डोल्पामा दोब्बर भाडा असुल्दै जीप व्यवसायी
डोल्पा, २२ असार
डोल्पामा जीप व्यवसायीले मनपरी रुपमा भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिक रुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीहरुले सदरमुकाम दुनै आवत–जावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफु खुसीभाडा असुल्न थालेका हुन् ।
त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँपानी देखि सदरमुकाम दुनैसम्म १४ किलो मिटर मात्रै छ । तर, जीप व्यवसायीले भने ८ सय भाडा लिने गरेका छन् ।
लकडाउनको समयमा व्यवसायीहरुले चर्को भाडा असुल्न थालेपछि आर्थिक मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि जिल्ला अस्पतालमा उपचारका लागि आउने सर्वसधारण मर्कामा परेका छन् ।
कोरोना भाइरसका कारण देशको अर्थतन्त्र धरापमा परेर सबै ठाउँमा आर्थिक संकट भएको अवस्थामा दुनै–सुँपानी, सुँपानी– दुनै, दुनै–जुफाल र जुफाल–दुनै सडकखण्डमा जीप व्यवसायीले यात्रुसंग मंहगो भाडा असुलेको यात्रुहरुको गुनासो छ ।
सिँहदरवार गाउँ–गाउँमा भने पनि धेरैजसो कामकालागि सदरमुकामनै धाउनुपर्ने अवस्था नहटेको सर्वसाधारणहरु बताउँछन् । ‘दुनै आउन जान गरेर भाडामात्रै एक हजार ६ सय तिर्नुपर्ने बाध्यता छ, अरु खाना खाजा सहित जोडेर तीन हजार नै खर्चहुन्छ’ त्रिपुरासुन्दरी नगरपालिका १ का भरुन सार्कीले गुनासो गरे ।
तराइका जिल्लाहरुमा १ सय ५० किलोमीटरसम्म यात्रा गर्न मिल्ने पैसा डोल्पामा आज भोली १४ किमिमा तिर्नुपर्ने बाध्यता रहेको सार्कीले बताए । यता जिल्ला प्रशासन कार्यालय डोल्पाले जीपमा पनि सामाजिक दुरी कायम गर्दै तीन जनासम्म यात्रु बोक्न पाउने व्यवस्था गरेको छ ।
तर यातायात व्यवसायीले प्रशासनको नियमलाई उलंघन गर्दै ६ जनासम्म यात्रु बोक्ने गरेको छ । सामान्य अवस्थामा जस्तै ६ जनासम्म यात्रु बोके पनि लकडाउनको कारण देखाउँदै भाडा भने प्रति व्यक्ति आठसय ठटायर लिने गरेको दुनै आउँदै गरेका यात्रु रमेश परियारले गुनासो गरे ।
लकडाउन हुनुभन्दा अगाडिसम्म ६ जना मान्छे बोक्न पाउने र भाडादर प्रतिव्यक्ति तीन सय ५० कायम गरिएपनि आजभोली आफुखुशी भाडा उठाउने गरेको उनले बताए । मनपरी भाडा असुल्ने जीप व्यवसायीलाई स्थानीय प्रशासनले नियमन नगर्दा यस्तो समस्या आएको उनको भनाई छ ।
ट्राफिक हैरान
डोल्पाका जीप चालकहरुको गलत व्यवहारले जीप चालक पनि हैरान भएका छन् । उनीहरुले नियम विपरीत आफु खुसी जीप सञ्चालन गर्ने र कारवाही गर्न खोज्दै उल्टै जाइलाग्न थालेपछि ट्राफिक प्रहरीलाई नियमन गर्न हम्मे–हम्मे भएको हो ।
‘डोल्पामा काम गर्न धेरै गाह्रो छ, नियम अनुसार डोल्पामा गाडी चलाउनै मिल्दैन, फेरी यहाँ रातो प्लेटले पनि धमाधम मान्छे ओसारी रहेकाछन्’ ड्युटीमा खटिएका एक ट्राफिकले गुनासो गरे । गलत गर्ने चालक र गाडीलाई कारवाही गर्न खोज्दा जनप्रतिनिधिहरुबाट नै छोडी दिनु भनेर दबाव आउने गरेको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले महंगो गाडी भाडा लिएको बिषयमा छलफल गर्ने बताए ।