सम्पादकीयः सावधानी आवश्यक

विश्वमा कोरोना संक्रमण सुरु भएको एक बर्ष वितेको छ । नेपालमा पनि यसको असर देखिएको छ । कोरोना त्रासकै कारण देशमा लकडाउन नै भयो । लकडाउनका कारण धेरैको गास खोसियो । देशको अर्थतन्त्र नै धरासायी बन्यो । अहिले पनि यसको त्रास कायमै छ । यद्यपी पहिलाको तुलनामा अवस्था सामान्य बन्दै गएको छ । संक्रमितको संख्या बढी देखिए पनि मानिसहरुको पहिलानामा त्रास भने कम देखिन्छ । तर ग्रामीण क्षेत्रमा भने त्रास बढी नै छ । सहरी इलाकामा संक्रमणको वेवास्ता गरिएको भए पनि दुर्गम जिल्लाहरुमा संक्रमणको त्रास कायमै छ । अहिले पनि एक जना कर्मचारीमा मात्र संक्रमण भएको खण्डमा कार्यालय नै सिल गर्ने, केही मान्छेमा संक्रमण हुँदैमा गाउँ नै सिल गर्ने र जिल्ला प्रवेशमा नै रोक लगाउने खालका क्रियाकलाप भइरहेका छन् । यसले कोरोना रोकथाम र नियन्त्रण भन्दा पनि नागरिकलाई थप त्रसित बनाउने काम भइरहेको छ । त्रासकै कारण सर्वसाधारणहरुको आत्मबल पनि कमजोर बनिरहेको देखिन्छ ।

कोरोना यसकारण महामारी भयो, हालसम्म यसको प्रभावकारी औषधि र खोप बनेको छैन । तर पनि विश्व यसको खोप बनाउने होडबाजीमा छ । कतिपय देशहरुले खोपको परीक्षण पनि गरिरहेका छन् । नेपालले पनि कोरोनाविरुद्धको खोप खरिद गर्ने तयारी गरिरहेको छ । यसले केही हदसम्म उत्साह पैदा गरेको छ । नेपालको सन्दर्भमा हेर्दा निको हुने अर्थात कोरोना जित्नेको संख्या अत्याधिक छ । मृत्युदर अन्य देको तुलनामा कम भएका कारण पनि नेपालमा कोरोनालाई हेर्ने नजर र त्रसित हुने अवस्था कम हुँदै गएको देखिन्छ । यसकारण पनि मुख्यगरी सहरी क्षेत्रमा कोरोनालाई सामान्य रुपमा लिन थालिएको छ । सुरुवातमा संक्रमितलाई छोइछिटो गर्नेहरु हिजोआज परिवारमा सँगै बस्न थालेका छन् । संक्रमितको उपचार र स्याहारमा समय दिन थालेका छन् । पछिल्ला दिनमा होम आइसोलेसलन बस्नेहरुको संख्या बढ्नुले पनि कोरोनाबाट त्रसित हुनेक्रम सहरी क्षेत्रमा कम भएको पुष्टि हुन्छ ।

पछिल्ला दिनमा आएर सहरमा कोरोनालाई सामान्य रुपमा लिने, सावधानी अपनाउन वेवास्ता गर्ने र कर्णालीमा त परीक्षण गराउनेहरुको संख्या नै घटेको छ । सहरी क्षेत्रमा विना सावधानी भिडभाड गर्नेक्रम बढेको छ । तर दुर्गम क्षेत्रमा भने त्रास कायमै छ । गाउँ सिल गर्नेदेखि विद्यालय बन्द गर्ने र गाउँ प्रवेशमा रोक लगाउने सम्मका काम भइरहेका छन् । वास्तवमा यी दुबै प्रवृत्ति ठिक होइनन् । कोरोनालाई हल्का रुपमा लिने सहरी मानसिकता र कोरोना नै मृत्यु हो भन्ने गाउँको सोच नै गलत छन् । यसर्थ कोरोनालाई त्रासको रुपमा लिने र त्रसित हुने भन्दा पनि आवश्यक स्वास्थ्य मापदण्डहरु अपनाएर जनजीवनलाई सामान्य बनाउन आवश्यक छ । यस्तै कोरोना केही पनि होइन जस्तो गरी सुहरी इलाकामा भइरहेको बेवास्ताले पनि अवस्था डरलाग्दो बन्न सक्छ । यसका लागि आवश्यक स्वास्थ्य सावधानी अपनाएर जनजीवनलाई सहज रुपमा चलाउन आवश्यक छ ।

सम्पादकीयः सावधानी आवश्यक

YUGAAWHAN NATIONAL DAILY (2077-08-08)

Leave a comment

Your email address will not be published. Required fields are marked *