जाजरकोटमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

कर्णाली : जाजरकोटमा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जाजरकोटको नलगाडमा नगरपालिका – ५ झुल्केडाँडामा मंगलबार राती १२ देखि १ कोबीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर नलगाड – ५ पारीगाउँका ६० वर्षका दलबहादुर खत्री, ३२ वर्षका सुरेश खत्री, ट्रयाक्टर चालक नलगाड –७ दल्लीका २५ वर्षका चंखलाल विकको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेर ट्रयाक्टर सह– चालक नलगाड– ७ वगाराका १७ विनोद परियार गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दल्ली पुर्याइएको प्रहरीले जानकारी दिएको छ ।
‘घटनास्थलमा प्रहरी पुगिसकेको छ । दुर्घटनामा परेर मृत्यु भएकाको शव सडकबाट करिब ५ सय मिटर तल भेटिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ’ जाजरकोटका डीएसपी मधुकुमार थापा भने ।
थापाका अनुसार, नलगाड– ५ कालीमाटीबाट सामान लिएर बारेकोटतर्फ गएको गइरहेको ट्रयाक्टर दुर्घटनामा परेको हो ।






