प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानलाई एजेन्डा बनाउन माग, सर्वपक्षीय दबाब समूह सक्रिय

बाँके,१६ साउन।

दिल्ली हवाई उडान सुरु गर्न माग गर्दै बाँकेवासीले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको एजेन्डामा यो विषय समावेश गर्न जोडदार माग गरेका छन्। राजनीतिक दल, जनप्रतिनिधि, व्यवसायी, बुद्धिजीवी, नागरिक समाज लगायतले एकमतका साथ यस विषयलाई राष्ट्रिय प्राथमिकताको रुपमा उठाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा ‘नेपालगञ्ज–दिल्ली उडान दबाब समूह’ गठन गरी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारी भइरहेको छ। आज नेपालगञ्जमा आयोजित बृहत् छलफल कार्यक्रममा सहभागीले प्रधानमन्त्रीको भदौ ३१ गते हुने भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानलाई राज्यको एजेन्डा बनाउने विषयमा दबाब सिर्जना गर्न आवश्यक रहेको बताएका छन्।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क बहादुर धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद, प्रदेशसभा सदस्य, विभिन्न दलका नेता, स्थानीय सरकारका प्रतिनिधि, पत्रकार, व्यवसायी लगायतले बोलेका थिए। संविधानसभा सदस्य एवम् प्रदेशसभा सदस्य बादशाह कुर्मीले नेपालगञ्ज–दिल्ली उडान सुरु भएमा यसले आर्थिक, पर्यटन, धार्मिक र भौगोलिक दृष्टिले दूरगामी प्रभाव पार्ने बताउँदै यसका लागि सरकारलाई संगठित रूपमा दबाब दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा मधेशी आयोगका सदस्य विजय गुप्ता, प्रदेशसभा सदस्य अम्बिका काफ्ले, कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, एमालेका सचिव बलराम भट्टराई, माओवादी प्रतिनिधि प्रेम शाह, रास्वपा अध्यक्ष हरिपाल सिंह केसी, जसपा नेता अख्तर हुसेन फारुकी लगायतले सर्वसम्मत रूपमा यो अभियानमा साथ दिने घोषणा गरे।

नेपालगञ्ज विमानस्थल प्रमुख सुम्मत प्रसाद चौधरीले भौतिक पूर्वाधार र संरचना दिल्ली उडानका लागि पर्याप्त रहेको जानकारी दिँदै अनुमति पाए तत्कालै उडान थाल्न सकिने स्पष्ट गर्नुभयो।

यसैबीच, प्रधानमन्त्रीलाई बुझाउने प्रतिवेदन तयार पार्न नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ, जसले भदौ १७ भित्र प्रतिवेदन तयार गर्नेछ। त्यसपछि प्रत्यक्ष रूपमा प्रधानमन्त्रीलाई हस्तान्तरण गरिनेछ।

उडान सुरु भएमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब २५ जिल्लाका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्नेछ। भारतको दिल्लीसँग सीधा हवाई सम्पर्क भएमा पर्यटकीय, धार्मिक (विशेषतः मानसरोवर यात्रु), व्यापारिक तथा औद्योगिक क्षेत्रको समेत तीव्र विकास हुने विश्वास व्यक्त गरिएको छ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठका अनुसार, एक प्रतिनिधिमण्डल काठमाडौँ पुगेर प्रधानमन्त्री र अन्य नेतृत्वसँग प्रत्यक्ष भेटघाट तथा ज्ञापनपत्र बुझाउने तयारी भइरहेको छ।

 

 

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानलाई एजेन्डा बनाउन माग, सर्वपक्षीय दबाब समूह सक्रिय

कर्णालीमा कृषि र सहकारी क्षेत्रमा उल्लेखनीय प्रगति

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds