हट्यो धिपधिपे उज्यालोमा सुत्केरी गराउनुपर्ने बाध्यता

दैलेख, २३ मंसिर ।

मध्यपहाडी राजमार्गअन्तरगर्त निर्माणाधिन १० नयाँ सहर मध्येको एक हो, राकमकर्णाली । आठबीस नगरपालिका–४ स्थित राकमकर्णालीमा विकासको गति तीव्र छ । नयाँ सहर आयोजनाले केही सडक र प्रतिक्षालय निर्माण गरेको छ । आयोजनाले सडक बत्ति जडानसँगै ल्याण्डपोलिङको काम थालेको छ ।

मध्यपहाडी राजमार्ग र कर्णाली राजमार्गले छोएको राकमकर्णालीका स्थानीय बासिन्दाहरु भने भरपर्दो बत्ती नहुँदा वर्षौदेखि समस्यामा छन् । राकमकर्णाली बजार नजिकै रहेको कानेगाड खोलामा १८ किलोवाट क्षमताको बिजुली उत्पादन हुन्छ । ‘कानेगाड खोला लद्यु जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत समेत भरपर्दो छैन्,’ स्थानीय नैनबहादुर शाहीले भने । विद्युत नहुँदा स्वास्थ्य सेवा प्रवाह सबैभन्दा बढि प्रभावित बनेको छ । दैलेख मात्र नभई कालिकोट र अछामका नागरिकहरु समेत सेवा लिन आउने राकमकर्णाली स्वास्थ्य चौकीमा विद्युत सेवा नहुँदा उपचार प्रभावित भइरहेको थियो ।

अब भने स्वास्थ्यचौकीमा विद्युतको समस्या झेल्नु नपर्ने भएको छ । डिसीए नेपालको सहयोगमा सोसेक दैलेखले १५ केभीको जेनेरेटर उपलब्ध गराएपछि विद्युतको समस्या झेल्नु नपर्ने भएको हो । संस्थाले स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउन जेनेरेटर प्रदान गरेको हो । स्वास्थ्य सेवा प्रवाहमा दैनिक विद्युतको मार खेप्दै आइरहेको स्वास्थ्य चौकीमा अब २४ सै घण्टा विद्युत उपलब्ध हुनेछ । स्वास्थ्य चौकीलाई संघीय सरकारले १५ शैयाको आधारभूत अस्पतालमा परिणत गर्ने काम थालिसकेको छ । ‘रातको समयमा काम गर्न निकै मुस्किल परिरहेको थियो, सोलारको भरमा बर्थिङ सेन्टर सञ्चालन गर्नुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर घाम नलाग्दा सोलार समेत बल्दैनथ्यो,’ स्वास्थ्य चौकीका प्रमुख करनबहादुर सांवद माझीले भने, ’बत्ति नहुँदा मेबाइल र टर्चको धिपधिपे उज्यालोको भरमा सुत्केरी गराउन बाध्य थियौं, जेनेरेटर उपलब्ध यी समस्या हट्यो ।’

अब इसिजी मेसिन, ल्याबको सामग्रीहरु भीडियो एक्सरे सेवा प्रदान गर्न सहज हुने माझीले बताए । ‘विद्युत नहुँदाको प्रभाव विशेषगरी प्रसूतिसेवा र खोप भण्डारणमा थियो, उनले भने, ‘अब स्थानीय सर्वसाधरणहरु भीडियो एक्सरेकै लागि सुर्खेत तथा नेपालगंजसम्म जानुपर्ने बाध्यता समेत हट्नेछ भने खोप भण्डारणमा सहज हुनेछ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *