सडक पूर्वाधारले बदलिदै वीरेन्द्रनगर
सुर्खेत, २८ माघ ।
मुख्य बजारमा पनि साँघुरा सडक । पानी पर्दा हिलाम्मे हुने । अनि घाम लाग्दा चाँही धुलो उड्ने । सडकभरी खाल्डाखुल्डी । न गाडी कुदाउन सहज । न त पैदय यात्रुलाई सजिलो । केही समय अघिसम्म वीरेन्द्रनगरका सडकको अवस्था यस्तै थियो । कर्णाली प्रदेशको राजधानी सहर भए पनि सडकको हालतले गिज्याउने अवस्था थियो ।
यही कारण पनि वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकारप्रति नागरिकले धेरै गुनासो गरे । बाहिरबाट भित्रिने आगन्तुकले पनि यहाँका सडक देखेर वीरेन्द्रनगरको अविगत पहिल्याउँथे । तर पछिल्लो समयमा भने वीरेन्द्रनगरका सडकहरुको मुहार बदल्ने प्रयास गरिएको छ ।
केन्द्र, प्रदेश र स्थानीय सरकारले सडक पूर्वाधारमा लगानी गरेर वीरेन्द्रनगरको मुहार फेर्ने संकल्प गरेका छन् । सोही अनुसार नै हिजोआज
वीरेन्द्रनगरका विभिन्न ३६ वटा सडकको एकैपटक स्तरोन्नती गर्न थालिएको छ । जसमध्ये संघीय सरकारले सुर्खेत विमानस्थलदेखि गणेशचोकसम्म र बाँकी सडकहरु प्रदेश र स्थानीय तहले स्तरोन्नती गरिरहेका छन् । पूर्वाधार विकास निर्देशनालयका विभिन्न तीन चरणमा गरेर वीरेन्द्रनगरका सडकको स्तरोन्नती थालिएको छ । ३६ सडक मध्ये २५ वटा सडकलाई सहरी सडकका रुपमा स्तरोन्नती गरिने छ । वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजना अनुसार विभिन्न २५ वटा सडकलाई सहरी सडक अन्तरगत स्तरोन्नती गर्न थालिएको हो ।
यि सडकहरुको स्तरोन्नतीका लागि प्रदेश सरकार मातहतको पूर्वाधार विकास निर्देशनालय र नगरपालिकाले सडक पूर्वाधारका काम गरिरहेका छन् । पूर्वाधार विकास निर्देशनालयका प्रमुख वासुदेव पौड्यालका अनुसार वीरेन्द्रनगरमा अहिले सडकको चौडाइ ७ देखि २१ मिटर सम्मका छन् । यसअघिका साँघुरा सडक फराकिला र कच्ची सडकलाई पक्की बनाउने काम भइरहेको कार्यालयले जनाएको छ । जसमध्ये वीरेन्द्रनगर भित्र १३.१ किलोमिटर सडकको ढाँचा नै परिवर्तन भएको छ । ढाँचा परिवर्तन गर्दा सडकहरु चौडा र आवश्यकता अनुसार ट्राफिक संकेतहरु थपिने छ ।
यसपाली ३२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य
चालु आर्थिक वर्षमा सुर्खेतमा ३२ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । जसमध्ये वीरेन्द्रनगरमा मात्रै झण्डै ३० किलोमिटर सडक कालोपत्रे हुने पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । ‘वीरेन्द्रगनका प्रायः सबै सडकहरु कालोपत्रे हुन्छन्’ निर्देशक पौड्यालले भने, ‘यो वर्षमात्रै वीरेन्द्रगरमा ३० किलोमिटर सडक कालोपत्रे हुन्छ ।’
यस्तै जिल्लाभर गरेर ४३ किलोमिटर सडकको निर्माण तथा स्तरोन्नती हुनेछ । जसमा वीरेन्द्रनगरसहित हरेक पालिका स्तरमा मुख्य सडक, ग्रामीण तथा कृषि सडकहरुको स्तरोन्नती गरिने छ । जसमा वीरेन्द्रनगरसहित करिव ३२ किलोमिटर सडक कालोपत्रे गरिने निर्देशनालयको लक्ष्य छ ।
एकैपटक ४० करोड लगानी
वीरेन्द्रनगरका सडकको मुहार बदल्नका लागि चालु आर्थिक वर्षमा ४० करोडभन्दा बढी बजेट लगानी गरिएको छ । संघ, प्रदेश र स्थानीय सरकारले एकैपटक ४० करोड आठ लाख रुपैयाँ वीरेन्द्रनरका सडक सुधारमा लगानी गरेका छन् । जसमध्ये वीरेन्द्रनगरका २५ वटा सहरी सडकका लागि २० करोड ८० लाख रुपैयाँ लगानी गरिएको छ ।
ति सडकहरुको विभिन्न १६ वटा कम्पनीले निर्माणको ठेक्का लिएका छन् । २०२ ९ सालमा निर्माण भएको गुरुयोजना अनुसार ती सडकको कुल लम्बाइ ५.८ किलोमिटर बनाइने छ । जसमा पर्यटकीय तथा धार्मिकस्थल, विद्यालय र सहायक सडकहरु हुन् । त्यस्तै शिवालय चोक–इत्राम स्कुल हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नजिकको चोकसम्म, अख्तियारचोक हुँदै खारखोलीसम्म र घण्टाघरदेखि क्याम्पस रोडसम्मको सडकको स्तरोन्नतीका लागि कुल नौ करोड २९ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
प्याकेजमा ति सडक खण्डमा श्याम एन्ड शंकर प्रालिले स्तरोन्नतीको काम गरिरहेको छ । त्यस्तै सरकारी अड्का अर्थात सरकारी कार्यालयहरु केन्द्रित सडकको लागि एकमुष्ट सात करोड २५ लाख बजेट छ । जसमा आँखा अस्पताल चोकदेखि जिल्ला प्रशासन कार्यालय हुँदै खारखोलीसम्म, नेपाल टेलिकमदेखि प्रदेशसभा कार्यालय हुँदै गुरुङचोकसम्म र आन्तरिक मामिला मन्त्रालयदेखि पूर्वाधार विकास निर्देशनालयसम्म र शिवालय चोकदेखि प्रदेश प्रहरी कार्यालयहुँदै गुरुङ चोकसम्मको सडक खण्ड पर्दछ ।
यो खण्डका सडकहरु श्याम एन्ड शंकर निर्माण कम्पनी प्रालिले स्तरोन्नती गरिरहेको छ । त्यस्तैगरी रत्न राजमार्गदेखि हटलाइन सडक, रत्नराजमार्गदेखि मसुरी खेतसम्म, नेता चोकदेखि प्रगतिनगर टोलसम्म, रातो पुल नजिकको पूर्व– पश्चिम सडक र कालिन्चोकदेखि क्याम्पस रोडसम्मका विभिन्न सडकको लागि दुई करोड ७४ लाख बजेटमा काम सडक स्तरोन्नती भइरहेको छ । यि सडक खण्डमा विभिन्न प्याकेजमा मजदुर कन्स्ट्रक्सन सुर्खेतले सडकको स्तरोन्नती गरिहेको छ ।