शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार होः मन्त्री भण्डारी


कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन् । उनले जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी बनेका पाँच वटा विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम मन्त्री भण्डारीले यस्तो बताएका थिए ।
मन्त्रीले शिक्षाको विकास हुन सकेन भने अन्य कुनै पनि विकास नहुने दाबी गरे । “शिक्षाको विकास हुन सकेन भने अन्य केही पनि विकास हुन सक्दैन, त्यसैले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार हो, यसलाई सबैले आत्मसात गर्नैपर्छ”, उनले भने ।
विद्यार्थीको शैक्षिक गुणस्तरका लागि शिक्षक, विद्यार्थी र अभिभावकको गहन जिम्मेवारी रहने बताए । “विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक र अभिभावकको ठूलो दायित्व र जिम्मेवारी हो”, उनले भने । “जुम्लाका दुर्गम गाउँमा भूकम्पप्रतिरोधी विद्यालय भवन निर्माण गरिएका छन् । गाउँका विद्यालय बारम्बार भूकम्पले तर्साइरहने,बर्षाको समयमा चुहिने खुल्ला चौरमा पढ्नुपर्ने बाध्यता र कच्ची भवन भत्किएर ठुलो क्षति हुन थालेपछि नयाँ बन्ने भवन भूकम्पप्रतिरोधी बनाइएको हो ।
जुम्लाको हिमा गाउँपालिकामा दुई, सिंजामा एक र कनकासुन्दरीमा दुईवटा विद्यालय भवन बनेका छन् । ती सबै भवन भूकम्पप्रतिरोधी हुन् । पाँच विद्यालयमा चारकोठे पक्की भवन, ४ वटा बालमैत्री, अपांगमैत्री भवन, ४ वटा शौचालय र ३ वटा हेन्ड वासिङ स्टेसन बनेका छन् । हिमा गाउँपालिका –३ मा रहेको भैरव आधारभूत विद्यालय जोगीबाडामा ६१ लाख ९५ हजार ३ सय ४३ रुपैयाँ र –७ मा अवस्थित महादेव आधारभूत विद्यालय माथिकुडुमा ६३ लाख ७२ हजार ८ सय ६८ रुपैयाँमा भवन भूकम्पप्रतिरोधी बनेका छन् । भने,त्यस्तै, कनकासुन्दरीका गाउँपालिका –४ मा रहेको भैलेपाटा आधारभूत विद्यालय लेकपोरको ५५ लाख २९ हजार १ सय ७४ रुपैयाँ र –६ मा अवस्थिति गोरुचौर आधारभूत विद्यालयको भवनमा ६८ लाख १६ हजार २ सय ९० रुपैयाँमा भूकम्पप्रतिरोधी भवन बनेका छन् । सिंजा गाउँपालिका–६ मा अवस्थित माध्यमिक विद्यालय जोडुमा ७३ लाख ५६ हजार ३ सय ७९ रूपैयाँमा भवन बनेको छ । नयाँ निर्माणसँगै मर्मतसम्भार, कक्षाकोठा, शौचालय, हातधुने स्टेसन खानेपानी सुविधा र हरियो बगैंचाको मर्मतको कामसमेत भएको हो । पाँच वटा भवनको कुल ३ करोड ५० लाख ३ सय ८६ रुपैयाँ लागत खर्च भएको छ ।
यी पाँच विद्यालय भवनमा बालमैत्री, अपांगमैत्री, छात्र–छात्रामैत्री, अपांगमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षाकोठा सहितको सुविधा नयाँ विद्यालय भवन बनेका हुन् । सिंजा भेगका कुल ८ सय ९८ विद्यार्थीहरु सुविधासम्पन्न विद्यालय भवनबाट लाभान्वित हुनेछन् ।
जसमध्ये भैरव आधारभूत विद्यालय जोगिवाडाका १ सय २० ,भैलेपाटा लेकपोरका ९५,मावि जोडुका २ सय ९९, महादेव आधारभूत माथिकुडुका १ सय ११ र आधारभूत विद्यालय गोरुचौरका २ सय ७३ जना विद्यार्थी छन् । गत वर्ष असोजमा परेको बेमौसमी वर्षाले सिंजाको जोडु विद्यालयमा क्षति पुगेको थियो । त्यसयता विद्यार्थी खुला चौरमा बसेर पठनपाठन गरिरहेका थिए । धेरै वर्ष पुराना जीर्ण भवनमा पढ्न बाध्य थियौँ, नयाँ भवन पाएपछि निकै उत्साहित भएको बताउँछिन् मावि जोडुमा कक्षा ५ मा अध्ययनरत छात्रा स्माइल बुढा। यता प्रध्यानाध्यापक सिंहबहादुर बुढाले ,भने अहिले सुविधायुक्त विद्यालय पाउदा खुसी छुँ ।
प्रधानाध्यापक बुढाले भने, ‘भूकम्पप्रतिरोधी नयाँ विद्यालय बनेसँगै विद्यार्थीले सुरक्षित तरिकाले बस्न र पढ्न पाउन थालेका छन् । दुर्गमका विद्यालय भूकम्पप्रतिरोधी बन्न थालेपछि स्थानीय अभिभावक ढुक्क हुने अवस्था बनेको बताए । प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा पेस नेपाल, जुम्लाले आधार परियोजनाबाट विद्यालय भवन बनाइदिएको हो । पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले दुर्गमका पाँच विद्यालय भूकम्पको जोखिमरहित बनेको दाबी गरे । अत्यावश्यक र मागमा आधारित भएर भवन निर्माण गरिएको उनले बताए । अब दुर्गममा भूकम्पप्रतिरोधी विद्यालय भवन बन्दा विद्यार्थीलाई पठनपाठन निकै सुरक्षित हुने गरेको छ । उनले हस्तान्तरण कार्यक्रमको अवसरमा भवनको सही रूपमा सदुपयोग र संरक्षण गर्न शिक्षक अभिभावकलाई आग्रहसमेत गरे ।
विशेषगरी यो मोडललाई गाउँपालिकाले अनुसरण गर्ने विश्वास ब्यक्त गरे । प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय निर्देशक मिना पराजुलीले जहिले पनि आवश्यकतामा आधारित रहेर गुणस्तरीय शिक्षामा लगानी गरेको बताइन् । जुम्लामा सन २०१७ देखि निरन्तर काम भइरहेको सुनाइन् । सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षाका लागि भौतिक संरचनासँगै शैक्षिक सामाग्रीहरु उपलब्ध भएकाले अध्ययन र अध्यापनमा विशेष जोड दिनुपर्ने बताउँछिन् । आगामी दिनमात्र समन्वय र सहकार्यको अपरिहार्य रहेको विश्वास व्यक्त गरिन् । भवन हस्तान्तरण कार्यक्रममा सम्बन्धित गाउँपालिका जनप्रतिनिधि र स्थानीय अभिभावकको सहभागीता रहेको थियोे ।






