विश्वविद्यालयमा राजनीति नगरौं

त्रिभुवन विसी । अहिले मध्यपश्चिम विश्वविद्यालय राजनीति गर्नेहरुको अखडा बनेको छ । शिक्षा क्षेत्र जस्तो पवित्र थलोमा राजनीति गरेर शिक्षा क्षेत्रलाई नै धरासायी बनाउन एउटा तत्व निकै सक्रिय बनेर लागेको देखिन्छ । मानिस यो धर्तीमा जन्मिसकेपछि उसको कार्यका हिसाबले फरक–फरक जिम्मेवारीमा रहने गर्दछ ।
कुनै पनि संघ, संस्था वा कार्यालयमा आवश्यकता अनुसार कार्यरत कर्मचारीहरुका मागहरु समयक्रम अनुसार अगाडि आउनु स्वभाविक नै हो । विश्वविद्यालय जस्तो शिक्षा आर्जन गर्ने थलोमा कार्यरत विभिन्न व्यक्तिहरुका पनि समय क्रमअनुसार फरक–फरक माग र जिम्मेवारी हुनु स्वभाविक नै देखिन्छ ।
विश्वविद्यालयमा खासगरी शिक्षक, विद्यार्थी र कर्मचारीको त्रिकोणात्मक सम्बन्धले गर्दा नै विश्वविद्यालयको वातावरण राम्रो हुने गर्दछ । तसर्थ यी तीनै पक्षले विश्वविद्यालय जस्तो पवित्र थलोमा वौद्धिक तरिकाले आफ्ना मागहरु राख्ने र समाधान गर्नेतर्फ उन्मुख हुनुपर्दछ । विश्वविद्यालयमा अध्ययन अध्यापनको वातावरण राम्रो भएमा विद्यार्थीेको संख्या मात्रै होइन, शिक्षाको गुणस्तरसमेत आफै वृद्धि हुने गर्दछ ।
तर कर्णाली प्रदेशमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय स्थापना भएको करिब एक दशकको अवधिमासमेत विश्वविद्यालयका भौतिक र शैक्षिक वातावरणले पूर्णता पाउन सकेको छैन । विश्वविद्यालयको नेतृत्वले विश्वविद्यालयको भौतिक र शैक्षिक वातावरणलाई चुस्त–दुरुस्त बनाउनका लागि धेरै प्रयासहरु गरेको देखिन्छ । परिवर्तन आफै र क्षणभरमा सम्भव हुने चिज पनि होइन । त्यसैले कुनै पनि परिवर्तनका लागि केही समय पर्खिनुको विकल्प छैन ।
विश्वविद्यालय स्थापना भएको एक दशकको समयावधिमा विश्वविद्यालयमा केही पनि नभएको भने होइन । विश्वविद्यालयका भौतिक संरचनाहरु बनिरहेका छन् । विश्वविद्यालयका ऐन, नियम, कानून र कार्यविधि बनिरहेका छन् । यतिवेला मध्यपश्चिम विद्यालयले शैक्षिक गुणस्तरको ट्रयाक खोल्ने कार्य गरिरहेको छ । केही समयपछि विश्वविद्यालय नेतृत्वले उक्त ट्रयाकलाई पिच गरेर अध्ययन अध्यापनका लागि विश्वकै एउटा गुणस्तरीय शैक्षिक हब बनाउने उद्देश्यका साथ अघि बढिरहेको छ ।
यही गन्तब्यतर्फ विश्वविद्यालयको नेतृत्वले हिँडिरहेको बताइरहेको छ । मध्यपश्चिम विश्वविद्यालयको अहिलेको अवस्था भनेको प्रसव पीडा हुँदाको अवस्था हो । जुन अवस्था विश्वविद्यालयका लागि निकै दुःखको क्षण हो । यो अवस्थालाई सहजै पार गर्न निकै चुनौतीहरु देखा परेका छन् । यस्ता चुनौतीहरुलाई विश्वविद्यालयको नेतृत्वले पार गरेर विश्वविद्यालयलाई नयाँ स्वरुप र सबैको आशा र विश्वासको केन्द्रविन्दू बनाउनु पर्नेछ । यसका लागि विश्वविद्यालयले सबैक्षेत्र र वर्गको विश्वास, माया र साथ लिन जरुरी छ ।
विश्वविद्यालयका आफ्नै नीति, नियम र कानून रहेका हुन्छन् । विश्वविद्यालयले यस्ता नीति, नियम र कानूनको सीमा नाघ्नु हुँदैन । योे विश्वविद्यालयले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा आफ्नो छविलाई उच्च बनाउनुपर्नेछ । यसका लागि केही सानातिना कुराहरुलाई सहमति र समझदारी गरेर भए पनि विश्वविद्यालयको छवि राम्रो बनाउनु नेतृत्व वर्गको गहन जिम्मेवारी हुन्छ । अझ यसलाई गहिरिएर हेर्ने हो भने विश्वविद्यालयको नेतृत्वले आफू मैन बत्ती बनेर अरुलाई उज्यालो छर्नुपर्ने बेला भएको छ ।
विभिन्न आरोह अवरोहलाई पन्छाउनका लागि केही पीडा र दुःखलाई आत्मसाथ गरेर भए पनि विश्वविद्यालयलाई गुणस्तरीय शिक्षाका लागि केन्द्रित हुनुपर्ने देखिन्छ र त्यही दिशामा विश्वविद्यालयको नेतृत्व अघि बढेको देखिन्छ । कुनै पनि नेतृत्वले आफूले नेतृत्व गरिरहेको संस्था धरासायी होस् भन्ने कदापी पनि चाहेको हुँदैन । नेतृत्वले आफूले जानेको र सकेको सबै प्रयासबाट आफूले नेतृत्व गरेको संस्था प्रगतितर्फ लम्कियोस् भन्ने चाहना राखेको हुन्छ । र सोही बमोजिमका प्रयासहरु पनि गरिरहेको हुन्छ ।
मध्यपश्चिम विश्वविद्यालयको नेतृत्वलाई हेर्दा पनि विश्वविद्यालयलाई सबैको साझा बनाउन र अन्तर्राष्ट्रियस्तरमा गुणस्तरीय शिक्षाको हब बनाउनका लागि निरन्तर प्रयास थालेको देखिन्छ । तर बिडम्बना यो कार्यमा विभिन्न बाधा र अड्चन देखा परिरहेका छन् । विभिन्न पक्ष र वर्गले विभिन्न मागहरु राखेर नेतृत्वको अगाडि बढ्ने यात्रामा ब्रेक लगाइरहेको छ । विभिन्न वर्ग र क्षेत्रका आफ्ना मागहरु प्राप्त गर्ने आ–आफ्नै शैली हुन्छन् ।
विश्वविद्यालय जस्तो पवित्र शैक्षिक संस्थामा पछिल्लो समयमा जुन खालका हर्कत र शैली देखा परेका छन् । यो पक्कै पनि सहज किसिमको छैन । किर्ते र ठगी कार्य गरेर विश्वविद्यालयको नेतृत्वको जुन खालको बदनाम र अपमान गरिएको छ । यो निकै घृणित र निकृष्ठ कार्य भएको छ । विभिन्न प्रविधिको प्रयोग गरी विश्वविद्यालयको नेतृत्वको बदनाम हुने गरी जुन कार्य भएको छ यो निक्कै तल्लोस्तरको कार्य भएको छ । आफ्ना विभिन्न मागहरु पूरा गर्नका लागि विभिन्न उपाय र बाटाहरु भए पनि विश्वविद्यालय जस्तो वौद्धिक जमात हुने थलोमा जुन खालका निकृष्ट कार्य भएका छन् ।
यसले विश्वविद्यालयकै गरिमालाई घटाएको छ । चोरी र किर्ते काम गरेर जिउँदो मान्छेको मृत्यु घोषणा गर्ने जस्तो अमानवीय कार्य भएको छ । यस्ता कार्यमा संलग्नहरुलाई तत्काल कारबाही नगरेमा आन्दोलनकारीले जे पनि गर्नसक्ने कुरालाई बढावा दिने गर्दछ । यस्ता कार्यलाई निरुत्साहित गर्नका लागि प्रशासन, सम्बन्धित जिम्मेवार निकाय र सरोकारवाला निकायले समयमा नै दोषी पत्ता लगाई कानूनी कठघरामा ल्याउनु पर्दछ । यस्तो घृणित कार्य गर्नेलाई कुनै पनि बहानामा छुट दिनुहुँदैन ।
आन्दोलनकारीले आफ्ना जायज माग राख्नु स्वभाविक नै हो । ती मागलाई समाधान गर्ने सन्दर्भमा दुवै पक्षको सहमति र समझदारी हुने कुरा सर्वव्यापी नियम पनि हो । त्यसैले दुवै पक्षले वार्ता, छलफल, सहमति र समभ्mदारीकै माध्यमबाट कुनै पनि समस्यालाई समाधानतर्फ लैजानुपर्छ । यो नै आन्दोलनकारीका मागहरु सम्वोधन गर्ने अन्तिम अस्त्र पनि हो । यसको विकल्पमा कुनै पनि आन्दोलनकारीका मागहरु समाधान हुन सक्दैनन् । द्वन्द्व समाधान गर्ने अचुक औषधि भनेको नै संवाद हो । दुवै पक्ष जित जितको अवस्थामा गएर, दुवै पक्ष एक एक कदमपछि हटेर भए पनि उत्पन्न समस्यालाई समाधान गर्नुको विकल्प अर्को हुँदैन ।
आन्दोलनका समयमा कुनै पनि पक्षले एकले अर्कालाई थप आवेगमा आउने खालका उत्तेजक कार्य र भनाइ राख्नु हुँदैन । साघुँरो घेराबाट हेर्दा विश्वविद्यालयमा कुनै दुई पक्षबीच झैझगडा भएको जस्तो देखिए पनि ब्यापक ढंगबाट हेर्ने हो भने समग्र विश्वविद्यालयको अवस्था नाजुक बन्दै गइरहेको देखिन्छ । तसर्थ यस कुरामा विश्वविद्याल प्रति चिन्ता जाहेर गर्ने सबै पक्ष सचेत बन्दै वौद्धिक स्तरबाट समस्याको समाधान निकाल्नतर्फ उन्मुख हुनुको विकल्प पनि छैन ।
विश्वविद्यालय रहे न हामी सबै यसैमा रहेका छौं भन्ने भावनाको विकास हुनु आवश्यक छ । तसर्थ कुनै पनि पक्षले विश्वविद्यालय जस्तो पवित्र थलोमा दृश्य वा अदृश्य ढंगबाट राजनीति नगरौं । राजनीति नै गर्ने हो भने खुलेर मैदानमा उत्रिए हुन्छ । जनताको खुन र पसिनाले बनेको विश्वविद्यालयलाई राजनीति गर्ने थलो होइन कि लोकतान्त्रिक प्रणालीमा विश्वास गर्दै जनताको घरदैलोमा राजनीतिक आस्था राखेर मैदानमा उत्रिऔं ।
यसो गर्दा नै तपाइँको राजनीतिक भविष्यको रेखा कोरिन सक्छ । होइन विश्वविद्यालयलाई नै तपाइँले राजनीति गर्ने थलो बनाउनुभयो भने तपाइँको भविष्य न त राजनीतिमा सुनिश्चित हुनेछ न त विश्वविद्यालय वा यस्तै अन्य सामाजिक संघसंस्थामा नै । विश्वविद्यालयलाई विशुद्ध शैक्षिक गुणस्तरको हब बनाउनतर्फ लागौं ।
तपाइँ हाम्रा असमझ्दारी वा चित्त नबुझेका कुरा छन् भने विश्वविद्यालय नेतृत्वसँग वार्ता, छलफल र संवादमार्फत सबै खालका मतभेदलाई मिलाउने प्रयास गरौं । यसले गर्दा तपाइँ हाम्रो मात्र होइन, हाम्रा सन्ततिको भविष्यसमेत उज्जवल बन्नेछ । कर्णाली प्रदेशको पहिचानको रुपमा रहेको मध्यपश्चिम विश्वविद्यालयको भविष्य थप उज्जवल बन्दै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चम्किने छ । तसर्थ मध्यपश्चिम विश्वविद्यालयको भविष्य उज्यालो बनाउनेतर्फ हामी सबै लागौं । यसले नै हामी सबैको भलो गर्नेछ । जय विश्वविद्यालय !






