शिव शिखरद्वारा ३० करोड ठगी, ११ करोड विगोसहित मुद्दा दर्ताको तयारी

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरस्थित रहेको शिवशिखर सहकारी संस्था कार्यालयले स्थानीयबाट झण्डै ३० करोड रुपैयाँ ठगेको पाइएको छ ।
प्रहरीले जिल्ला अदालतमा बुझाउन तयारी गरेको प्रतिवेदनमा ११ करोड विगो मागदावी गर्दै ११ जनालाई प्रतिवादी बनाएको हो ।
१७८ जनाले आफूहरु शिवशिखर सहकारीबाट ठगिएको भन्दै जाहेरी दिएका थिए । उनीहरुले दिएको जाहेरीमा बढी ब्याजको प्रलोभनमा परेर आफूहरुले सहकारीमा रकम जम्मा गरेको उल्लेख छ ।
प्रहरीका अनुसार आइतबारसम्म १७८ जनाले आफूहरु सहकारीबाट ठगिएको भन्दै जाहेरी निवेदन दिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले अझै जाहेरी आउनेक्रममै रहेकाले ठगिनेहरुको संख्या अझै धेरै हुनसक्ने बताए ।
भक्तपुरमा प्रधान कार्यालय रहेको शिवशिखरले सुर्खेतको वीरेन्द्रनगर र मेहलकुनामा शाखा कार्यालय खोलेको थियो भने सँगसँगै मार्ट पनि सञ्चालन गरेको थियो। दुई शाखाबाट झण्डै ३० करोड रुपैयाँ सहकारीले शेयर र विभिन्न बचतका नाममा उठाएको अनुमान छ ।
प्रहरीले निवेदनका आधारमा ११ करोड रुपैयाँ विगो र कैदको मागदावी गरेर प्रतिवेदन तयार पारेको छ । सहकारी ठगीमा संलग्न संचालक र कर्मचारी गरेर सात जना फरार छन् । प्रहरीका अनुसार सुर्खेत शाखाका प्रवन्धक चन्दन थापा, लेखा हेर्ने छवि डाँगी, कैलालीका दिपक बोहोरा, मोरङका लिलानाथ गौतम, भक्तपुरका राजु साखकर्मी, सिन्धुलीका तेजबहादुर तामा र काठमाडौंका सुशील बानियाँ फरार छन् ।






