जागिरसँगै समाज सेवामा रमाउँदै बालकृष्ण

बालकृष्ण श्रेष्ठ
सवारी चालक, भौतिक विकास निर्देशनाल, सुर्खेत

जेष्ठ नागरिक अर्थात बृद्धबृद्धाहरु प्रायः सबैले सन्तानको माया पाउन सक्दैनन् । कतिले चाहेर त, कतिले नचाहेर आफ्ना सन्तानहरुबाट नै टाढा हुनुपर्छ । तर यही समाजमा एउटा त्यस्तो व्यक्ति छन्, जसले आफ्नो सन्तानबाट एक्लो भएका र सन्तानविहीनलाई बुढेशकालमा सहारा दिएका छन् । सम्पूर्ण पालनपोषण, माया र भरोसा दिएका छन् । जेष्ठ नागरिकलाई संरक्षण दिने कार्यको नेतृत्व गरिरहेका व्यक्ति हुन् बालकृष्ण श्रेष्ठ । वीरेन्द्रनगर–९ मा रहेको बृद्धआश्रमका अध्यक्षसमेत रहेका श्रेष्ठ पेशाले भने निजामति क्षेत्रमा छन् । तर पनि उनको परिचय कर्मचारीको रुपमाभन्दा पनि समाजसेवीको रुपमा स्थापित छ ।

हैजा फैलिएपछि दैलेख छाडे
बालकृष्ण श्रेष्ठको जन्मथलो दैलेख हो । विस २०२० पुस ६ गते नारायण नगरपालिका–१ बजारमा आमा मायादेवी र वुवा कुमरसिंह श्रेष्ठबाट उनको जन्म भएको हो । तर उनको बाल्यकाल भने सुर्खेतमा वित्यो । दैलेख बजारमा हैजा फैलिएपछि परिवारसहित उनीहरु सुर्खेत झरेका हुन् । ऊबेला त्यहाँका प्राय सबैले बस्ती छोडेको श्रेष्ठ बताउँछन् । ‘दैलेख हुँदा हाम्रो ठूलो परिवार थियो, हैजा फैलिएपछि को–कहाँ गए थाहै भएन’ उनी सुनाउँछन्, ‘हैजा फैलियो, हाम्रो सबै परिवार पनि तितरवितर भयो ।’ उनले सुर्खेत झरेपछि साविक लाटीकोइलीमै वालापन विताए ।

सानैमा अभिभावकविहीन
बृद्ध बाआमालाई माया गर्ने उनै बालकृष्णले आफ्ना आमा बुवाको माया पाउन सकेनन् । नावालक अवस्थामै आमाको साथ छुट्यो । १६ वर्षको युवा अवस्थामै पुनः बुवालाई गुमाउनु प¥यो । ‘आमा वितेको थाहा नै छैन, १६ वर्षमा बुवा वित्नुभयो’ उनी भन्छन्, ‘सानैमै आमाबुवा गुमाउनु नै जीवनको सबैभन्दा दुःखद क्षण हो ।’ तर उनले हिम्मत हारेनन् । बरु जीवनका संघर्षहरु गर्न सिके । दिदीको सहयोगमा घरको जिम्मेवारी पुरा गर्दै गए । २०३३ सालामा उर्मिला श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएपछि जीवनमा खुशीहरु थपिए । दिदीको साथ, श्रीमतीको सहयोग र संघर्षकै कारण यो अवस्थासम्म आइपुगेको उनको भनाइ छ ।

बिचमै पढाइ छुट्यो
आमाबुवा अभिभावक मात्रै होइन, जीवनमा बाँच्न सिकाउने गुरु पनि हुन् । तर श्रेष्ठले भने सानैमा आमाबुवाको अभिभावकत्व पाउन सकेनन् । सानैमा बुवाकै मृत्युका कारण पढाइ छोड्नु प¥यो । तत्कालीन लाइटीकोइली प्राथमिक विद्यालयबाट कखरा सुरु गरेका उनले कक्षा ८ सम्म मात्र अध्ययन गरेका छन् । पढ्नुपर्छ भन्ने ज्ञान भए पनि बुवाको मृत्युपछि पढाइलाई निरन्तरता दिन सकेनन् । ‘बुवा विरामी भएपछि चार महिना अघि नै पढाइ छोडिसकेको थिएँ’ उनी भन्छन्, ‘पढ्नुपर्छ भन्ने ज्ञान त थिया,े तर बुवा वितेपछि पढ्न सम्भव नै भएन ।’

लाहुरे हुने त्यो सपना…
२०३६ सालतिर हो । बालकृष्ण १८ बर्षे जवान थिए । अभिभाव गुमाए पनि घरको सम्पूर्ण रेखदेख उनकै काँधमा थियो । घर व्यवहार चलाउन गतिलो जागिरको खोजीमा थिए । त्यही समय सुर्खेतमा इन्डियन आर्मीमा भर्तीका लागि छनौट खुलेको थियो । ख्यालख्यालमै फर्म भरे । छनोटमा सहभागी भएपछि उनी प्रथम नै भए । तर लाहुरे हुन पाएनन् । नेपालगञ्जमा सोल्जरबोर्ड अर्थात इन्डियन आर्मी लैजाने कार्यालय थियो । छनौटमा प्रथम भएका उनले सोल्जरबोर्डमै जान पाएनन् । किनकी छनौट गर्ने मुख्य व्यक्तिले उनको ठाउँमा अर्काे व्यक्तिलाई लिइसकेको थियो । लाहुरे (इन्डियन आर्मी हुने कार्ड भने अहिले पनि सुरक्षित राखेका छन् ।

अनि चालक भए
भारतीय आर्मी हुन नपाएपछि बालकृष्णको मनमा बदलाको भावना जाग्यो । उनी छनौट गर्ने व्यक्तिलाई कुटपीट गर्ने मनसायले नेपालगञ्जसम्म पुगे । तर सम्बन्धित व्यक्तिलाई भेटाएनन् । पुनः सुर्खेत फर्किए । २०३९ सालतिर ३÷४ वटा गाडीहरु आएका थिए । त्यसपछि गाडीमा काम गर्न थाले । र पछि गाडी हाँक्न सक्ने भए । त्यही समय पञ्चायतको निर्वाचन भयो । जिल्ला पञ्चायत समितिमा उनले पनि सदस्यका लागि आवेदन दिए । ऊबेला प्रतिद्वन्दी नभएका कारण उनी स्वतः पञ्चायतको वडा सदस्य भए । ३÷४ महिनापछि तत्कालीन प्रधानपञ्च मुकुन्दश्याम गिरी काठमाडौँ जानुपर्ने भयो ।

तर एयरपोर्टसम्म पु¥याउने ड्राइभर थिएन । त्यही मौकामा बालकृष्णले गिरीलाई एयरपोर्टसम्म गाडीमा छोडे । तर आफू नफिर्कदासम्म गिरीले गाडी कसैलाई नदिनु भने । करिव १५÷१६ दिनपछि सुर्खेत फर्किएपछि तत्कालीन जिल्ला पञ्चायत कार्यालयले उनलाई ड्राइभरकै अर्थात गाडी चालकको जागिर दियो । ‘वडा सदस्य भएपछि राती उहाँ (मुकुन्दश्याम गिरी) को गाडी चलाएर घर गएको थिएँ ।

त्यतिबेला नै म गाडी चलाउनसक्छु भन्ने थाहा थियो’ उनी भन्छन्, ‘उहाँलाई गाडीमा एयरपोर्ट छोडे, त्यस दिनदेखि ड्राइभर नै मेरो पेशा भयो ।’ ड्राइभर जागिर पाएपछि वडा सदस्य पद छोडे । करिव ७ वर्ष जिल्ला पञ्चायत कार्यालयमै ड्राइभरको रुपमा कार्यरत रहे । २०४८ सालमा तत्कालीन जिल्ला सिंचाइ कार्यालयमा स्थायी ड्राइभरको जागिर सुरु गरेका उनी हाल भौतिक विकास निर्देशनालयमा ड्राइभरको रुपमा कार्यरत छन् । अवकाशपछि समाज सेवामा रमाउने उनको योजना छ ।

प्रशान्तितर्फको यात्रा
२०५५ सालतिर बालकृष्णले अत्याधिक मदिरा पिउँथे । समय भयो कि राती ८ बजेदेखि विहान ८ बजेसम्म मदिरा पिउँदा पनि नसा नलाग्ने अवस्था भयो । एकदिन यो कुलतबाट छुट्कार लिने निर्णय गरे । र साईबाबा केन्द्रका विभिन्न गतिविधिमा सहभागी भए । त्यहीँबाट समाजसेवा गर्नुपर्छ भन्ने प्रेरणा जाग्यो । पछि गोविन्दनाथ योगीहरुले स्थापना गरेको प्रशान्ति बृद्धाआश्रम २०५८ सालमा उनको काँधमा आयो । अध्यक्ष भएपछि सहयोगको लागि सरकारसँग सहयोग मागे ।

बृद्धाआश्रम सञ्चालनका लागि ४४ हजार मात्रै दिने सहमति भएको सरकारले मन्त्रालयमा आफन्त भएकै कारण पाँच लाख ४४ हजार रुपैयाँ प्राप्त गरे । काठमाडौँबाट फर्किएपछि ३÷४ वर्षसम्म नविकरण नै नभएको संस्थालाई व्यवस्थित गरे । स्वर्गीय हिरालाल पन्तले एक कठ्ठा जग्गा उपलब्ध गराए । आश्रम व्यवस्थित भएपछि तत्कालीन जिल्ला विकास समितिले सहयोग उपलब्ध गरायो । हालसम्म आइपुग्दा विभिन्न कालखण्डमा आश्रमलाई विभिन्न व्यक्तिहरुले सहयोगबाटै आश्रम करोडौको सम्पत्ति जोडिएको छ । आश्रमको चार कठ्ठा जग्गा, आफ्नै भवन र खात्तामा झण्डै ५७ लाख रुपैयाँ जम्मा गर्न सफल भएको बालकृष्ण बताउँछन् । बाँचुन्जेलसम्म बृद्ध आमाबुवालाई सेवा गर्ने उनको अठोट छ ।
(२०७७ माघ २५ गते आइतबार साताको राष्ट्रयसेवक स्तम्भमा युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

जागिरसँगै समाज सेवामा रमाउँदै बालकृष्ण

प्रधानमन्त्री ओली फागुन १४ मा सुर्खेत आउँदै

जागिरसँगै समाज सेवामा रमाउँदै बालकृष्ण

थाम्ने हामी छौं बा

Leave a comment

Your email address will not be published. Required fields are marked *