आन्तरिक पर्यटकको रोजाइमा से–फोक्सुन्डो


हाल डोल्पाको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो से–फोक्सुन्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ । से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार गत साउनदेखि कात्तिकसम्ममा स्वदेशी र विदेशी गरी एक हजार ६३२ पर्यटक फोक्सुन्डो ताल क्षेत्रमा आएका छन् । बाह्य पर्यटकको तुलनामा आन्तरिक पर्यटक आउने क्रम जारी छ ।
बितेका पाँच महिनामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क राष्ट्र र अन्य राष्ट्रका गरी ३२६ जना पर्यटकले से–फोक्सुन्डो घुमेका र त्यसबाट रु. १० लाख ५३ हजार राजस्व संकलन भएकोे उनले बताए । चालू आर्थिक वर्षको सुरुदेखि कात्तिकसम्म वन पैदावार बिक्री, पर्यापर्यटन, दण्डसजायलगायत शीर्षकबाट रु. ६५ लाख ७० हजार ६८८ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।
फोक्सुन्डो ताल, त्रिपुरासुन्दरी मन्दिर, से–गुम्बा, धो तरापजस्ता सुन्दर धार्मिक तथा पर्यटकीय गन्तव्य डोल्पामै पर्ने भएकाले केही वर्षयता आन्तरिक पर्यटकको संख्या बढ्दै गएको त्रिपुरासुन्दरी नगरपालिका– १ का लक्ष्मण देवकोटाले बताए । नेपालगन्ज–डोल्पा उडान नियमित गरेमा, भेरी करिडोरको सुधार तथा सुविधायुक्त होटेलको व्यवस्था भएमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि हुने उनी बताउँछन् ।
व्यापार, व्यवसाय प्रवर्द्धनका हिसाबमा डोल्पालीलाई विदेशीभन्दा स्वदेशी पर्यटक आउँदा फाइदा हुने सदरमुकाम दुनैका होटेल व्यवसायीहरू बताउँछन् । नेपालगन्ज–सुर्खेत–जाजरकोट–रुकुम हुँदै मोटरसाइकल र गाडीमा सजिलै दुनैसम्म पुग्न सकिने भएकाले पनि विमानमा भन्दा अघिकांश पर्यटक मोटरसाइकल चढेर यहाँ आउने गरेका छन् ।






