ । आन्तरिक प्रतिस्पर्धाबाट हुने बढुवाको व्यवस्था हटाएर कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवाको कोटा बनाइएको छ। विधेयकमा उपसचिव र सहसचिवमा १०–१० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था गरिएको छ ।
सहसचिवमा अन्तरतह प्रतियोगिताबाट १० र बढुवाबाट ८० तथा उपसचिवमा अन्तरतह प्रतियोगिताबाट २० र बढुवाबाट ७० प्रतिशत पदपूर्ति गरिने प्रावधान राखिएको छ । हाल तल्लो पदमा सेवारत कर्मचारी माथिल्लो पदका लागि आन्तरिक प्रतिस्पर्धा गर्न पाउँछन् । तर, प्रस्तावित विधेयकले यो बाटो छेकिदिएको छ। यस्तो प्रावधानप्रति कर्मचारीहरू विरोधमा छन् । यसले आफूहरूको करिअर प्रभावित हुने उनीहरूको भनाइ छ ।






