‘विहेपछि मात्र एकले अर्कोलाई बुझ्ने मौका पायौं’

जसले आफ्नो जीवनसाथीप्रति विश्वास राख्दछ, उसको माया पनि दिगो हुन्छ । सबै जोडीको माया दिगो हुँदैन । त्यस्तो सफल हुन्छ, जसले एक अर्कालाई बुझ्ने गर्दछन् । हरेक सुख, दुखमा साथ दिने गर्दछन् । एक अर्कामा विश्वासको वातावरण सृजना
गर्दछन् । यो कुरा सबै जोडीहरुको लागि लागू हुन्छ । यस्तै आफ्नो पहिलो मायालाई सफल बनाएका जोडी हुन् चौहानसिंह राना र मञ्जु राना । यो जोडीको प्रेम कथाका सन्दर्भमा आजको अंकमा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ः
चिनजान भयो, तर बोलचाल भएन
चौहानसिंह राना र मञ्जु राना एकअर्काबिचमा अपरिचित थिए । चौहानसिंह सानैदेखि भारतमा बस्थे भने मञ्जु बर्दियामा । चौहानसिंहको दिदीको बिवाह बर्दियामा भएको थियो । तिहारको बेलामा दिदीसँग टिका लगाउन उनी बर्दिया गए । चौहानसिंहको दिदीले अब बिवाह गर्ने उमेर भयो तिमीले बिवाह गर्नुपर्छ भनेर प्रस्ताव राखिन् । दिदीकै चिनेको केटीसँग 
बिवाह गर्नेगरी कुरा अगाडी बढाइयो । मञ्जुको बुवासँग चौहानसिंहको दिदीको राम्रो सम्बन्ध भएकै कारण उनीहरुको सम्बन्धको कुरा अगाडी बढ्यो । मञ्जुको बुवासम्म बिवाहको प्रस्ताव लिएर गएपछि चौहानसिंह र मञ्जुको चिनजान भएको हो । मञ्जुलाई हेर्न भनेर चौहानसिंह गए । उनीहरु दुबैजनाको चिनाजान भयो, तर बोलाचाल भने भएन ।
परिवारको सल्लाहमै विहे
चौहानसिंह र मञ्जुको घरपरिवारकै सल्लाहमा मागी बिवाह भयो । उनीहरुबिचमा बिवाहको कुराकानी घरपरिवारबाटै चलाइएपछि दुबैको परिवार सम्बन्ध स्थापित गराउने सन्दर्भमा राजी भए । २०४६ सालमा जेठमा मगनी भयो र २०४६ असोजमा उनीहरुको बिवाह हुन पुग्यो । उमेरले उनीहरु परिपक्व भइसकेका थिए । चौहानसिंह २५ बर्ष र मञ्जु २१ बर्षकी
थिइन् । घरपरिवारकै सल्लाहमा उनीहरु बिवाह बन्धनमा बाधिन पुगे । चौहानसिंहको बुवाआमा सबै परिवार भारतमा बस्थे । माइती घरबाट पोइली घरमा जाँदा मञ्जुलाई केही अफ्ठेरो भयो, भाषा रहनसहन मात्र नभएर सबै शैलीमा घुलमिल हुन उनलाई समस्या थियो । शुरुदेखि नै उनीहरु घरको जिम्मेवारी सम्हाल्न थालिसकेका थिए । घरको सबै जिम्मेवारी पुरा गर्नुपर्ने उनीहरुकै दायित्व भएकाले उनि विस्तारै घुलमिल हुन थालिन् । उनीहरु बिवाहपछि मात्र एकअर्कालाई बुझेका थिए ।
विवाहपछिको संघर्ष
चौहानसिंह र मञ्जुको बिवाहपछिका दिनहरु संघर्षमै विते । आर्थिक समस्या भने उनीहरुलाई भएन । किनकी चौहानसिंह बिवाह अगाडीदेखि नै शिक्षण पेशामा थिए । उनको तलवले घर खर्च टार्न समस्या थिएन । तर चौहानसिंहको परिवार सबै भारतमा नै बस्थे । घरको सबै जिम्मेवारी आफैले पुरा गर्नुपर्ने अर्कोतिर बच्चाबच्ची पनि जन्मिसकेका थिए । उनीहरुको स्याहारसुसार गर्नुपर्ने चौतर्फी जिम्मेवारी पुरा गर्न उनीहरुलाई धेरै संघर्ष गनुपर्यो । उनीहरुको जीवन संघर्षमा नै वित्यो । तर संघर्षमा एकअर्कालाई उनीहरु दुबै जनाले बाँडेर पुरा गर्थे ।
कस्तो थियो बाल्यकाल ?
बुवा कमानसिंह राना क्षेत्री र आमा हिरादेवी राना क्षेत्रीको कोखबाट २०२१ साल चैत २१ गते साविकको अवलचिङ गाविस हालको चिङ्गाड गाउँपालिका डोप्केमा जन्मिएका चौहानसिंह घरको जेठो छोरा हुन् । उनका पाँच जना भाइबहिनी थिए । उनको बाल्यकाल सुखले वित्यो । उनको बाल्यकाल भारतमा वितेको हो । १ कक्षादेखि विएसम्म भारतमै पढेका उनले
पढाइलाई निरन्तरता दिन सहजै पाए । बुवा आमाको सपोर्ट राम्रो पाएका चौहानसिंहले कक्षामा सधै दोश्रो स्थानमा आउँथे । सन् १९८४ एसएलसी पास गरेका उनले १९८७ विए पास गरे । बुवाको जागिर उतै थियो । उनलाई शिक्षा लिन कुनै समस्या थिएन । सानोमा चन्चले स्वभावका उनी जिद्धी स्वभावका थिए । तर अन्यायको विरुद्धमा उनी जोसँग पनि जाइलाग्थे । उनले उच्च शिक्षा भने शिक्षा क्याम्पस सुर्खेतबाट गरेका हुन् । उनी अहिले भैरव मावि अवलचिङको प्रधानाध्यापक हुन् । बुवा चेतनाथ उपाध्याय र आमा चनिसरा उपाध्यायको कोखबाट वि.स २०२५ पुष ४ गते बर्दियाको पदनाहामा जन्मिएकी मञ्जु
घरकी जेठी छोरी हुन् । उनका चारजना भाईबहिनी हुन् । उनी पढाइमा धेरै ध्यान दिन्थिन् । घरपरवारमा उनलाई पनि पढ्न सहज थियो । उनले २०४१ म एसएलसी दिइन् । तर उनी पास हुन नसकेपछि उनको बुवाले फेरी परिक्षा दिनुपर्छ पढ्नुपर्छ
भन्थे । तर उनले नपढ्ने भनेकी थिइन् । बिवाहपछि उनको श्रीमान् चौहानसिंहले पढ्ने प्रेरेरणा दिएपछि उनले २०४७ सालमा एसएलसी गरिन् । सानामो उनी निडर स्वभावकी थिइन् । त्यसैले पनि होला गाउँका मानिसहरुले उनलाई नेता हुन सक्ने क्षमताको छ भनेर भन्ने गर्थे । अहिले उनि सिमान्तकृत महिलाहरुका लागि महिला संस्था (वाम) को उपाध्यक्ष समेत छन् । अन्य सामाजिक क्षेत्रमा पनि उनको लगाव उत्तिकै छ ।
सल्लाह र सहकार्य
संघर्ष गरेर सफलतामा पुगेका यो जोडी अहिले खुसी छन् । सामाजिक सेवासँगै सरकारी जागिरमा रहेका यो जोडी जे काम गर्दा पनि सल्लाह र सहमतिमा मात्र गर्ने गर्छन् । यस्तो गर्दा सम्बन्धमा खटपट आउँदैन । यो जोडी काममा नै धेरै व्यस्त हुने भएकाले सँगै घुम्न जाने, एउटै विषयमा बहस गर्न मन पराउछन् । घरमा केही समस्या आयो भने दुबैले एकअर्कालाई हौसला दिने गर्छन् ।
मनपर्ने बानी
यो जोडी एकअर्काेको केही बानी असाध्यै मन पराउँछन् । चौहानसिंहको सबै कुरामा साथ र सहयोग गर्ने बानी मञ्जुलाई साह्रै मनपर्छ । तर घरको काम हुँदाहुँदै पनि कहिलेकाँही साथीहरुसँग हिँडिदिने चौहानसिंहको बानी भने मञ्जुलाई मन पर्दैन । चौहानलाई भने निडर र सबैलाई सम्मान गर्ने मञ्जुको बानी मनपर्छ । तर चाँडै रिसाइहाल्ने बानी भने मन पर्दैन ।
एकअर्काे बीचमा विश्वास र समझदारी भए मात्र दाम्पत्य सम्बन्धलाई दिगो बनाउन सकिने उनीहरूको भनाइ छ । जबसम्म एकअर्काे बीचमा समझदारी र विश्वास कायम हुँदैन, तबसम्म सम्बन्ध राम्रो नहुने उनीहरूको भनाइ छ । उनीहरूको अनुसार जीवन भनेको संघर्ष, भोगाइ र कर्म हो । जीवनमा अनेक दुःख, बाधा अवरोधहरू आइपर्छन् । ती दुःख, बाधा
,अवरोधहरूलाई सहजताका साथ समाधान गर्ने सक्नु नै जीवन हो । जीवनमा दुःख नगर्ने व्यक्ति सफलतामा नपुग्ने उनीहरूको भनाइ छ । उनीहरूका अनुसार जीवनसाथी भनेको हरेक सुख दुःखमा साथ दिने, जीवनको अन्त्यसम्म साथ दिने साथी हो । जीवनको हरेक दुखसुखमा अनि जीवनको अन्त्यसम्म साथ दिन्छ उ नै जीवनसाथी हो ।






