सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा

जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरुवा घर सञ्चालनमा आएको छ । कर्णाली प्रदेशमै पहिलो प्रसूति कुरुवा घरका रूपमा जिल्ला अस्पताल सल्लेमा प्रसूति कुरवा घर सञ्चालनमा आएको हो ।
गर्भवती तथा सुत्केरी र कुरुवाहरूलाई बस्न सहज होस् भनेर अस्पताल परिसरमा कुरुवा घर निर्माण गरिएको हो । वान हर्ट वर्ल्ड वाइड तथा रुकुमेली समाज विकास केन्द्र र अस्पताल विकास समितिको साझेदारीमा कुरुवा घर बनेको वान हर्ट वर्ल्ड वाइडका जिल्ला संयोजक लोकमणि गिरीले जानकारी दिए ।
उनका अनुसार घर निर्माणमा २९ लाख ४८ हजार सात सय १८ खर्च भएको छ । चार लाख अस्पताल विकास समितिको हो भने बाँकी सबै रकम वान हर्ट वर्ल्ड वाइडको रहेको गिरीले बताए । प्रसूति घरमा आर्थिकरुपमा विपन्न तथा टाढाका सुत्केरी, गर्भवती तथा तिनका कुरुवाहरु बस्न पाउने छन् ।
‘जिल्लाको दुर्गम ठाउँबाट प्रसूति सेवाका लागि गर्भवती गर्भवती आईन्, तर उनलाई दुई दिनपछि मात्र अस्पतालमा भर्ना गर्नुपर्ने देखियो, यस्तो अवस्थामा गर्भवती घर जान पनि सम्भव नहुने, आर्थिकरुपमा विपन्न भएको अवस्थामा होटलमा पनि बस्न नसक्ने भएकाले गर्भवती र तिनका कुरुवाले निः शुल्करुपमा यो घरमा बस्न पाउनेछन्’, गिरीले भने ।
कुरुवा घरमा चार शय्यासहित भान्साको पनि व्यवस्था छ । गर्भवती तथा सुत्केरीलाई मापदण्ड अनुसारका खाने कुराको व्यवस्था अस्पतालले गर्नेछ । अब दुर्गमबाट प्रसूति सेवा लिन जिल्ला अस्पतालसम्म पुगेका विपन्न परिवारका आमा तथा गर्भवतीलाई होटलमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यसले सुरक्षित मातृत्वमा जोड दिने र स्वास्थ्य संस्थामा प्रसूति हुनेको संख्या बढ्ने विश्वास गरिएको छ । कुरुवा घरमा बस्ने गर्भवती तथा सुत्केरीलाई साबिक भन्दा तीन सय ५० बढी र करिब ७७ ग्राम प्रोटिन चाहिने हुँदा कुरुवा घरमा बस्ने सुत्केरी आमालाई आवश्यक पर्ने गेडागुडी, फलफूलसहित दैनिक चार सय ५० देखि पाँच सय रुपैया बराबरको खानेकुरा उपलब्ध गराइने जिल्ला अस्पताल सल्लेका चिकित्सक ओसिन पुनले जानकारी दिए ।
विपन्न तथा टाढाका सुत्केरी आमाहरुलाई निः शुल्क रुपमा खान–बस्न मिल्ने व्यवस्था भएपछि त्रिवेणी–२ की कौशिला कामीले खुसी हुँदै दिगोरुपमा प्रसूति घर सञ्चालन हुन सके दुर्गमका गर्भवतीलाई राहत पुग्ने बताए ।





