अझै भेटिएनन् बाढीमा हराएका नेपाली अस्थायी टहरामा छट्पटाउँदै आफन्त

ओम शाही 
सुर्खेत, २५ साउन ।
यस वर्षको रोपाईँ सम्पन्न गरेर रोजगारीको शिलशिलामा भारतको उत्तराखण्डस्थित धराली पुगेका थिए, जाजरकोटको कुशे गाउँपालिका–२, का मानबहादुर सिंह । उनीसँगै स्थानीय रामबहादुर सिंह, निमबहादुर सिंह, रविन सिंह र कर्णबहादुर सिंह पनि रोजगारी गर्न धराली पुगेका थिए ।
आर्थिक अवस्था कमजोर भएका उनीहरुको जिविकोपार्जनको माध्यम नै दैनिक ज्याला मजदुरी हो । कुशे गाउँपालिका–२, का वडाध्यक्ष मानबहादुर सिंहका अनुसार साउन महिना लागेसँगै उत्तराखण्डस्थित गौरीकुण्डमा धार्मिक गतिविधि सुरु हुने हुँदा यहाँका स्थनीयहरु तिर्थयात्री र उनीहरुका सरसामान बोक्न जाने गर्छन ।
१७ कार्तिक २०८० को मध्यरातमा आएको विनासकारी भूकम्पबाट घरवास गुमाए उनीहरु टहरामै परिवार छोडेर प्रवास हानिएका थिए । भूकम्पपछि सरकारले अस्थायी अवास निर्माणवापत दिने भनिएको दोस्रो किस्ताको रकम पाउन नसकेका उनीहरु उत्तराखण्डको मजदुरीबाट आएको पैसाले परिवारलाई सुरक्षित घरमा सार्ने योजनाका साथ देश छाडेका थिए । तर, अकास्मात उनीहरुको सपना सपनामै सीमित बन्न पुगेको छ ।
भूकम्पपछि अस्थायी टहरामा छाडेर गएकाहरु जिवितै फर्कने हुन् या सदाका लागि उतै हराउँने हुन्, यसै भन्न सकिने अवस्था छैन । वडाध्यक्ष सिंहका अनुसार वडा नम्बर २ बाट पाँच जना हराएका छन् ।
उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको क्लाउड बर्स्ट (अत्यधिक वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजार र पौडी गढवालमा पहिरो जाँदा कर्णालीका १५ जना सम्पर्कविहिन बनेका छन् ।
सम्पर्कविहिन हुनेहरुमा अधिकांश भुकम्प प्रभावित जिल्ला जाजरकोटका छन् । उत्तराखण्डमा एक्कासी आएको बाढीले भूकम्प पीडितलाई पीडामाथि झन् पीडा थपेर गएको छ । कुशे २ का वडाध्यक्ष सिंहका अनुसार वेपत्ता हुनेमा भुकम्पबाट बढी क्षति पुगेका नागरिकहरु धेर छन् ।
कतिपयले भूकम्पबाट परिवार तथा आफन्त गुमाएको पीडा विस्तारै बिर्सदै थिए । उनीहरुले सरकारले उपलब्ध गराउने भनिएको अस्थायी आवास निर्माणवापतको रकमसमेत पाउन नसकेको वडाध्यक्ष सिंह बताउँछन् ।
‘रोपाईँ सकेर उहाँहरु जानु भएको हो,’ उनी भन्छन्, ‘पहिले भूकम्पले पिरल्यो, अहिले प्रवासमा रोजगारी गर्न जादा पहिरोले सर्वस्व लग्यो ।’ उनका अनुसार मानबहादुर सिंहका छोराले फेसबुक म्यासेन्जरबाट आफ्‌ना बुवासँगै अन्य बाढीमा वेपत्ता भएको खबर गरेका थिए ।
मानबहादुरका छोरा भारती सुरक्षाकर्मीको आश्रयमा रहेकाले थप जानकारी पाउन नसकेको वडाध्यक्ष सिंहले बताए । बाढीमा एकै वडाका धेरै मानिसहरु वेपत्ता भएको खबरले स्थानीयमा सन्नटा छाएको उनले बताए । वेपत्ता भएकाहरुका परिवारले आफन्तको विभिन्न माध्ययबाट खबर बुझ्‌न खोजेपनि अझै आधिकारिक खबर भने पाउन सकेका छैनन् ।
भूकम्पबाट भयवित भएका स्थानीय अबिबहादुर सिंह भारतमा आफ्‌ना १७ वर्षीय छोरा रविन सिंह सम्पर्कविहिन भएपछि पीडामा छन् । उनले रविन सकुशल घर आउनेमा आशा मारेमा छैनन् । भूकम्पबाट टहरामा सरेको परिवारलाई नयाँ घरमा सार्छु भनेर आफन्तहरुसँग भारत लागेका थिए, अबिबहादुरका छोरा रविन ।
उनको परिवार भूकम्पले घर भत्काएपछि अस्थायी टहरामा बसिरहेको छ । रबिन बाढीमा बेपत्ता बनेपछि अबिबहादुर अस्थायी टहरामा छट्पटाई रहेका छन् । सरकाले उपलब्ध गराउने भनेको अस्थायी टहरा निर्माणवापतको दोस्रो किस्ताको रकम दुई वर्ष पुग्नै लाग्दासमेत पाउन नसकेको उनले गुनासो गरे ।
अर्का स्थानीय रामबहादुर सिंह साहुँबाट लिएको ऋण तिर्न हतार हतार रोपाईँ सम्पन्न गरेर उत्तराखण्डतर्फ हिँडेका थिए । घरको मुल ढोकामा चावी लगाएर उनको परिवार मजदुरीका लागि निस्केको थियो । सिंहले पाँच छोराछोरी मध्ये दुई जनालाई सुर्खेतमा छाडेका थिए भने बाँकी तीन जनालाई आफुसँगै मजदुरी गर्न उत्तराखण्ड लगेका थिए । अहिले उनीहरुको अवस्था पनि अज्ञात रहेको जनाइएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार उत्तरकाशिको हर्षिल क्षेत्रमा कामको शिलशिलामा गएका जाजरकोट तथा अन्य जिल्लाका १५ जना व्यक्ति वेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार विभिन्न जिल्लाका स्थानीय तहले उपलब्ध गराएको तथ्यांकका आधारमा खोजी तथा उद्दारको प्रयास थालिएको छ ।
उनका अनुसार जाजरकोटको कुशे गाउँपालिका–२, ढाड गाउँका ४२ वर्षीय कर्णबहादुर सिंह, ४३ वर्षीय मान बहादुर सिंह, ४० वर्षीय रामबहादुर सिंह सम्पर्कविहिन छन् । यस्तै, सोही वडाको मुलेडाँडा बस्ने १७ वर्षीय रबिन सिंह,  सोही वडाको टालेगाउँका ३५ वर्षीय निमबहादुर सिंह, सोही ठाउँ ससुराली घर भई जुम्लाको तिला गाउँपालिका–३, का ४५ वर्षीय जनक शाही वेपत्ता भएको श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, जाजरकोटको कुशे गाउँपालिका–२, डोग्री ससुराली घर भई रोल्पा घर भएका अन्दाजी २२ वर्षीय दिपक राना, जाजरकोटको जुनिचाँदे गाउँपालिका–२, मजकोटका २७ वर्षीय गगनबहादुर शाही, ५० बर्षीय रामबहादुर शाही, ३० वर्षीय गोरखबहादुर शाही सम्पर्कविहिन रहेको बताइएको छ । जुनिचाँदे गाउँपालिकाकै वडा नं. ३ का अन्दाजी ३४ वर्षीय हरिबहादुर खड्का,  ३० वर्षीय रेशम खड्का, उनकी श्रमती वर्ष २८ कि पार्वती खड्का, ३४ वर्षीय केशब खड्का र ३० वर्षीया निर्मला खड्का वेपत्ता भएको प्रारम्भिक जानकारी प्रहरीले प्राप्त गरेको छ ।
त्यसैबिच कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उत्तराखण्ड बाढीमा परी हराएका नागरिकको तत्काल उद्दार गर्न माग गरेका छन् । ‘मित्रराष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीका कारण कर्णालीका जाजरकोटसहितका जिल्लाका १५ बढी नेपाली नागरिक हराइरहेको भन्ने खबर सुन्दा दुःख लागेको छ,’ उनले भने, ‘उहाँहरूको खोजी र उद्दार गर्न संघीय सरकार/परराष्ट्र मन्त्रालयमार्फत आवश्यक पहल भइरहेको छ । कुटनीतिक संयन्त्रमार्फत उद्वार र खोजी कार्यलाई थप प्रभावकारी बनाउन संघीय सरकारलाई विशेष आग्रह गर्दछु ।’

अझै भेटिएनन् बाढीमा हराएका नेपाली अस्थायी टहरामा छट्पटाउँदै आफन्त

सम्पादकीय : पदीय मर्यादा कायम राख !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds