प्रदेश सरकारको बजेट खर्च १६ अर्ब मात्र

सुर्खेत, ४ साउन ।
कर्णाली सरकारले वितेको आर्थिक वर्षमा जम्मा १६ अर्ब ३६ करोड बजेट मात्र खर्च गरेको छ । ३४ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको प्रदेश सरकारले लक्ष्य अनुसार खर्च गर्न नसकेको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले पुँजीगततर्फ नौ अर्ब १२ करोड ७२ लाख २४ हजार आठ सय ४२ र चालूतर्फ सात अर्ब २४ करोड २० लाख ४० हजार दुईसय ५४ रुपैयाँ मात्र खर्च गरेको छ ।

पूँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार र चालूतर्फ १३ अर्ब पाँच करोड ९६ लाख ५३ हजार बजेट विनियोजन गरिएको थियो । मन्त्रालयका उपसचिव दिलिप केसीले पुँजीगततर्फ ४२.८ प्रतिशत र चालूतर्फ ५५.४५ प्रतिशत तथा औसतमा ४७.६५ प्रतिशत बजेट खर्च भएको जानकारी दिए । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब ६५ करोड ३८ लाख तीन हजार ६ सय ६५ रुपैयाँ मात्र खर्च गरेको छ ।
यस मन्त्रालयका लागि तीन अर्ब ४३ करोड पाँच लाख ७९ हजार विनियोजन गरिएको थियो । सामाजिक विकास मन्त्रालयका लागि चार अर्ब ७० करोड ७२ लाख ६९ हजार विनियोजित बजेटमध्ये दुई अर्ब ७९ करोड ९४ लाख ३६ हजार आठ सय १० मात्र खर्च गरेको छ । त्यस्तै, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एक अर्ब ४७ करोड ३० लाख २ ९ हजार चारसय ७१ खर्च गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजित १० अर्ब ७० करोड ४८ लाख २३ हजारमध्ये चार अर्ब ६८ करोड ५० लाख १७ हजार पाँचसय ५० रुपैयाँ मात्र खर्च गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयल४२ करोड ७९ लाख ५९ हजार र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक अर्ब २२ करोड २३ लाख ७२ हजार ९४ रुपैयाँ खर्च गरेका छन् ।







yamji kadel
19th Jul 2020जनता बिकाश माग्न जादा बजेट छैन भनि फिर्ता गर्ने र अन्तिममा आएर पैसा खर्च गर्न नसकेर हरि बिजो जय संघियता