विभाजन भएपछि जिल्ला दौडाहमा नेकपाका दुबै समूह
सुर्खेत, १४ पुस ।
विभाजन भएपछि नेकपाका नेताहरु जिल्ला दौडाहमा निस्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल समूहका नेताहरु जिल्ला धाउन थालेका हुन् । विभाजनपछि कार्यकर्ता आफ्नो समूहमा तान्न दुबै समूहबीच प्रतिस्पर्धा नै चलेको छ ।
सोमबार मात्र दुबै समूहका नेताहरुले सुर्खेतमा छुट्टाछुट्टै कार्यक्रम गरे । ओली समूले युवाहरुको भेला र प्रचण्ड समूहले पत्रकार सम्मेलन गरे । प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेता महेश बस्नेतले सोमबार मात्र वीरेन्द्रनगरमा प्रदेशस्तरीय युवाहरुको भेला गरे । आज पुनः प्रचण्ड–नेपाल समूहका युवा नेतृ रामकुमारी झाँकी सुर्खेतमा आउने कार्यतालिका छ । अहिले जिल्लादेखि केन्द्रसम्मका नेकपाका नेताहरुलाई भ्याइनभ्याई छ ।
कहिले पार्टी प्रशिक्षण, कहिले केन्द्रिय सदस्यहरुको भेला त कहिले गोप्य मिटिङ, अनि विरोधसभाहरु जस्ता कार्यक्रमहरु गर्न नेकपाका नेताहरुलाई दौडधुप छ । पार्टी एकता नभएको तीन वर्ष नपुग्दै नेकपा दुई भागमा विभाजित भएको छ । पार्टी विभाजन भएसँगै वडा, स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रमा दुबै पक्ष आ–आफ्नो गुट जोगाउन लागि परेका हुन् । दुबै पक्ष कार्यकर्ताहरु फकाउन सक्रिय बनेका छन् । ओली समूहका मुख्य नेताहरूले आगामी पार्टीको रणनीति तयार गरिरहेका छन् भने प्रचण्ड–नेपाल समूह गाउँ–गाउँमा कार्यकर्ता फकाउन कस्सिएको छ ।
पार्टी विभाजनको औपचारिक घोषणा नभए पनि ओली समूहले केन्द्रीय सदस्य तथा पार्टीका जिम्मेवार नेताहरू काठमाडौंबाट प्रशिक्षण दिएर जिल्लामा खटाएको छ । पार्टी विभाजनपछि कर्णालीका सबै ओली समूहका नेताहरू काठमाडौं पुगेका थिए । काठमाडौ पुगेका नेतहरूलाइ स्थायी समिति सदस्य, पार्टी संयोजक तथा शिर्षस्र्थ नेतालाई पार्टी विभाजनको कारण, प्रचण्ड–नेपाल समुहलाई परास्त पार्ने रणनीति, कार्यकर्तालाई आफ्नो समूहमा पार्ने सक्ने आधार तथा अबको समग्र योजनाका बारेमा प्रशिक्षण दिएर जिल्लामा खटाएका छन् ।
प्रशिक्षणपछि जिल्लामा फर्किएर सरकारले गरेका कामको प्रचारप्रसार गर्ने, कार्यकर्तालाई आफ्नो समुहमा पार्ने रणनीति अपनाउने र प्रचण्ड–नेपाल समूहका कमिकमजोरीको पर्दाफास गर्ने तयारी स्वरूप ओली पक्षका नेताहरू रणनीति तयारी पारिरहेका छन् । यस्तै प्रचण्ड–नेपाल समूहले भने कार्यकर्तालाइ आफ्नो पक्षमा पार्न जिल्लादेखि नगर कमिटीका नेता कार्यकर्ताहरूसँग भेटघाट तथा प्रशिक्षण अभियानमा जुटेको छ । कार्यकर्तालाई आफ्नो पक्षमा पार्न जिल्लादेखि केन्द्रीय नेताहरू गाउँ–गाउँ पसेका छन् । यो समूहले कार्यकर्तालाई आफ्नो पक्षमा पार्न ओली समूहको विरोध गर्ने, सरकारले गर्न नसकेका कामको विरोध गर्ने र संसद विघटनविरूद्व देशभर विरोधका कार्यक्रम गरिरहेका छ ।
सूर्य चिन्ह दिन्नौं ः बस्नेत
प्रधानमन्त्री केपी शर्मा ओली समूहका युवा नेता महेश बस्नेतले आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । नेकपाका कार्यालय र चुनाव चिन्ह सूर्य प्रचण्ड–माधव समूहले नपाउने उनको दाबी छ । युवा संघको कर्णाली प्रदेश भेलालाई सोमवार वीरेन्द्रनगरमा सम्बोधन गर्दै बस्नेतले यस्तो बताए । प्रचण्ड र माधव नेपालका कारण नेकपा फुटेको उनको आरोप छ ।
‘प्रचण्ड एमालेसँग मिल्न होइन, एमालेलाई नै निल्न आउनुभएको रहेछ’ नेता बस्नेतले भने,‘एमालेले हिजो पसिना बगाएर बनाएका पार्टी कार्यालय त्यो समूहले पाउँदैन, हामी नै आधिकारिक हुनेछौं । हामी सूर्य चिन्ह त कुनै पनि हालतमा दिन्नौं, बरु अब प्रचण्ड र माधव नेपालहरुले चुनाव चिन्ह हाँडी लगे हुन्छ ।’ साथै पार्टी कार्यालय र सूर्य चिन्हमा आँखा नलगाउन समेत उनले प्रचण्ड–माधव समूहलाई चेतावनी दिए । अब प्रतिनिधिसभा पुनःस्र्थापनाको सम्भावना नरहेको भन्दै उनले देश निर्वाचनमा गइसकेको बताए ।
काँग्रेस पनि निर्वाचनको तयारीमा जुटिसकेको भन्दै उनले भने,‘प्रचण्ड–माधव समूहलाई पराजित हुने त्रास छ, काँग्रेसमा पनि केही नेताहरु जनतामा जान डराएका छन् । तर देश अब चुनावमा गइसक्यो, बाँकी फैसला अब जनताले नै गर्नेछन् ।’ पार्टीभित्र अर्को समूहले प्रधानमन्त्रीलाई घेरावन्दीमा पारेर कामै गर्न नदिएको भन्दै बस्नेतले काम गर्न नदिनेहरु फुटेर गएपछि हाइसन्चो भएको बताए । ‘अब दुई बर्षजति बाँकी थियो, तर पार्टी भित्रबाटै प्रधानमन्त्रीलाई काम गर्न नदिने षड्यन्त्र भयो’ नेता बस्नेतले भने,‘दुईबर्ष पनि कुर्न नसकेर पार्टी फुटाउनेहरु, अब सडकमा कराउँदै गर्छन् । तर जनताले ओलीलाई नै पुनः जिताउने छन्, अब यो देशमा अरु १० बर्ष ओलीले नै सत्ता संचालन गर्नेछन् ।’ युवाहरुकै कारण ओली पक्ष बलियो रहेको भन्दै उनले वर्तमान सरकारले गरेका राम्रो कामबारे टोलटोलमा प्रचार गर्नसमेत आग्रह गरे ।
बैशाखमा चुनाव हुँदैन ः रिजाल
प्रचण्ड–नेपाल पक्षले भने अहिले नै चुनावको पछि नलाग्न आग्रह गरेको छ । प्रचण्ड–माधव नेपाल समूहका केन्द्रीय सदस्य एवम विदेश विभाग उपप्रमुख विष्णु रिजालले अहिले चुनावी हल्लाको पछाडि लागि रहनु आवश्यक नभएको बताएका छन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता रिजालले प्रधानमन्त्रीले गरेको प्रतिगमनको प्रतिवाद गर्नुपर्ने बताए । ‘यसअघि भएका संसद विघटनले देशलाई फाइदा गरेको छैन’ उनले भने,‘अहिलेका प्रधानमन्त्रीले पार्टी भित्रका समस्या पार्टीभित्रै समाधान गर्न छोडर संसद नै विघठन गरेका कदमले देशलाई नै अँध्यारो सुरुङमा लिएको छ, अब बैशाखमा चुनाव हुनै सक्दैन ।’ बैशाख चुनाव घोषणा गरिए पनि प्रधानमन्त्रीको उद्देश्य फरक भएको भन्दै रिजालले प्रधानमन्त्रीको गलत कार्यको देशव्यापी रुपमा विरोध गर्ने बताए ।
उक्त समूहका अर्का केन्द्रीय सदस्य निरज आचार्यले दुईतिहाई बहुमत पाएको सरकारले संसद नै विघठन गरेर नयाँ जनादेशका लागि जनतासामु जाऔं भन्नु गणतन्त्रलाई खारेज गर्ने षड्यन्त्र भएको बताए । प्रधानमन्त्रीको पछिल्लो कदमले नेपालको कम्यूनिष्ट आन्दोलन र संघीय लोकतान्त्रीक गणतन्त्रमाथी नै हमला भएको उनको भनाइ छ । ‘केन्द्रीय कमिटी र संसदमा प्रचण्ड–नेपाल पक्षको बहुमत छ’ उनले भने, ‘नेकपाको आधिकारीक प्रचण्ड–नेपाल पक्ष नै हो । पार्टीको विधानअुनसार ओली त कारवाहीमा पर्नु भएको छ ।’ ओली पक्षलाई नेकपाको चुनाव चिन्ह्र सूर्य र नेकपाको झण्डा रोज्ने कुनै पनि अधिकार नभएकोसमेत उनको भनाइ छ ।