माओवादी, जसपा र एमाले माधव पक्षको वृहत एकताको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टीका उपाध्यक्ष उपेन्द्र यादवले आगामी निर्वाचनसम्म माओवादी, जसपा र एमालेको माधव नेपाल पक्षसहितको वृहत एकताको प्रस्ताव अघि सारेका छन् ।
जसपा अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई हालको सत्ता गठबन्धन निर्माणका प्रमुख सूत्रधार हुन् । अहिलेको सत्ता गठबन्धनलाई चुनावसम्मै लैजान यसअघि अनौपचारिक सम्झौता समेत भइसकेको छ ।
आउने चुनावमा नेपाली कांग्रेससहित हालको गठबन्धनले सिट बाँडफाँट गरेर चुनाव लड्ने अनौपचारिक सहमति भए पनि त्यसको औपचारिक पुष्टि कसैले गरेका छैनन् । गठबन्धनले सम्पादकहरुसँग गरेको अन्तरक्रियामा माओवादी अध्यक्ष प्रचण्डले यो गठबन्धन आउने चुनावसम्मै जाने बताएका थिए ।
यसबीचमा एमालेको माधव नेपाल पक्ष पार्टी एकताको पक्षमा लागेपछि माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवले सत्ता गठबन्धनमै रहन नेपालमाथि दबाब बढाएका छन् । नेपाललाई उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनाउने प्रस्ताव समेत गइसकेको छ ।
तर, माधव पक्षको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले १० बुँदे सहमतिका आधारमा नेता कार्यकर्ताको राजनीतिक जीवनको सुरक्षा हुने गरी एमालेकै एकतामा जोड दिएको छ । यद्यपी यादवले माधव नेपालमात्र होइन नेपाल निकट कतिपय नेता र सांसदहरुसँग समेत एउटै पार्टीबाट आउने चुनाव लड्ने कुरा गरेका छन् ।
यादवलाई भेटेका एक एमाले सांसदले भने, ‘माधवजीलाई तपाईहरुले साथ दिनुस् । यो गठबन्धन आउने चुनावसम्मै लैजान्छौं । तपाईहरु जो जो प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ त्यो ठाउँमा कांग्रेसले पनि उम्मेदवार उठाउँदैन । हामी त्यसअघि नै समाजवादी केन्द्र बनाएर एउटै चुनाव चिह्नबाट लड्छौं ।’
यादवले एमालेका माधव नेपाल पक्षका नेताहरुसँग एक्ला एक्लै भेटेर पनि एउटै पार्टी बनाउने प्रक्रियामा नेपाललाई मनाउन आग्रह गरेका छन् । उनले एमालेमा मिले पनि केपी ओलीले भोलिपल्टैदेखि बस्न खान नदिने भन्दै ओलीसँग फर्किने गल्ति नगर्न सुझाव दिने गरेका छन् ।






