जनताको रगतले लेखिएको संविधान जोगाउन सबै एकजुट अहिलेको आवश्यक जुम्ला इन्चार्ज भण्डारी

गोल्डेन बुढा
जुम्ला,४ असोज।
नेपालको संविधान दिवस अवसरमा जुम्लामा आयोजित संयुक्त कार्यक्रमले जनताको बलिदानी, त्याग र संघर्षको पुनः स्मरण गराउँदै वर्तमान संविधानको संरक्षण र समयानुकूल सुधारको मागसहित जनचेतनाको सन्देश प्रवाह गरेको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त आयोजनामा कान्जेरुवा होटलमा सम्पन्न कार्यक्रमले संविधानको मूल्य र महत्वमाथि बहस गर्ने मंच मात्र बनेन, देशको राजनीतिक अवस्था, जनअपेक्षा र भावी रणनीतिप्रति गम्भीर सन्देश समेत दिएको छ।कार्यक्रमका प्रमुख वक्ता तथा माओवादी केन्द्र जुम्लाका इन्चार्ज नरेश भण्डारीले संविधान निर्माणमा माओवादी आन्दोलनको ऐतिहासिक भूमिका रहेको स्पष्ट पार्दै वर्तमान संविधान कुनै पार्टी विशेषको नभई सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व गर्ने दस्तावेज भएको बताए। उनले भने, “यो संविधान कुनै कागजी लेखत मात्र होइन, यो त रगत, पसिना र बलिदानीले लेखिएको इतिहास हो। यसलाई खारेज गर्ने कुरा प्रतिगमन मात्र होइन, जनताको आत्मालाई अपमान गर्नु हो।”उनले समावेशी लोकतन्त्र, संघीय संरचना, समानता र न्यायका आधारमा संविधानले धेरै परिवर्तनहरू ल्याए पनि अझै पनि जनताको वास्तविक समस्यालाई सम्बोधन गर्ने खालका कानुन निर्माण र व्यवहारिक कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए।

भण्डारीले हालको व्यवस्था सुधार गर्न अब संसदमा रहेका सांसद मात्र होइन, विभिन्न क्षेत्रका विज्ञहरूलाई समेत मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था आवश्यक भएको तर्क गरे। “अबको युग ज्ञान, अनुभव र दक्षताको हो। हाम्रा मन्त्रीहरू साक्षर मात्र हैन, विषय विज्ञ पनि हुनुपर्छ,” उनले भने।भण्डारीले संविधान निर्माणमा माओवादी नेतृत्वको बलियो उपस्थिति भए पनि अहिले संसदमा माओवादीसँग बहुमत नरहेको परिस्थितिमा पनि माओवादीले प्रतिनिधित्व गरेका वर्ग–दलित, महिला, जनजाति र निमुखा समुदायको हक–अधिकार सुनिश्चित गराउने संघर्ष जारी रहेको बताए। उनले विगतका माओवादी सरकारले भ्रष्टाचार विरुद्ध चालेका ठोस कदमहरूलाई समर्थन गर्नुपर्ने बताउँदै भने, “जब हामी भ्रष्टाचारविरुद्ध उभियौं, प्रतिगमनकारी शक्तिहरू मिलेर सरकार ढालियो। तर इतिहासको पाठ स्पष्ट छ—दलाल र भ्रष्टहरूको अब राजनीति गर्न गाह्रो छ।”उनले माओवादी जनयुद्धका क्रममा समाहित जनमुक्ति सेनाको योगदान, सैनिक विद्रोह, र गणतन्त्र स्थापनाको कठिन यात्रालाई पनि स्मरण गर्दै संविधानमाथि पटक–पटक प्रश्न उठाउने प्रवृत्ति त्याग्न चेतावनी दिए। “जनताको रगतले लेखिएको संविधान हो यो। खेलौना होइन। रक्षा नगर्ने हो भने फेरि अँध्यारो फर्किन्छ,” भण्डारीको चेतावनी थियो।त्यसैगरी, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष राजबहादुर खत्रीले वर्तमान राजनीतिक संरचनामा सुधारको आवश्यकता औंल्याउँदै कम्युनिस्ट आन्दोलन भित्र गहिरो आत्मसमिक्षाको खाँचो रहेको बताए।
उनले पछिल्ला वर्षहरूमा राज्यको समृद्धिको सपना अधुरै रहनु, उत्पादनभन्दा आयातमै निर्भर रहनु, र लाखौं युवाहरू रोजगारीको खोजीमा विदेशिनु विडम्बना भएको बताए।“संविधानले अधिकार दियो, तर अवसर दिन सकिरहेको छैन। शिक्षा, स्वास्थ्य, रोजगारी—यी क्षेत्रमा सरकारले निर्णायक पहल गर्नैपर्छ,” खत्रीले भने। उनले कम्युनिस्ट आन्दोलन जनतामाझ पुनः विश्वास हासिल गर्नसक्ने भने पनि त्यसका लागि वैचारिक स्पष्टता, इमानदार नेतृत्व र व्यावहारिक योजना आवश्यक भएको धारणा राखे।कार्यक्रममा अन्य स्थानीय नेता, नागरिक समाजका अगुवा, शिक्षक, विद्यार्थी, महिला र युवा प्रतिनिधिहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो। सबै वक्ताहरूको धारणा एउटै केन्द्रमा घुमिरह्यो—संविधान कुनै पार्टीको होइन, यो जनताको हो। यसलाई जीवन्त बनाउन संघर्ष अझै बाँकी छ।, जुम्लामा मनाइएको संविधान दिवस केवल एक औपचारिकता थिएन। यो जनताको बलिदानीको सम्झना, राज्यका कमजोरीको समीक्षा र उज्यालो भविष्यको प्रतिबद्धताको ऐतिहासिक दस्तावेज बन्न पुगेको छ।






