पैदल यात्रा, पसिनाको मेहनत र आत्मनिर्भरता: जुम्लाका महिलाहरू तरकारी खेतीबाट बन्दैछन् उद्यमी

गोल्डेन बुढा

जुम्ला ,२८ असार।

दुई घण्टा पैदल हिँडेर डोकोमा तरकारी बोकी बजार पुग्ने ४४ वर्षीया रिमा खड्का ‘तरकारी दिदी’ भनेर चिनिन्छन्। जुम्लाको पातारासी गाउँपालिका–७, रिनी गाउँकी रिमा विगत सात वर्षदेखि आफ्नै बारीमा फलाएका आलु, गाजर, काउली, बन्दा, धनियाँ, मुला, टमाटर र प्याजलाई खलंगा बजारका गल्ली–गल्ली, पसल, होटल र रेष्टुरेन्टमा पु¥याएर विक्री गर्दै आइरहेकी छन्।

रिमाको दिनचर्या साँझ बारीमा तरकारी टिपेर भोलिपल्ट बिहान सबेरै बजार पु¥याएर बेच्नेमा सीमित छ। उनी भन्छिन्, “कति किलो बेचिन्छ भन्ने हिसाब छैन, आफ्नै बारीमा फलेको हो, बजार पु¥याएर बेच्यो, सकियो। दैनिक दुई देखि साढे तीन हजार रुपैयाँसम्म आम्दानी हुन्छ।” असारदेखि भदौ महिनासम्म उनले बर्खे तरकारी बेचेरै तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बताउँछिन्।

उनकै गाउँकी अर्की महिला, ४९ वर्षीया छिता कठायतले पनि विगत चार वर्षदेखि यस्तै तरकारी व्यवसाय गर्दै आएकी छन्। चार रोपनी जग्गामा तरकारी लगाउने कठायतको दैनिक आठ सयदेखि एक हजार रुपैयाँ आम्दानी हुन्छ। “घरको कामसँगै तरकारी खेती सहज छ, अरुको भरमा बस्नु पर्दैन, आफै कमाएर आत्मनिर्भर बनेको छु,” कठायत भन्छिन्।

तरकारी खेतीले महिलाहरूको जीवनमा आत्मविश्वास, सम्मान र आर्थिक स्वतन्त्रता ल्याएको छ। रिमा, छिता र मायादेवीजस्ता महिलाहरू घरायसी कामसँगै तरकारी खेतीलाई आयआर्जनको सशक्त माध्यम बनाउँदै लगेका छन्।

मायादेवी खड्का सुरुवाती दिनमा बजार डुलाएर तरकारी बेच्न लाज लाग्ने बताउँछिन्। “अहिले चाहिँ आफ्नै पसिना र श्रमको मूल्य बुझ्न थालेकी छु। जबसम्म सकिन्छ, यही कामलाई निरन्तरता दिन्छु,” उनले भनिन्।

जुम्लाको पातारासी गाउँपालिकाका महिलाहरू बर्खे तरकारी उत्पादनबाट वार्षिक ५० हजारदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। उनीहरूले उत्पादन गरेका अर्गानिक तरकारी बिहानै खलंगा बजारमा बिक्री हुन्छ। स्वास्थ्य सचेत नागरिक र मर्निङ वाक गर्नेहरू अर्गानिक तरकारी किन्न नियमित आउने गर्छन्।

बन्दा, काउली, फुलकाउली ६० रुपैयाँ, आलु ५०, मुला ५५, टमाटर र प्याज ८० रुपैयाँ प्रतिकेजीमा बिक्री हुँदै आएको छ।

छिमेकी महिलाले गरेको देखेर तरकारी खेती सुरु गरेकी मायादेवी भन्छिन्, “पहिला किनेर तरकारी खानुपर्थ्यो, अब आफ्नै उत्पादन खान पाउँदा सन्तुष्टि मिल्छ। बिक्री गर्दा पैसा पनि हातमा आउँछ।”

जुम्लाको पातारासी: महिलाको श्रम, सीप र संकल्पले आत्मनिर्भरताको नयाँ कथा बुनिँदैछ। यस्ता स-साना व्यावसायिक प्रयासले ग्रामीण महिलाको जीवनमा सामाजिक र आर्थिक परिवर्तन ल्याइरहेका छन्।

पैदल यात्रा, पसिनाको मेहनत र आत्मनिर्भरता: जुम्लाका महिलाहरू तरकारी खेतीबाट बन्दैछन् उद्यमी

तिलामा भिडबाट लडेर एकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds