मुगुको छायाँनाथमा नगरबस सञ्चालन


छायाँनाथ रारा नगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याएको छ ।
नगरपालिकाले बिहीवारदेखि नगर क्षेत्रभित्र नगरबस सेवा सञ्चालन गरेको हो । पालिकाले ८४ लाखमा दुईवटा बस खरिद गरेको छ ।
नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट आठ वटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ । वडा नम्बर १४ बाम गाउँसम्मको २२ किलोमिटरसम्मको रुटमा बिहीवार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
नगरपालिकाको १४ वडाका ८७ बस्तीमध्ये दुई बस्तीमा सडक पुगेको छैन । अन्य सबै बस्तीमा सडक पुगेको भए पनि सर्वसाधारणले सहुलियत दरमा यातायात सेवा प्रयोग गर्न पाएका थिएनन् ।
गमगढीदेखि बाम गाउँसम्म भाडा जीपहरूले प्रतिव्यक्ति एकतर्फी ६ सय रुपैयाँ भाडा लिने गरेका छन् । नगर पालिकाले आफ्नो सेवामार्फत प्रतिव्यक्ति तीन सय र अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकलाई नगरबस सञ्चालन कार्यविधि अनुसार भाडामा छुट हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले जानकारी दिए ।
नगरपालिका नगरबस सञ्चालनमा ल्याएपछि वडा नम्बर १३ र १४ का स्थानीय खुसी भएका छन् । नगरबस सञ्चालन आउनुअघि दुईतर्फी एक हजार दुई सय भाडा तिर्दै आएका थिए । अहिले ६ सय रुपैयाँमा आवतजावत गर्न पाउने भएपछि स्थानीयवासी खुसी भएका छाँयानाथ रारा नगरपालिका–१४ का तिलक बुढाले बताए ।
नगरबस सञ्चालनमा आएको यो सडक खण्ड सदरमुकाम गमगढी र हुम्ला जोड्ने सडक हो । नगरपालिकाले सहुलियत दरमा यातायात प्रयोग गर्न पाउने वातावरण बनेको सांसद ऐनबहादुर शाहीले बताए ।
नगर प्रमुख विष्णुकुमार भामले आफ्नो चुनावी नारामानगरवासीको सहज यातायात पहुँचका लागि आफ्नो पाँच वर्षे कार्यकालमा चारवटा नगरबस खरिद गर्ने प्रतिबद्धताअनुसार पहिलो पटक दुई वटा बस खरिद भएको बताए ।






