ओझेलमा नाछेन युरिगाङ तिर्थस्थल


बिमल हमाल।
जिल्ला सदरमुकाम गमगढीदेखि दुई दिन पैदल यात्रामा पुग्न सकिने कार्मारोङ गाउँपालिका–६ पुअको नाछेन हिमालमा अवस्थित बौद्ध धर्मावलम्बीको पर्यटकीय तीर्थस्थल नाछेन युरीगाङ विकास र प्रचारप्रसार अभावमा ओझेल परेको छ ।
समुद्री सतहको ४ हजार मिटर उचाइमा रहेको नाछेन हिमालमा रहेको तीर्थस्थल कर्मारोङ गाउँपालिकाका १४ गाउँका स्थानीयलगायत बाहिरी जिल्लाका बौद्ध धर्मावलम्बीले पुज्ने थलो हो ।
यहाँ वैशाख पूर्णिमाका दिन मेला लाग्छ । भगवान् गौतम बुद्धलाई स्थानीय भाषामा ‘साङ्गे रिम्पोचे’ र ‘गुरु रिम्पोचे’ भनिने हुँदा गुरु रिम्पोचेले अवतार गरेर ज्ञान प्राप्त गरेको स्थान भएकाले तीर्थस्थल स्थापना गरिएको स्थानीय धर्मगुरु ग्यालजेन लामा बताउँछन् ।
यस तीर्थस्थलमा कार्मारोङवासी वैशाख पूर्णिमाका दिन मेला र पूजापाठ गर्ने गर्छन् । यहाँबाट मनोरम हिमशृंखलासमेत देखिन्छ ।
तीर्थस्थल जान स्थानीयले खनेको बाटो मात्र छ । घोडेटो बाटो प्रयोग गरेर कार्मारोङ गाउँपालिका मुकाम पुलु बजारदेखि ५ घण्टामा तीर्थस्थल पुगिन्छ ।

तीर्थस्थलमा पुराना ऐतिहासिक ढुंगे छाप मूर्ति दर्शन गर्न सकिन्छ । बाटोमा हिमाली भोजपत्र, जडीबुटी, देवदारजस्ता वृक्षसमेत अवलोकन गर्न सकिन्छ भने कस्तुरी, मृग उफ्रिरहेका हुन्छन् ।
यस तीर्थस्थलको हालसम्म कुनै पनि सरकारी एवं गैरसरकारी निकायले विकासमा पहल नगरेको स्थानीय बताउँछन् ।
धार्मिक पर्यटकीय विकास भएमा कार्मारोङ गाउँपालिकामा पर्ने छायानाथ तीर्थस्थलको अर्कोे दोस्रो धार्मिक पर्यटकीयस्थल बन्ने कार्मारोङ गाउँपालिका–६ वडा सदस्य कार्मासाङवो लामाको विश्वास छ ।
हाल यस तीर्थस्थलमा पर्यटकको बसाइँका लागि धर्मशालासम्म सम्म छैन । मेला भर्ने धार्मिक पर्यटकले कठिनाइ भोग्दै आएका छन् । तीर्थस्थलसम्म जाने बाटो पनी साँघुरो भएकाले गाउँपालिकाले यसको विकासका लागि पहिलो प्राथमिकतामा राख्नुपर्ने वडा सदस्य लामाको जोड छ । गाउँपालिले विकास र पर्यटन, प्रवद्र्धन गरेमा आफूहरूको आयआर्जन र रोजगारी सिर्जना हुने स्थानीय यासी लामा बताउछन ।






