बाँकेको ढकेरीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

बाँके ,२३ जेष्ठ ।
बाँकेको राप्ती सोनारी ९ ढकेरीमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्नका लागि निस्सा दिन थालिएको छ । निस्सा प्राप्तिपछि ढकेरीमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले अब चाँडै लालपुर्जा पाउने छन् । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले विभिन्न कागजपत्र र तीनपुस्ते विवरण भर्न छुट भई निस्सा नपाएका लाभग्राहीहरुलाई पनि प्रक्रिया पूरा गरेर निस्सा वितरण गरिने र निस्सा पाएका लाभग्राहीहरुको अब थप अनुगमन गरेर जग्गा वितरणका लागि नाँपजाँच गर्ने कार्य अगाडि बढेपछि छिट्टै लालपूर्जा वितरण हुने बताउनुभयो।
वडा नं. ९ का अध्यक्ष सोहनलाल थारूले वडामा लामो समयसम्म जग्गा नपाएका ढकेरीका सुकुम्वासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताउदै लालपुर्जा प्राप्तीका लागि आवश्यक कार्य गर्न सहजीकरण गर्ने बताउनुभयो। उहाँले लामो समय उपभोग गर्दै आएको जग्गाको स्वामित्व पाउने गरि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई आफनो सहि लगत प्रदान गरि पछि आईपर्ने समस्यावाट वच्न समेत आग्रह गर्नुभएको छ।
निस्साको लगत संकलनको शुभारम्भ कार्यक्रममा भुमि आयोग बाँकेका अध्यक्ष घननाथ खनाल, विभिन्न दलका प्रतिनिधि, जन प्रतिनिधि तथा नाप जाँचकालागि कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।





