मनमनै माया थियो, भन्न सकेका थिएनौं

जन्म, मृत्यु र विवाह भन्ने विषय मानवको नियन्त्रणमा हुँदैनन् । भाग्यमा लेखेको कुरा जो जहाँ भए पनि पुरा हुन्छ । तर, मन पराएर विवाह बन्धनमा बाँधिएका जोडी कमै मात्रामा हुन्छन् । यस्तै मन पराएकै मान्छेसँग विवाह गर्न सफल भएका जोडी हुन् वीरेन्द्रनगरका सुन्दरमान श्रेष्ठ र तिला श्रेष्ठ । यो जोडी एक अर्कालाई मनमनै मन त पराउर्थे, तर भन्न भने सकेका थिएनन् । आखिर भगवानले नै जुराएपछि कसले पो छेक्छ र ? त्यसैले त उनीहरुको विवाह गराई दिन तिलाका दाइ नै लमी भए । अन्ततः यो जोडीको विह भयो ।

परिवारको सहमतिमा भागी विवाह

सुन्दरमान श्रेष्ठ काठमाण्डौमा बसेर पढ्दै थिए । उनको नाममा एउटा चिट्ठी पुग्यो । त्यो चिट्ठी उनका भिनाजुले पठाएका थिए । चिट्ठीमा भिनाजुले आफ्नो बहिनीको एसएलसी परीक्षा रद्द भएको हुँदा एकपटक बुझ्न आग्रह गरेका थिए । श्रेष्ठसँंगै बस्ने उनका साथीले उनलाई केटीको बारेमा जानकारी गराएपछि श्रेष्ठलाई पनि खुलदुली भयो । श्रेष्ठ सुर्खेत आएपछि उनकै भिनाजुले आफ्नो बहिनीसँग विहे गर भने । यति भनेपछि श्रेष्ठलाई अरु के नै चाहियो र ? श्रेष्ठको भिनाजुकी बहिनी अरु कोही नभएर तिला थिइन् । हुन त श्रेष्ठले तिलालाई बाल्यकालदेखि नै चिनेका थिए । तर, तिलाले भने आफ्नो दाईले श्रेष्ठको दिदीलाई विवाह गरेपछि मात्र चिनेकी थिइन् । दुबैको मनमा एकअर्काे प्रतिको माया त थियो तर, भनेका भने थिएनन् । भन्न पनि परेन । उनीहरुको मायालाई पुरा गर्न तिलाकै दाईले सफल बनाइदिए । तिलाका पिता काठमाण्डौमा थिए । यता तिलाका हजुरआमाले र घरपरिवारको सहमतिमा विवाह गरिदिने कुरा चल्यो । २०४१ साल असोज २९ गते उनीहरुले परिवारको सहमतिमा नै भागी विवाह गरे ।

छोरी र बुहारी हुँदाको फरक

विवाह हुँदा तिलाले एसएलसी पास गरेकी थिइनन् । तर, उनले कष्णगंज गुप्तीपुरमा अध्यापन गर्दै थिईन । विवाहपछि तिलाले एसएलसी पास पनि गरिन् । विवाहपछि एउटी छोरीलाई बुहारी भएर घरको सम्पूर्ण जिम्मेवारी सम्मालेर पढाइ अनि जागिर गर्नु भनेको सानो कुरा थिएन । तर पनि तिलाले हिम्मत नहारेर घरपरिवार, पढाइ र जागिरलाई सँगसँगै अगाडि बढाइन् । उनी भन्छिन्, ‘मनमा आट र साहस हुनुपर्छ, सबै काम गर्न सकिन्छ ।’ विवाहपछि दुई छोरालाई हुर्काउनु, घरव्यवहार सम्माल्नु र जागिर पनि गर्नु तिलाको लागि सहज भने थिएन । समस्याभित्रै समाधान खोज्दै उनले आफ्नो जीवनलाई सहज रुपमा अगाडि बढाइन् ।

यस्तो थियो बाल्यकाल

पिता मोहनमान श्रेष्ठ र माता बडालक्ष्मी श्रेष्ठको कोखबाट वि.स. २०१५ सालमा सुर्खेतको कटकुवामा जन्मिएका श्रेष्ठको बाल्यकाल समाइलोसँग वित्यो । घरको कान्छो छोरा भएकाले पनि होला सबैको मायाममतामा नै उनको बाल्यकाल वित्यो । सबैको प्यारो, सबैको माया पाएका श्रेष्ठको स्वभाव भने शान्त थियो । उनी साथीभाईहरुसँग सधै मिल्ने गर्थे । कतिसम्म भने साथीको खुसीका लागि उनी खेलमा जानीजानी हारी पनि दिन्थे । उनलाई अरुको मन दुखाउन बाल्यकालदेखि नै आएन । बरु आफु दुखी भएर पनि अरुलाई खुसी बनाउने प्रयास उनले गर्ने गर्थे ।

यस्तै, पिता कुलमान शाक्य र माता गंगादेवी शाक्यको कोखबाट २०२२ सालमा गोठिकाँडा जन्मिएकी तिलाको बाल्यकाल सामान्य नै वित्यो । तिला भर्खर ६ वर्षको थिइन् । उनको आमाको मृत्यु भयो । जतिबेला आमाको माया ममताको खाँचो थियो त्यतिबेला तिलाले आमा गुमाउन पुगिन् । आमाको निधन भएको दुई वर्षपछि उनका बुवाले अर्की आमा विवाह गरेर ल्याए । कान्छी आमा भए पनि तिलाले कहिल्यै कान्छी आमाको जस्तो व्यवहार बेहोर्नु भने परेन । जुन उमेरमा आमाको माया दैवले खोसेको थियो । तिलाले जन्मदिने आमा नपाए पनि कर्म दिने आमा भने पाइन् । उनलाई कर्म दिने चन्द्रादेवी शाक्यले तिलालाई कहिले कान्छी आमा हुनुको आभास हुन दिइनन् । तिला ६ भाईबहिनी मध्ये माइली छोरी हुन् । जन्मदिने आमाको माया पाउन नसके पनि उनले कर्म दिने आमाको माया भने पाइन् । उनी भन्छिन्, ‘मैले जन्म दिने आमा गुमाए पनि कर्म दिने आमा भेटाएँ ।’

दुबै जनाको स्नातकोत्तर

श्रेष्ठले कक्षा ५ सम्म वीरेन्द्रनगरकै श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम स्कुलमा पढे । कक्षा ६ देखि भने जन उच्च मावी वीरेन्द्रनगरमा पढे । एसएलसी पास गरेपछि भने उनले आफ्नो पढाइलाई बीचैमा रोक्नुपर्ने बाध्यता आयो । उनले भने, ‘त्यतिबेला सुर्खेतमा क्यापसहरु थिएनन्, पढ्नलाई नेपालगंज जानुपथ्र्यो । बाहिर बसेर पढ्न सक्ने आर्थिक अवस्था थिएन, त्यसैले पढाइ बीचैमा रोक्नुप¥यो ।’ उनले बीचमा करिव १० वर्ष जति पढाइ रोके । पछि सुर्खेतमा वीरेन्द्रनगर बहुमुखी क्यापसको स्थापना भएपछि उनले फेरी कक्षा ११ देखि पढ्न सुरु गरे । भनिन्छ, मान्छेमा आत्मबल हुनुपर्छ, भित्री मनदेखि हरेक कुरा वा काम गर्न सक्छु भन्ने भावना पैदा गर्न सकेमा जस्तोसुकै परिस्थितीमा पनि मान्छे जुधेर काम गर्न सक्छन् । यस्तै श्रेष्ठले पनि १० वर्षसम्म रोकेको पढाइ फेरि अगाडि बढाउने सोचका साथ अगाडि बढेकै कारण उनले सुर्खेत शिक्षा क्यापसबाट डिग्री सकेर बसेका छन् ।

श्रेष्ठ कक्षा ८ पास भएर कक्षा ९ मा पढ्दा ऐच्छिक विषय रोज्नुपथ्र्यो । श्रेष्ठले शिक्षा विषय लिएर पढे । त्यतिबेला देखि नै उनले भविष्यमा शिक्षक नै बन्नुपर्छ भन्ने मानसिकता बनाइ सकेका थिए । भविष्यमा शिक्षक बन्ने सपना पुरा गर्न उनले दिनरात मेहेनत गरेर पढे । अन्त्यमा सफल पनि भए । अमरज्योति मावीबाट उनी गतवर्ष मात्र अवकांशप्राप्त गरी बसेका छन् । उनी विपसना केन्द्रका सचिव पनि हुन् । तिलाले सुर्खेत शिक्षा क्यापसबाट डिग्री सकेकी हुन् । उनी अहिले नेरामावि खजुराकी प्रधानाध्यापक हुन् ।

संगीतमा रुची

श्रेष्ठको अर्काे रुचीको विषय भनेको हार्मोनियम थियो । उनलाई हार्मोनियम बजाउने भनेपछि अरु केही चाहिदैन्थ्यो । उनी भन्छन्, ‘मलाई हार्माेनियम भएपछि अरु चाहिदैन्थ्यार्,े धेरै रुची थियो हार्माेनियम बजाउने ।’ उनले हार्माेनियम पनि बजाउन सिके । २०२९ सालमा सुर्खेतमा बालपुस्तकालय स्थापना भएपछि उनी पनि त्यहाँ जानेगर्थे । त्यहाँ उनले हार्माेनियम बजाउन सिके । हार्माेनिमय मात्र होइन, उनले केहि सडक नाटकहरुमा केटीको भुमिका पनि निवार्ह गरे । सांस्कृतिक कार्यक्रम भने पछि अहिले पनि उनी अघि सर्छन् ।
आपसमा प्रशंसा
यो जोडीको एकआपसमा सामान्य झगडा कहिलेकाँही हुनेगर्छ । तर, एकै छिनको लागि मात्र । उनीहरु भन्छन्, ‘श्रीमान् श्रीमती भएपछि सामान्य झगडा हुनु त स्वभाविकै हो नि, जसको पनि हुन्छ । सामान्य झगडा त, तर हाम्रो झगडा एकैछिन मात्र हो ।’ झगडा गरे पनि यो जोडी एकअर्काेको प्रशंसा भने खुलेरै गर्छन् । श्रेष्ठलाई तिलाको अरुलाई दया गर्ने बानी मनपर्छ । उनी भन्छन्, ‘उनको सामाजिक काममा लाग्ने, सकारात्मक सोच नै मनपर्छ ।’ त्यस्तै तिलालाई पनि श्रेष्ठको मनमा पाप नराख्ने कुरा खुलेरै भन्ने बानी मन पर्ने गर्छ । आफ्नो पेशाप्रति इमानदार भएर लाग्ने र मेहेनती स्वभाव तिलालाई मनपर्ने गर्छ ।

एकअर्काको भावनालाई कदर

यो जोडी एकअर्काको जन्मदिन आयो भने मन्दिर जाने र मिठाइ खुवाउने पनि गर्छन् । उनीहरु भन्छन्, ‘साथमा छोराहरु भएसम्म राम्रोसँग मनाउछौं, एक्लै हुँदा सामान्य नै हुन्छ ।’ यो जोडी दुई छोरा र बुहारीको साथमा सुखी छन् । अहिले नातिनीसँग दिन विताउँने गरेको श्रेष्ठ बताउँछन् । रथ चलाउन दुई पाङग्राको आवश्यकता परे जस्तै जीवनको रथ चलाउन पनि एकअर्काेको साथको जरुरी पर्छ । त्यसैले जीवनमा विवाहलाई महत्वपूर्ण मान्न जरुरी छ । एकअर्काेको भावना बुझेर त्यही अनुसार एकअर्काेलाई व्यवहार गर्न सके जीवनको रथ सहजै चलाउन सकिने उनीहरुको भनाई छ । उनीहरु भन्छन्, ‘एकअर्काको भावनालाई कदर गर्न सकेमात्र सम्बन्ध दिगो हुन्छ ।’ उनीहरुका अनुसार दुवैजना समझदार पनि हुन जरुरी छ ।

(२०७७ असोज २४ गते शनिवार युगआह्वान राष्ट्रिय दैनिकमा प्रकाशित)

मनमनै माया थियो, भन्न सकेका थिएनौं

एकैपटक विस्तार हुँदैछन् कर्णालीका चारवटा विमानस्थल

मनमनै माया थियो, भन्न सकेका थिएनौं

डा. गोविन्द केसीले २८ औं दिनमा तोडे

Leave a comment

Your email address will not be published. Required fields are marked *