दशैं अवधिमा कर्णालीभर २५ वटा सडक दुर्घटना


यस वर्षको दशैंको अवधिमा कर्णालीमा २५ वटा सडक दुर्घटनाहरु घटेका छन् ।
कार्तिक १ गतेदेखि ११ गतेसम्मको समयावधिमा कर्णालीभर २५ वटा सडक दुर्घटनाहरु घटेका हुन् । यी सडक दुर्घटनाहरुमा ६६ जना नागरिकले क्षति व्यवहोर्नुपरेको ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक छ ।
– १ जनाको मृत्यु
– २५ जना गम्भिर घाईते
– ४० जना सामान्य घाईते
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भूपेन्द्रबहादुर शाहीका अनुसार ११ दिनको समयावधिमा कर्णालीमा भएका सडक दुर्घटनामा ६६ जना नागरिकले आंशिक तथा जनधनको क्षति व्यहोरेका थिए ।
दशैंको अवधिमा सडक दुर्घटनाका कारण एक जनाको मृत्यु, २५ जना गम्भिर घाईते र ४० जना सामान्य घाइते भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।
जिल्ला गत रुपमा हेर्दा दशैंको अवधिमा सुर्खेतमा नै सबैभन्दा धेरै सडक दुर्घटनाहरु भएका थिए । यस अवधिमा सुर्खेतमा १९ वटा, दैलेख र सल्यानमा तीन–तीन वटा सडक दुर्घटनाहरु घटेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।
गत वर्ष २०७९ को दशैंको समयमा कर्णालीमा सडक दुर्घटनामा तीन जनाले ज्यान गुमाएका थिए । प्रहरी निरीक्षक शाहीले भने, ‘२०७९ को तुलनामा २०८० को दशैं समयमा संख्यात्मक रुपमा बढी सडक दुर्घटनाहरु भएको देखिन्छ । तर मानव क्षतिका रुपमा भने यस वर्ष कम क्षति भएको देखिन्छ ।’
ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार विगत तीन आर्थिक वर्षमा कर्णालीमा एक हजार दुई सय ७७ वटा सडक दुर्घटनाहरु भएका छन् ।
२०७७/०७८ मा दुई सय ९१, २०७८/०७९ मा चार सय दुई र २०७९/०८० मा कर्णालीमा पाँच सय ४४ वटा सडक दुर्घटना भएको कार्यालयको तथ्याङ्क छ । यस अवधिमा कर्णालीमा सडक दुर्घटनाका कारण चार सय २५ जनाले ज्यान गुमाएका छन् । बार्षिक रुपमा सयौं कर्णालीवासीले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको तथ्यांकले जनाएको छ ।
२०७७/०७८ मा ९८ जना, २०७८/०७९ मा एक सय ९७ जना र २०७९/०८० मा एक सय ३० जना नागरिकले दुर्घटनामा ज्यान गुमाएको प्रहरीको तथ्याङ्क छ । त्यसैगरी तीन आर्थिक वर्षमा आठ सय ६२ जना गम्भिर घाईते र एक हजार सात सय ३८ जना सडक दुर्घटनामा समान्य घाइते भएका थिए ।
सचेत छैनन् नागरिक, पूर्वाधार उस्तै
सडक दुर्घटनामा बटुवा, सवारी चालक र सडक पूर्वाधार तीनै पक्षको भुमिका उस्तै हुन्छ । नागरिकहरु समेत सडकको प्रयोग गर्दा सावधानी अपनाउदैनन् । चालकहरुले पनि सडक पूर्वाधारको क्षमता अनुसार सवारीको गति नियन्त्रण तर्फ ध्यान नदिएको देखिन्छ ।
‘नागरिकमा सडकको नियम तथा ट्राफिक सचेतनाको कमी छ । वीरेन्द्रनगरकै उदाहरण हेर्दा पनि यहाँ जहापायो त्यहिबाट बाटो काट्ने बटुवाहरु प्रशस्तै देखिन्छन्’, नेपाल अटोमोवाइल्स एसोशिएसन, कर्णालीका सचिव नम्रता तुसुजु श्रेष्ठले भनिन्, ‘चालकहरु समेत सवारीको गतिमा ध्यान दिदैनन् । यसअघि वीरेन्द्रनगरमा घटेको सडक दुर्घटनामा तिब्र गति पनि एउटा कारण देखिएको थियो ।’
सडक दुर्घटना बढी जोखिममा रहेको वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रमा समेत सडक सुरक्षाका दृष्टिकोणले विकास भएको देखिदैन । बजार क्षेत्रमा हालैमात्र निर्माण भएको सडकमा कोरिएका लेनहरु नागरिकले अनुशासित रुपमा पालन गरेका छैनन् ।
‘वीरेन्द्रनगर बजारको सडकमा चार लेन बनाइएका छन् । तर सवारी पाकिङ्ग समस्याले दुवैतर्फका केहि लेनहरुमा सवारी आगमन समस्या भएको देखिन्छ’, उनले भनिन्, ‘यस अवस्थामा नागरिकहरुलाई आफै जोगिएर हिड्नुपर्ने वाध्यता समेत आएको छ ।’
प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा सवारी चाप बढेंपनि हालसम्म ट्राफिक बत्ती तथा आकाशे पुलहरु निर्माण हुन सकेका छैनन् ।





