नेकपा फुट्न नदिने अन्तिम प्रयासः चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली आज नेपाल आउँदै
काठमाडौं, ११ पुस ।
चीनको सत्तारुढ दल चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी० को उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउँदैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी दुई चिरामा विभक्त भएका समयमा चीनको सत्तारुढ दल चिकपाको चार सदस्यीय उच्चस्तरीय टोली आज काठमाडौं आउन लागेको हो ।
आफ्नै मिहिनेतमा नेपालका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीलाई एक गराएको सिपिसीका नेताहरुले पार्टी विभाजन रोकाउन प्रयास गर्ने दाबी गरिएको छ । भ्रमण टोलीलाई सिपिसीको विदेश विभागका उपप्रमुख गुओ येझोउले नेतृत्व गर्ने बताइएको छ ।
टोलीमा चार सदस्य रहने छन । टोली नेपालमा चार दिनसम्म बस्ने र सोही क्रममा बिभिन्न नेताहरुसंग भेटघाट गर्ने जनाइएको छ । नेपालका लागि चीनकी राजदूत होउ यान्छीले प्रतिनिधिसभा विघटनपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग भेट गर्नुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि उहाँले भेट गर्नुभएको थियो । भेटमा नेकपाको आन्तरिक राजनीतिबारे यान्छीले चासो व्यक्त गरेको बताइएको छ । यद्यपि प्रतिनिधिसभा विघटनपछि यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको भने सार्वजनिक भएको छैन ।
नेपालको सत्तारुढ कम्युनिष्ट पार्टी विभाजित हुन नदिन नेपालस्थित चिनियाँ राजदूतले पनि निकै नै दौडधूप गर्नुभएको थियो । यसअघि पनि फूटको मुखमा पुगेको नेकपाका नेताहरुलाई सम्झाउने काम उहाँबाट भएको थियो । भारतीय सञ्चारमाध्यमहरुले त आइतबार काठमाडौं ओर्लन लागेको टोली चिनियाँ राष्ट्रपतिकै आदेशमा आउन लागेको दाबी गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहितको चार सदस्यीय टोली काठमाडौँ आउन लागेको जनाइएको छ । उक्त टोली नेपालमा चार दिन रहने छ ।