शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला


बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधारको लागि जुम्लाको तातोपानी गाउँपालिकाले पढाइ मेलाको आयोजना गरेको छ । बालबालिकाको शिक्षण सिकाइ, पाठ्य सामाग्री तथा अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने उदेश्यले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि गाउँपालिकास्तरीय पढाइ मेला आयोजना गरिएको हो ।
विद्यालयमा जस्तै घरमा पनि बालबालिकाहरुलाई पढ्ने वातावरण तयार गर्नका लागि परिवार र समुदायलाई सहयोग पुर्याउने लक्ष्यका साथ मेलाको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । यस किसिमको मेलाबाट बालबालिकाहरुमा पढाइको वातारण सृजना गर्न, गराउन, शैक्षिक सामग्री निमार्ण प्रयोग गर्न, गराउन, शिक्षण सिकाइ क्रियाकलापहरु ब्यवस्थापन तथा संचालन गर्न सहयोग पुर्याउनुका साथै विद्यार्थीहरुको शारिरीक, मानसिक, संवेगात्मक विकास एवं सुधार गर्न मद्दत पुग्नेछ ।
यसले सामुदायिक विधार्थीहरुमा पढाइको साथसाथै लवाइ खुवाइ, व्यक्तिगत सरसफाइ, सिकाई र सिप विकासमा समेत महत्वपुर्ण भूमिका खेल्ने देखिन्छ । यस किसिमको मेलाहरुको आयोजना गर्दा विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै शिक्षकहरुको शिक्षण र विद्यार्थीहरुको सिकाइमा पनि सुधार आउने स्थानीय बताउँछन् ।
पढाइ मेलाले विद्यार्थीहरुको बाहिरी ज्ञान र सिकाइलाई एक अर्कामा आदान प्रदान गर्ने अवसर प्रदान गरेकोले विद्यार्थीहरुको पढाइ प्रति रुचि बढाउन यस्ता मेलाहरु विद्यालय पिच्छे गर्न अभिभावकको सुझाव थियो ।
मेला अवलोकन गर्न आएका विद्यार्थीहरु मात्र नभइ शिक्षक,अभिभावक र स्थानीयहरु पनि निकै उत्साहित देखिएका थिए । मेलामा विद्यार्थीले बनाएका शैक्षिक सामग्रीहरुको प्रदर्शनीसमेत गरिएको थियो ।
बालबालिकाको सिकाइ वृद्धि गर्न मेलाले सकारात्मक भूमिका खेल्ने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । स्थानीय स्रोत साधनको प्रयोग गर्दै विद्यार्थीले आफ्नो सीप र क्षमताको उपयोग गरिएको पाइएको थियो ।नियमित पठनपाठन, बालबालिकाको सीपको वृद्धि, पठन संस्कृतिको विकास, बालबालिकाको क्षमता पहिचान गर्न मेला आयोजना गरिएको थियोे।मेलामा २० वटा सामुदायिक विद्यालयले भाग लिएका थिए । गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् । मेलामा ४ वटा विद्यालय उत्कृष्ट छनौटमा परेका छन् ।
उत्कृष्ट शैक्षिक सामग्री निर्माण, पठन सीप, सिकाईको अवस्था, सामग्रीबारे बालबालिकाले गरेको व्याख्या, शैक्षिक सामग्रीले नियमित पठनपाठनमा पार्ने सकारात्मक प्रभाव लगायतका विषयमा मूल्यांकन गरिएको थियो । मेलामा सहभागी विद्यालयले स्टल राखेका थिए । सबै स्टलको अवलोकन गरिएको थियो । कालिका आधारभूत विद्यालय प्रथम, सुन्दरमणि आधारभूत विद्यालय दोस्रो, कालिका आधारभूत विद्यालय हियाखोला तृतीय र कालिका मावि टोप्ला र हिमाली आधारभूत विद्यालय बाबिरा चौथो भएको मेलाको मूल्यांकनकर्ता चक्रबहादुर जिसीले बताए ।
उत्कृष्ट हुने चारवटै विद्यालयलाई शैक्षिक सामग्री तथा नगद पुरस्कार उपलब्ध गराइएको छ । अध्यक्ष चौलागाईंले सामुदायिक विद्यालय सुधार र शैक्षिक गुणस्तर कायम गर्नका लागि तातोपानीले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएको बताए । पहिलो पटक आयोजना गरिएको पालिकास्तरीय पढाइ मेला सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि कोशेढुंगा साबित हुने उल्लेख गरे । यसअघि तातोपानी गाउँपालिकाले पाँच वटा अनुगमन टिम बनाएर विद्यालयमा पठाएको थियो ।
विद्यालयको अवस्था र विद्यार्थीको संख्याको आधारमा विद्यालय मर्ज अभियान सुरु गर्ने अध्यक्ष चौलागाईंले बताएका छन् । यो भन्दा पहिला जुम्लाको हिमा गाउँपालिकाले पढाई मेला गरेको थियो ।






