बेतेन्द्र कुमार दहाल
हिजोसम्म खचाखच गाडी भित्रिदा र भित्र्याउदा श्रेयको भागीदार हुनुभएका सम्पूर्ण आदरणीय महानुभावहरुको आज कतै हल्लिचाल्ली देखिएन | कहाँ राख्ने ठाउँ ठेगान नै नगरी अझै मानिसहरु भित्र्याउने क्रम जारि छ | हिजो सम्म ‘मैले पहल गरेर आफ्नो नागरिकहरु आफ्नो ठाउँ ल्याए’ भन्ने महामहिमहरू एउटा मात्र घटनाले गुमनाम भएको तत्कालको अवस्था देखिन्छ | जुन गाउमा निरिह बस्ति छ, त्यसैको प्राथमिकताका आधारमा क्वारेन्टाइनमा भेडा हुले जस्तै भरिए साँघुरा कोठाहरु | न सुरक्षा दिईयो न त स्वास्थ्य सेवा | क्वारेन्टाइन मा बसेका सबै सम्भावित संक्रमित हुन् , तिनीहरुलाई नै खाना पकाउने खुवाउने काम मा लगाईएको छ |
राजनीति फेसबुकमा ह्युकिएको छ | चारजना काम गर्छन, चालिस जना श्रेय लिन तछाडमछाड गर्छन | सीप जिब्रोको टुप्पोमा मात्र छ | स्थानीय तह देखि संघिय सरकार सम्मका सबै प्रतिनिधिहरुले आफ्नो कर्तब्य नजानेको भयावह स्थितिको परिणाम आउन सुरु भएको छ | स्थानीय र प्रदेश सरकारले सस्तो लोकप्रियताका लागि अलपत्र परेका नागरिकहरुलाई बिना व्यवस्थापन परिक्षण नै नगरी सबैलाई एकै ठाउँमा मिश्रण गर्न सहयोग गरे | परिक्षण मेसिन र किटका लागि पहल गर्न सकेनन जसरी आफ्ना व्यक्तिगत स्वार्थका लागि धर्ना र पहल गर्न सक्थे |
संघिय (केन्द्रीय ) सरकारले जब बिदेशमा रहेका नागरिक ल्याउनु पर्ने हो वास्ता गरेन , यस प्रयास (सिमानामा रोक्ने ) लाई समर्थन गरे बाकी दुइ निकायहरुले | जतिबेला बन्दाबान्दी (lockdown) आवश्यक नै थिएन, स्वस्थ जनताहरुलाई नि घरभित्र लामो समय हुलेर अस्वस्थ हुन अतुलनीय सहयोग गरे, नाकामा परिक्षणको दायरा बढाउन छोडेर महामारीको ‘म’ समेत नभएको मुलुकमा परिक्षा समेत बन्द गराइयो , काम गरि खाने आम जनताहरुलाई भोकमरी फैलिने वातावरणको सिर्जना गरियो ; जतिबेला बन्दाबन्दी अपरिहार्य हो, मान्छेका झुण्डहरू शिशिरमा टुक्रिएका रुखका पातजस्तै उडेर एक देखि अर्को ठाउ सम्म चाहर्दै छन् , बन्द हुनुपर्ने ठाउमा खुला गरियो, खुल्ला हुनुपर्ने ठाउमा बन्द गरियो | सरकार पक्षलाई ताली बजाउन ठिक्कै भयो, प्रतिपक्षलाई इर्स्या र ढिपीले छुट्न दिएन | प्रतिफल भोग्नु पर्ने जनताले ?
अझै नि केहि बिग्रिएको छैन , भाइरस पहिलो चरणमा छ कर्णाली प्रदेशमा | यस अति संवेदनशील यो घडीलाइ साम्य पार्न यिनी प्रयासहरु गर्नुपर्ने देखिन्छ :
संघीय सरकार:-
• केन्द्र सरकार तथा माननीयज्यूहरुले प्राथामिकताका आधारमा योजना निर्माण गर्नुपर्ने ,
• संबिधान संसोधन, विवाद , आदि लगायतका पछि गरेपनि हुने कामहरु थाती राखी भाइरस परिक्षण को दायरा बढाउने तथा क्वारेन्टाइनको उचित व्यबस्थापन गर्नुपर्ने ,
• प्राथामिकताका आधारमा भाइरस परिक्षणका लागि किट र मेसिन को वितरण र प्रयोग गर्ने ,
• आवश्यक संख्यामा चिकित्सक , सुरक्षाकर्मी परिचालन गरि प्रदेश तथा स्थानीय तहसंगको सामिप्यता कायम गरि प्रत्यक्ष दोहोरो संचार मा जोडीरहने ,
• विदेश बाट भित्रिने नागरिकहरुलाई सिमानामै परिक्षण गरि उचित व्यबस्थापन गर्न सहजीकरण गर्ने |
प्रदेश सरकार :-
• प्रदेश सरकार तथा माननीयज्यूहरुले स्थानीय तह र केन्द्र सरकारसंग आवश्यक समन्वय गर्ने,
• आफ्नो प्रदेशमा आवश्यक पर्ने सम्पूर्ण सामग्री , जनशक्ति तथा जनचेतनामुलक सन्देशहरु प्रत्येक स्थानीय तहसम्म पुर्याउने ,
• विदेशबाट भित्रिएका नगरिकहरुको लागि गुणस्तरीय क्वारेन्टाइन, स्वास्थ्य परिक्षण , खानपिन तथा अत्यावश्यक कुराहरुलाई जोड दिन , क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई निरन्तर ब्याम -योगा लगायत का क्रियाकलापहरु संचालन साथै सुरक्षा नीति अपनाई क्वारेन्टाइन स्थल अनुगमन गर्न तथा गराउन आफु सरिक भई स्थानीय तहलाई निर्देशन दिने |
स्थानीय तह : –
• स्थानीय तहका जनप्रतिनिधिहरुले केन्द्र सरकार तथा प्रदेश सरकार का निर्देशन हरु पालना गरि युद्धस्तरमा कार्यान्वन गर्ने,
• हालको अवस्था बारे माथिल्लो निकायलाई अवगत गराई आवश्यक पर्ने सम्पूर्ण कुराहरु माग गरि जनता कल्याणकारीका लागी काम गर्ने ,• स्थानीय क्वारेन्टाइनहरूलाई समुचित व्यवस्थापन गर्ने /गराउने ,
• क्वारेन्टाइनलाइ गुणस्तरीय बनाउनका लागि निर्माण,अनुगमन तथा समस्या समाधान गर्ने, क्वारेन्टाईनमा भएका व्यक्तिहरुलाई हौसला – उत्प्रेरणा लगायत सामाजिक तथा भौतिक दुरी कायम गराउने ,
• आवश्यक परेमा स्थानीय युवाहरुलाई सुरक्षितता अपनाई स्वम्सेबकका रूपमा परिचालन गर्नुपर्ने ,
• क्वारेन्टाइन मा राखेपश्चात केहि दिन राखी परिक्षण गर्ने तर विरामीको अवस्था हेरी तुरुन्तै परिक्षण गर्नुपर्ने र उनीहरुको आत्मबल बढाउन जोड दिने |
राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु :-
• राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले चुनावमा भोट माग्न गएजस्तै टोल टोलमा गई भाइरसका लक्षण तथा यसबाट बच्ने उपायहरु बारे जनचेतना फैलाउने ,
• सरकारका कार्यक्रमहरु कार्यान्वयन गर्न स्थानीय तहसँग समन्वय गर्ने र सहयोग गर्ने ,
• अलपत्र परेका नागरिकहरूलाई सस्तो लोकप्रियता देखाउन नखोजी सहि तवरले उनीहरूलाई व्यवस्थापन गर्न सहयोग गर्ने |
क्वारेन्टाइनमा रहेका जनता :-
• क्वारेन्टाइनमा रहेका जनताले आफु सुरक्षित रही सामाजिक तथा भौतिक दुरी कायम गरी शान्त तथा सभ्य वातावरनमा क्वारेन्टाइनमा बस्ने ,
• आफु बस्ने अबधिभर रचनात्मक कार्यहरूमा समय खर्च गरि आफ्नो स्वास्थ्यको ख्याल गर्ने ,
• बारम्बार व्यक्तिगत सरसफाइमा ध्यान दिने , खानपिनमा ख्याल गर्ने |
आम जनता :-
• संक्रमण नभएका नागरिकहरुले अधिक मात्रामा सजकता अपनाउने ,
• घरभित्रै बसी परिवारसंग समय बिताउने र कृषिजन्य काममा सहभागी हुने ,
• बन्दाबन्दी लाइ उर्लंगन गर्ने प्रयास नगर्ने र अनावश्यक भिडभाडमा नजाने र भिडभाड नबनाउने ,
• बेलाबेलामा साबुनपानीले हात धुने र तातो पानी खाइरहने ,
• घरमा आगन्तुक नभित्र्याउने तथा अनावश्यक भेटघाट पनि नगर्ने |
• सरकारलाई मात्र नपर्खिई आफ्ना दैनिक क्रियाकलापहरु सम्पन्न गर्न तयार हुने |
घरभित्रै बसौं, स्वस्थ रहौँ
आफु बाचौं र अरुलाई नि
(लेखक :- सैनिक आवासिय महाविद्यालय मंगलगढी, सुर्खेतमा कार्यरत हुनुहन्छ)
युग संवाददाता । । २४ जेष्ठ २०७७, शनिबार १०:२१