दैलेखका स्वास्थ्य स्वयंसेविकाले अघिल्लो वर्षको जोखिम भत्ता अझै पाएनन्

सुर्खेत ।  दैलेख जिल्लाको पश्चिमा पर्ने ठाटीकाँध गाउँपालिकाका स्वयंसेविकाहरुले कोरोना जोखिम भत्ता पाएका छैनन्। कोरोना महामारीको पहिलो लहर सुरु भएसँगै तीनै तहका सरकारले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना बनाएर बजेट समेत विनियोजन गरे।

ठाटीकाँध यसपालिकाले सामुदायिक तथा प्राथमिक स्वास्थ्य चौकीकामा कार्यरत अहेब, अनमी तथा स्वास्थ्य स्व्यंसेविकाहरुलाई महामारीसँग खटायो। महामारीमा ज्यान जोखिममा राखेर उनीहरु गाउँगाउँमा खटिए। नागरिकको घरदैलोम पुगेर स्वास्थ्य सामग्रीहरु वितरण गरे। तर, यसरी खटिएको एक वर्ष बितिसक्दा पनि उनीहरुले सरकारले दिने भनेको जोखिम भत्ता बापतको रकम नपाएको गुनासो गरेका छन्।

ठाटीकाँध–३ मा रहेको विशाला उप–स्वास्थ्य चौकीमा कार्यारत स्वयंसेविका पवित्रा गौतमले गत वर्ष कोरोना महामारीको समयमा रोग, भोक, घाम, पानी, धुलो, धुवाँ नभनी मुखमा माक्स लगाएर गाउँभरि स्वास्थ्य सामग्री वितरणमा खटिए पनि सरकारले दिने भनेको जोखिम भत्ता नपाएको गुनासो गरिन्।

‘हामीले गाउँपालिकाको निर्णयलाई मानेर आफ्नो ज्यान जोखिममा राख्दै नागरिकको घरदैलोमा पुगी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सुझाव दियौं। स्वास्थ्य सामग्रीहरु वितरण ग¥यौँ,’ उनले भनिन्, ‘गाउँपालिकाकाले कहिले भारतबाट आएका व्यक्तिहरुको विवरण ल्याउन भन्यो त कहिले वृद्धावृद्धको विवरण बनाएर सम्बन्धित वडा कार्यालयमा बुझाउ भन्यो। सबै काम ग¥यौं। तर, आजसम्म कोरोना जोखिम भत्ता पाएका छौनौं। हाम्रो दुःख गाउँपालिकाले बुझेन।’

गाउँपालिकाले दैनिक १५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको भन्ने कुरा पनि सुनेको उनले बताइन्। ‘अहिलेसम्म कुनै रकम पाएका छैनौं, वडा कार्यालयमा यस विषयमा कुरा गर्दा वडा कार्यालयले गाउँपालिकाको बैठकमा कुरा राखेका छौँ मात्र भन्छ,’ गौतमले भनिन्, ‘निःशुल्क काम गर भनेका भए गर्ने थियौँ।’

अर्की स्वयंसेविका मनिषा बमको पनि गत सालको महामारीमा जोखिम मोल्दै गाउँका कुना–कुनामा गएर साबुन, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गर्न पुगिन्। यसरी खटिएबापत जोखिम भत्ता त परै जाओस् अन्य सुविधा पनि नपाएको उनले गुनासो गरिन्।

‘हामीलाई पनि कोरोनाबाट डर लागिरहेको थियो। तर, पनि हाम्रो टोली निरन्तर नागरिकको सेवामा खटियौँ। तर जोखिम भत्ताको कुरा त परै जाओस् कुनै सेवा समेत पाएनौँ,’ मनिषाले भनिन्, ‘गाउँपालिकामा यस विषयमा कुरा राख्दा अन्य वडाका स्वयंसेविकाले केही भन्दैनन्, तपाईहरुलाई मात्र किन चासो राख्नु प¥यो भन्छन्।’

ठाटीकाँध–३ मा रहेको सामुदायिक स्वास्थ्य इकाई बहाकोटमा कार्यारत अहेब अन्जिर शाहीले कोरोना महामारीको पहिलो लहर सुरु हुनअघि गाउँपालिकाले कोरोना भाइरस र यसबाट बच्ने उपायहरुको पर्चा, पम्प्लेट बाढ्न र माइकबाट प्रचारप्रसार गर्न लगाए पनि कुनै भत्ता नपाएको बताए।

‘हामीले कोरोना महामारीबीच पनि फ्रन्टलाइमा रहेर नागरिको सेवा ग¥यौँ, भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकलाई क्वारेन्टाइनमा दैनिक स्वास्थ्य परीक्षण र हेरचाह गर्‍यौं,’ उनले भने, ‘तर हामीले हालसम्म भत्ता पाएका छैनौं। क्वरेन्टाइनमा रहेकाहरुलाई खाना पकाइदिनेलाई दैनिक एक हजार रुपैयाँका दरले करिब ४५ दिनसम्मको पारिश्रमिक दियो।’

यस विषयमा कुरा बुझ्न खोज्दा गाउँपालिका स्वास्थ्य सेवा प्रमुख रविन्द्र भण्डारीसँग फोन सम्पर्क भएन। गाउँपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख मनबहादुर थापाले गाउँपालिकाका सबै स्वयंसेविकाले कोरोना भत्ता नपाएको स्वीकार गरे।

‘उनीहरुलाई जोखिम भत्ता गत सालनै दिने निर्णय गरेका छौं। तर, कोरोना महामारीका कारण अन्य काममा बजेट खर्च भयो,’थापाले भने, ‘एक साताअघि गाउँपालिकाको बैठक बसेर स्वयंसेविकाहरुको रकम दिने निर्णय हामी कहाँ आइ सकेको छ। प्रमुख प्रशासकीय अधिकृत बाबुराम नेपालीकोे बढुवा भएर जिल्ला समन्वय समिति दैलेखमा जानुभयो, त्यसैले उक्त पैसा रोखिएको हो। अबको एक साताभित्र नयाँ प्रमुख प्रशासकीय अधिकृत आउनुभयो भने भत्ता बापतको दैनिक ५०० रुपैयाँका दरले रकम दिन्छौं।’

थाहाखबर

दैलेखका स्वास्थ्य स्वयंसेविकाले अघिल्लो वर्षको जोखिम भत्ता अझै पाएनन्

सरकारप्रति सन्तुष्टि : चीनमा ८५ प्रतिशत, अमेरिकामा

Leave a comment

Your email address will not be published. Required fields are marked *