च्याउ संकलन गर्न बाँके राष्ट्रिय निकुञ्ज खुला, सशुल्क अनुमति प्रणाली लागू

बाँके,१० असार।

बाँके राष्ट्रिय निकुञ्जले वर्षायाममा जङ्गलमा उत्पादन हुने मौसमी च्याउ संकलन गर्नका लागि एक साता अवधि निर्धारण गरी स्थानीयलाई सशुल्क रुपमा जङ्गल क्षेत्र खुला गरेको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई लक्षित गर्दै असार ९ गतेदेखि १५ गतेसम्म फुर्की (फुट्की) र बगाले च्याउ संकलन तथा निकासी गर्न अनुमति प्रदान गरिएको हो।

निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीका अनुसार च्याउ संकलन गर्न इच्छुक व्यक्तिले तोकिएका रेञ्जपोष्ट तथा निकुञ्ज कार्यालयहरूबाट पूर्वस्वीकृति लिनुपर्नेछ। संकलन तथा निकासीका लागि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ। नियमावलीअनुसार प्रतिकिलो च्याउमा १०० रुपैयाँ दस्तुर तिर्नुपर्ने व्यवस्था गरिएको छ।

निकुञ्जले फुर्की र बगाले च्याउबाहेक अन्य कुनै वन पैदावार संकलन गर्न निषेध गरेको छ। साथै, प्रवेश आफ्नै जिम्मेवारीमा हुने स्पष्ट पार्दै निकुञ्ज क्षेत्रभित्र कुनै किसिमको हानि–नोक्सानी भएमा सरकार जिम्मेवार नहुने जनाइएको छ। वन्यजन्तुलाई हानी पुर्‍याउने, आखेटोपहार संकलन वा निकासी गर्नेलाई कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।

चिसापानी, गाभर होमस्टे, देउराली, जनएकता, खड्गवार, सिकारीवास लगायतका स्थानलाई आधिकारिक नाका तथा घाटका रूपमा मान्यता दिइएको छ। च्याउ संकलनको सिजनमा स्थानीयले राजमार्ग छेउमै च्याउ बिक्री गर्ने, नेपालगञ्ज र कोहलपुरबाट आउने व्यापारीलाई च्याउ आपूर्ति गर्ने गरेका छन्। यसबाट उनीहरूले हरेक वर्ष राम्रै आम्दानी गर्ने गरेका छन्।

निकुञ्जले वन पैदावारको उचित व्यवस्थापन, स्थानीयको जीवनयापनमा सहयोग र प्राकृतिक स्रोतको संरक्षणका लागि यस्तो पहल गरिएको जनाएको छ।

 

च्याउ संकलन गर्न बाँके राष्ट्रिय निकुञ्ज खुला, सशुल्क अनुमति प्रणाली लागू

विद्यार्थीलाई सेनाकाे ‘एनसीसी’ तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *