दुर्गममा सुविधा दिन स्वास्थ्यमा लगानी बढाऔं : नवराज क‌ँडेल

२०४१ साल भदौ २८ गते उनको जन्म भयो । शान्तिनगर गाउँपालिका–३ दाङमा जन्मिएका नवराज क“डेल हाल कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य शिक्षा अधिकृतको रुपमा कार्यरत छन् । बुवा दामोदर र आमा केशरी कँडेलको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएका उनी २०६२ सालदेखि सरकारी सेवामा प्रवेश गरेका हुन् । स्वास्थ्य कार्यकर्ता हुँदै अधिकृत सातौं तहसम्म पुग्दाको आफ्नो अनुभव उनले यसरी साँटे
नवराज क‌ँडेल
अधिकृत, सामाजिक विकास मन्त्रालय

एसएलसीमा जिल्ला प्रथम

पाँच वर्षदेखि स्कुल जान थोलेको थिएँ । बीपी कोइराला माध्यमिक विद्यालयबाट २०४६ सालदेखि औपचारिक रुपमा अध्ययन सुरु गरेँ । सानैदेखि पढाइमा रुची राख्थेँ । यही रुचीले कक्षामा सँधै प्रथम हुन्थेँ ।

पढाइ राम्रो भएकै कारण घर र विद्यालयमा सबैको माया पाउँथेँ । दश वर्षको विद्यालय जीवनपछि एउटा कठिन समय आइपुग्यो । ऊबेला एसएलसी परीक्षाको ठूलो महत्व हुन्थ्यो । विद्यालयको पनि एसएलसीमा मबाट केही अपेक्षा थियो । परीक्षा नजिकिदै गर्दा थप मेहनत गरेँ । अन्ततः एसएलसीमा सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम भएँ ।
जसकाकारण म र मेरो विद्यालयको चर्चाभयो । एक हिसावलेभन्दा एसएलसीले मेरो इज्जत नै बढ्यो । एसएलसीपछि सामान्य चिकित्सा शिक्षा पढ्ने निधो गरेँ । २०५८ देखि स्कुलअफ हेल्थ साइन्स भरतुरबाट सामान्य चिकित्सा विषयमा उच्च शिक्षा (प्रमाणपत्र तह) उत्तीर्ण गरेँ । अध्ययनका लागि छात्रबृत्ति पाएपछि आर्थिक भार पनि सहज भयो । छात्रवृत्तिको अवसरले अध्ययन गर्ने आत्मबल बढ्यो ।

२०६१ सालमा सामान्य चिकित्सा शिक्षा उत्तीर्ण गरेँ । महाराजगञ्ज चिकित्सा क्याम्पस काठमाडौंबाट ब्याजलर अफ पब्लिक हेल्थ (स्नातक तह) र सोही क्याम्पसबाट स्वास्थ्य प्रवर्धन तथा शिक्षा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको छु ।

जागिरका लागि दोस्रो पटक परीक्षा दिनु परेन

अरुबेला घुमफिर गरे पनि परीक्षाको समयमा टुप्पी कसेर पढिन्थ्यो । हरेक परीक्षामा सफलता मिल्थ्यौ । जागिरका लागि पनि आजसम्म दोस्रोपटक परीक्षा दिनु परेको छैन । २०६१ सालमै सामान्य चिकित्सा शिक्षा उत्तीर्णपछि जागिर खाने निधो गरेँ । त्योबेला मनमा जोश जाँगर, पढाइमा उर्जा र आत्मविश्वास थियो ।

त्यही आत्मविश्वासले सरकारी सेवामा प्रवेश गरायो । २०६२ साल भदौं १३ गतेदेखि स्याँलाखदी स्वास्थ्यचौकी रुकुमबाट निजामति सेवामा प्रवेश गरेँ । करिव डेढ वर्षपछि गुल्मी गएँ । त्यही बीचमा साधारण विदा लिएर अध्ययनलाई पुरा गरेँ । २०६८ सालमा ब्याजलर अफ बब्लिक हेल्थको अध्ययन पुरा गरेपछि पुनः गुल्मी मै फर्किएँ ।

जागिरको शिलशिलामा दोलखा प्रदेश नम्बर ५ को बुटवल, सुदुरपश्चिम प्रदेशको डोटी लगायतका जिल्लामा पुगेर सेवा गरेको छु । कर्मचारी समायोजनपछि २०७६ साउन १५ गतेदेखि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको जनस्वास्थ्य शाखामा कार्यरत छु ।

जीवन निर्वाह हुने तलव पाउनुपर्छ

सार्क राष्ट्रमा कर्मचारीको ठूलो सम्मान छ । त्यहाँका कर्मचारीले जीवन निर्वाह गर्ने सक्ने तलव सुविधा पाउँछन् । तर नेपालमा कर्मचारीलाई न दैनिकी चलाउन सक्ने सेवा सुविधा छ, न मान सम्मान नै । केही गलत प्रवृति भएका कर्मचारीका कारण निजामति कर्मचारीप्रति नराम्रो धारणा बनेको छ ।

सबै कर्मचारी गलत छन् भन्ने होइन । नेतृत्व सबल र सक्षम हुने कार्यालयहरु सेवाग्राहीप्रति बढी जिम्मेवार छन् । तर नेतृत्व कमजोर भएका कार्यालयकमा गलत प्रवृति गर्ने कर्मचारीहरु छन् । अब जनता सचेत भइसकेका छन् ।

अब त कुशासनको सिकार नहुने गरी सेवा प्रवाह प्रणालीमा सुधार आवश्यक छ । सरकारी सेवालाई प्रभावकारी बनाउन कानूनी शासनका पक्षधरहरु र सचेत नागरिक एक हुन आवश्यक छ ।

स्वास्थ्य क्षेत्रमा ठूलो लगानी चाहिन्छ

कर्णाली प्रदेश आफैमा विकट छ । भौगोलिक विकटताकै कारण बिरामीले तत्कालै उपचार पाउन सकेका छैनन् । अहिले पनि स्वास्थ्य संस्थामा पूर्वाधारको अभाव छ ।
मुगु, डोल्पा र हुम्ला जिल्लामा अत्याधुनिक उपकरण पुग्न सकेका छैनन् ।

एउटा डाक्टरले जिल्ला अस्पताल चलाउनुपर्ने बाध्यता छ । जसकाकारण प्रदेशले ठूलो समस्याबाट झेल्दै आएको छ । दुर्गमका नागरिकले सिटामोल पनि पाउन सकेका छैनन् । जसको एउटै कारण कमजोर व्यवस्थापन हो । यसको अन्त्यका लागि सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ ।

पूर्वाधारको क्षेत्रमा ठूलो लगानी आवश्यक छ । प्रदेश र स्थानीय सरकारले एकपटक स्वास्थ्य क्षेत्रमा ठूलो लगानी नगरेसम्म स्वास्थ्यमा परिवर्तन गर्न सकिदैन ।
स्थानीय तहले स्वास्थ्य क्षेत्रमा गरेको लगानी परिणाममूखि हुनु आवश्यक छ । स्थानीय सरकार आफैले ठूलठूला अस्पताल चलाउन सक्ने हैसियत राख्नुपर्छ । स्थानीय तहहरु बलिया नभएसम्म स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हाँसिल गर्न सकिदैन ।

प्रदेश लोकसेवा गठन भए कर्मचारी अभाव टर्छ

भौगोलिक विकटताकै कारण कर्णालीमा कर्मचारी आउन चाहेका छैनन् । कर्णालीमा जन्मे हुर्केका पनि अतिरित्त सेवा सुविधाको लागि कर्मचारीले अन्य प्रदेश रोजेका छन् । जसकाकारण कर्मचारी अभाव प्रदेशको ठूलो समस्या बनेको छ ।

सरकार सफल हुने कि असफल हुने भन्ने विषय कर्मचारीमा निर्भर रहन्छ । तर प्रदेश सरकार गठन भएदेखि नै कर्णालीले कर्मचारी अभाव झेल्दै आएको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सरकारले करारमा कर्मचारी भर्ना गरेको छ ।

तर यो दीर्घकालिन समाधान होइन । किनकी प्रदेश लोकसेवा आयोग नखुल्दासम्म कर्मचारी अभाव टार्न सकिदैन । स्वास्थ्यतर्फको जनशक्ति पूर्ति गर्न त आयोग खुलेर पनि हुँदैन । अहिले पनि कर्णालीमा ६० प्रतिशत स्वास्थ्यतर्फको कर्मचारी अभाव छ । माग अनुसारको जनशक्ति कर्णालीमा छैनन् ।

स्वास्थ्यतर्फको जनशक्ति अभाव टार्ने एउटै विकल्प प्रदेशमै जनशक्ति उत्पादन गर्नु हो । समायोजनपछि कर्णालीमा कार्यरत चिकित्सकले अन्य प्रदेश रोजेका छन् । परिणाम कर्णालीका स्वास्थ्यकर्मीविहीन जस्तै भयो ।

हुन त कर्मचारी टिकाउन प्रदेश सरकारले एकसय ३५ प्रतशितसम्म प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ । तर यो दीर्घकालिन समाधान होइन । सधैको लागि स्वास्थ्यकर्मीको अभाव टार्न अब प्रदेशमै जनशक्ति उत्पादन गरिनुपर्छ भने अन्य सेवाका कर्मचारीको सन्दर्भमा प्रदेश लोकसेवा खोल्नु नै दीर्घकालिन उपाय हो ।

अपराधको शिकार हुन नपरोस

जीवनका धेरै उकाली ओराली पार गरियो । तर आजसम्म हरेक क्षणहरु सुखद् बनेका छन् । उसो त म आफ्नै मेहनत र परिश्रममा रमाउने मान्छे हुँ । यही कारणले होला जीवनमा नराम्रो क्षण भोग्नु परेको छैन ।

तर जीवनका खुशीका क्षणहरु धेरै छन् । एसएलसी परीक्षामा पटक जिल्ला टप्पर हुँदा पहिलो धेरै खुशी भएको थिएँ । त्यसपछि मात्रै मैले आफ्नो पहिचान बनाउन सकेको हुँ । जीवनमा सुख र दुख आइरहन्छन् । तर अपराधको शिकार हुन नपरोस भन्ने ठान्छु ।

सरकारी जागिरबाट अवकासपछि समाजिक सेवामा रमाउने मन छ । समयले साथ दिएको खण्डमा मेरो बालापन वितेको स्कूल । जहाँबाट मैले कखरा सिकेको विद्यालयलाई सहयोग गर्ने इच्छा छ ।

तपाईको प्रतिक्रिया