नाग्म–गमगढी सडकमा ३२ करोड लगानीमा १० पक्की पुल बन्दै


मुगुको रारा ताल जाने पर्यटकीय मार्ग ‘नाग्म–गमगढी’ सडक अन्तर्गत विभिन्न खोलामा १० वटा पक्की पुल निर्माण भइरहेका छन् । सडक डिभिजन जुम्लाको पहल तथा पुल विभागको लगानीमा ठेक्का आह्वान भई पुल निर्माण भइरहेका छन् ।

नाग्म–गमगढी सडकको विभिन्न खोलामा पुल विभागको ३२ करोड ६८ लाख ९२ हजार बजेट लगानीमा १० वटा पक्की पुल निर्माण भइरहेको सडक डिभिजन जुम्लाले जनाएको छ ।

यद्यपि १० वटा पुलमध्ये चार पुलको निर्माण कार्य अझै सुरु हुन सकेको छैन भने ६ वटाको निर्माण भइरहेको छ ।

सडक डिभिजन जुम्लाका सूचना अधिकारी चित्र चौलागाइका अनुसार नाग्म–गमगढी सडकको प्रवेशद्वारमै जग्गाको मुआब्जा विवादले भने पुल निर्माण अघि बढ्न सकेको छैन ।

०७८ साल फागुन ९ गते ठेक्का सम्झौता भई आगामी ०८२ साल भदौ ८ गते कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि चार वटा पुलको काम सुरु नहुनुले निर्धारित समयमा पुल निर्माण हुनेमा शङ्का खडा भएको छ ।

‘हिम सगरमाथा कन्स्ट्रक्सन’ प्रालि भरतपुर–१० चितवनले १० वटै पक्की पुलको ठेक्का पाएको छ । मौसमी प्रतिकुलता, जनशक्ति, निर्माण सामाग्री, बजेटको अभाव तथा कठिन भूगोलबिच पनि निर्माण कार्य भइरहेको कम्पनीले जनाएको छ ।

बन्न बाँकी ४ वटा पुलको कामलाई पछि अघि बढाउने र निर्धारित समयमै १० वटै पुलको काम सम्पन्न गर्ने कम्पनीको दाबी छ । पुल निर्माणपछि रारा आउने पर्यटक र सिञ्जा क्षेत्र र मुगुका नागरिकलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

नाग्म–गमगढी सडकमा ३२ करोड लगानीमा १० पक्की पुल बन्दै

पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज

नाग्म–गमगढी सडकमा ३२ करोड लगानीमा १० पक्की पुल बन्दै

सडेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो