‘प्रथम हिमा गोल्डकप फुटबल प्रतियोगिता’ विजेता टिमलाई एक लाख रुपैयाँ

गोल्डेन बुढा
जुम्ला,२७ असोज ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित जुम्लाको हिमामा पहिलोपटक भव्य फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। हिमा गाउँपालिका–५ स्थित बाजागाडा बालचौर मैदानमा आउदो असोज ३० गतेदेखि कात्तिक ४ गतेसम्म चल्ने प्रथम हिमा गोल्डकप फुटबल प्रतियोगिता को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन्।प्रतियोगिता हिमा युवा एकता समाजको आयोजनामा र नेपाल अर्गानिक घरको सह–आयोजनामा हुनेछ। युवाहरूमाझ बढ्दो फुटबलको आकर्षणलाई संस्थागत गर्दै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न गोल्डकप आयोजना गरिएको आयोजकले बताएका छन्।”असोज ३० गते बिहानसम्म टिम दर्ता गर्न सकिनेछ,” अनाथ युवा क्लबका अध्यक्ष तथा जिल्ला फुटबल संघ जुम्लाका प्रतिनिधि नरजीत शाहीले जानकारी दिए। “टिम दर्ता सकिनासाथ प्रतियोगिता सुरु हुनेछ,” उनले थपे।प्रतियोगिताका विजेता टिमले १ लाख (एक लाख रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार (पचास हजार रुपैयाँ) पुरस्कार जित्नेछ।त्यसैगरी प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ५ सय, उत्कृष्ट गोलकर्तालाई गोल्डेन बुट, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकलाई गोल्डेन ग्लब्स, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।यसबाहेक, प्रतियोगितामा चम्किएका उदियमान खेलाडीहरूलाई विशेष सम्मान गर्ने व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।
हिमा गोल्डकपले जुम्लाका ग्रामीण क्षेत्रमा फुटबलप्रतिको लगावलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ। स्थानीय युवा क्लब र संस्थाहरूको सक्रियतामा हुन लागेको यस प्रकारको आयोजना खेल क्षेत्रको विकासका लागि उल्लेखनीय पाइला सावित हुने अपेक्षा गरिएको छ।यस्तै हिमा गोल्डकपले स्थानीय युवाहरूको ऊर्जा, प्रतिभा र खेलप्रतिको समर्पणलाई उजागर गर्ने मञ्चका रूपमा लिइएको छ। दुर्गम क्षेत्रका युवाहरूलाई राष्ट्रिय फुटबलको मूलधारमा ल्याउने सपना बोकेर सुरु गरिएको यो प्रतियोगिता आगामी दिनमा कर्णाली प्रदेशको प्रतिष्ठित खेलकुद ब्रान्ड बन्ने विश्वास आयोजकले लिएका छन्।






