कोरोनाको तेस्रो लहर कसरी नियंत्रण गर्ने ?

सुनील गौतम । चीनको वुहानबाट सुरु भएको भए पनि कोभिड महामारी चीनकै भने अरु प्रान्त र सहरमा खासै फैलिन पाएन । हुनत, त्यस समय कोरोनाविरुद्धको खोपको विकास पनि भएको थिएन । तैपनि चीन यो महामारी नियन्त्रण गर्न सफल भयो ।
दक्षिण एसियाको शक्तिशाली मानिएको भारतले भने दोस्रो लहरसम्म आइपुग्दा पनि संक्रमण रोक्न चाहिने रणनीति र न्यूनतम स्वास्थ्य संरचनासमेत बनाउन सकेन । परिणामस्वरुप भारतमा यो संक्रमण व्यापक र तीव्ररूपमा फैलियो । यसको असर नेपालमा पनि पर्न गयो । भारत सरकार कोभिड–१९ महामारी नियन्त्रणका लागि हावश्यक रणनीति र स्वास्थ्य संरचनाको अपरिहार्यता बुझ्न र सम्झन असफल भयो । त्यही कारणले भारतमा महामारीे भयावह हुनपुग्यो । सँगै नेपालमा पनि भयावह स्थिति उत्पन्न भयो ।
कुनै पनि महामारी सजिलै समाप्त नभएको साक्षी इतिहास छ । सन् १९१८ – २० को इन्फ्लुएन्जाको महामारीको चार लहर आएको थियो । दोस्रो लहरले धेरै हानि गरेको थिया । फरवरी– मार्च २०२१ सम्म चीनबाहेक सबै प्रमुख देशले कोभिड–१९ को महामारीको संक्रमणको दुई या तीन लहरको सामना गरिसकेका छन् ।
त्यहाँ पहिलो लहरको तुलनामा दोस्रो धेरै भयावह भएको छ । भारतका वैज्ञानिकहरुले कोरोनाको तेस्रो लहर अवश्यंभावी छ भनेका छन् । तर त्यो लहर कहिले आउँछ र कति नोक्सान गर्छ भन्ने आकलन अहिले गर्न सकिँदैन भन्ने उनीहरुको धारणा छ । यो तेस्रो लहर बच्चाहरुका लागि बढी खतरनाक हुने चर्चा छ । जनसंख्याको ६० –७० प्रतिशतमा ‘एन्टिबडी‘ विकास भएर समूहिक प्रतिरक्षात्मक क्षमता (हर्ड इम्युनिटी) विकसित नहुँदासम्म यो रोग नियन्त्रण हुँदैन ।
नेपालमा पहिलो लहरमा १२.५ प्रतिशत जनसंख्यामा मात्र एन्टिबडी विकसित भएको थियो । बाँकी ४८ देखि ५८ प्रतिशत जनसंख्यामा एन्टिबडी विकसित भएमात्र संक्रमण नियंत्रण हुनसक्छ । कोभिड–१९ विरुद्धको खोप लगाएका वा संक्रमण भइसकेका मानिसमा मात्र एन्टिबडी विकसित हुन्छ । नेपालको सरकार भने कोरोना संक्रमण नियंत्रण गर्ने काममा केन्द्रित देखिँदैन ।
सरकारको ध्यान त राजनीतिक किचलोमा मात्र केन्द्रित छ । यही कारणले खोप वितरण प्रक्रिया तीव्र होला जस्तो देखिँदैन । यसको अर्थ एकपटक जनसंख्याको ठूलो समूह कोरोनाबाट संक्रमित भई एन्टिबडी विकसित भएमात्र संक्रमण मत्थर हुन्छ भन्ने हो । अर्थात, नेपालमा संक्रमणको तेस्रो र चौथो लहरसम्म आउन सक्छ । कोरोनाको पहिलो र दोस्रो लहरसम्म आउँदा स्वास्थ्य संरचनाका कमीकमजोरी स्पष्टरुपमा देखिएका छन् ।
अब तेस्रो लहरको सामना गर्न ती कमी कमजोरी हटाउँदै उच्च सावधानी अपनाउनुपर्ने देखिन्छ । तेस्रो लहरको सामना गर्न केन्द्र र प्रदेश सरकार मिलेर योजना बनाउनुपर्छ । प्रत्येक गाउँपालिकाका वार्डहरुमा भएका स्वास्थ्य संरचनालाई मजबुत बनाउने मार्गचित्र बनाउनुपर्छ । अस्पतालमा अक्सिजनसहितका शैयाहरु तयार गर्न वार्डहरुमा भएका प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई सक्रिय बनाउनुपर्छ । यसका लागि सरकारी निकायको मात्र मुख ताक्नुभन्दा समुदायबाट पनि सहयोग जुटाउन सकिन्छ । जस्तै गुल्मीमा पत्रकार महासंघले अक्सिजन बैंक स्थापना गर्न पहल गर्दा धेरैले सहयोग गरे ।
नेपालमा नागरिक समाज, राजनीतिक, पेसाागत, व्यावसायिक, जातीय, धार्मिक संघसंगठन छन् । तिनीहरु पनि यस्तो विपदमा देश र समाजलाई सहयोग गर्न अग्रसर हुनुपर्छ । तर, केही संगठनहरुले त्यस्तो गरेको देखिएन । बुटवलमा एउटा दलका स्थानीय नेताको कोरोना संक्रमणको कारण मृत्यु भयो । उनी आबद्ध संगठनका कोही पनि तिनको दाहसंस्कार गर्न तयार भएनन् । मानिसमा चेतनाको कमीले पनि यसो भएको हुनसक्छ ।
विशेष सावधानी अपनाएर दाहसंस्कार गर्दा कोरोना सल्किँदैन भन्ने ज्ञान न भएर पनि यस्तो व्यवहार गरिएको हुनसक्छ । पछि तरुण दलका कार्यकर्ता गएर ती अर्को पार्टीका नेताको दाह संस्कार गरे । राजनीतिक संघसंगठन चुनावका लागिमात्र बनाइने होइन । यिनीहरु समाज र नागरिकप्रतिको जिम्मेवारीबाट विमुख नहोऊन् । यो समयमा संगठनको आधारमा मतभेत भन्दा पनि मानवताको आधारमा सबै एकजुट भए । मानव सेवामा अग्रसर हुने बेला हो ।
अहिले नेपालमा २ हजार ६०० आईसीयु बेड छन् भने ९०० भेंटिलेटर मात्र छन् । यो लेख लेख्दासम्म नेपालमा कोरोना संक्रमितको संख्या चार लाख २२ हजार ३४९ पुगेको थियो भने मृत्यु हुनेको संख्या चार हजार २५२ पुगेको छ । नेपालको कोभिड–१९ को तग्यांक रेकर्डिंग र रिपोर्टिंगमा पनि सुधार आवश्यक छ । कुनै पनि बिरामीको प्रवृत्ति बुझ्न तथा नयाँ स्ट्रेनको परीक्षणका लागि जिनोमिक सिक्वेंसिंग (जीनोम अनुक्रमण) को अध्ययन गर्नुपर्छ ।
नेपालमा जिनोमिक सिक्वेंसिंगमा कुनै काम भएको थाहा पाइएको छैन । संक्रमण नियंत्रण गर्न र समयमा उचित रणनीति तयार गर्न यी दुवै काम गर्नु आवश्यक छ । नेपालले यस बारेमा शोध गर्न कुनै कदम उठाएको देखिँदैन । नेपालले सिक्वेंसिंगको लागि हांगकांगलगायत अन्यत्र नमुना पठाउने गरेको छ ।
महामारी सम्बन्धित प्रतिकार्यहरु वैज्ञानिक प्रमाण र विशेषज्ञहरुको प्राविधिक सलाहबाट मात्र निर्देशित हुनुपर्छ । हल्लाको भरमा नीति नियम बनाइनु हँुदैन । निर्माताले प्राविधिक विशेषज्ञहरुको सल्लाह सुझावअनुरूप नीति निर्माण गर्नुपर्छ । स्वास्थ्य, जनस्वास्थ्य, अर्थशास्त्री, समाजशास्त्रीजस्ता स्वतन्त्र विशेषज्ञहरु नीति निर्माणको लागि संलग्न गराउनुपर्छ । महामारीको असर स्वास्थ्यमा मात्र नपरेर यस्को असर समाजिक र आर्थिक क्षेत्रमा पनि हुन्छ ।
(बाह्रखरीबाट)






