‘लम्पी स्किन’ले हजारौं पशुचौयाको ज्यान लियो

सल्यान । लम्पी स्किन रोगबाट दुई महिनाको अवधिमा सल्यानमा झन्डै एक हजार पशुचौपाया मरेका छन् । कालिमाटी गाउँपालिकाबाट फैलिएको रोग हाल जिल्लाका १० वटै पालिकामा फैलिएको छ । दुई महिनाको अवधिमा नौं सय ९२ पशुचौपाया मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार शारदा नगरपालिकामा एक सय तीन, बनगाड कुपिण्डे नगरपालिकामा एक सय ५०, बागचौर नगरपालिकामा एक सय २१, कालिमाटी गाउँपालिकामा ५६, त्रिवेणी गाउँपालिकामा ३६ पशुचौपाया मरेका छन् । यस्तै सिद्ध कुमाख गाउँपालिकामा ९०, कपुरकोट गाउँपालिकामा ७४, दार्मा गाउँपालिकामा ९२, छत्रेश्वरी गाउँपालिकामा ३१ र कुमाख गाउँपालिकामा ७२ वटा पशु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले जानकारी दिए ।
यस्तै कार्यालयको तथ्यांकअनुसार शारदामा चार हजार ६ सय १६, बनगाडमा तीन हजार पाँच सय, बागचौर नगरपालिकामा चार हजार एक सय २४, कालिमाटीमा तीन हजार तीन सय १०, छत्रेश्वरीमा दुई हजार तीन सय, त्रिवेणीमा दुई हजार ८०, सिद्धकुमाखमा एक हजार आठ सय ९०, कपुरकोटमा दुई हजार दुई सय ५१, कुमाखमा पाँच हजार तीन सय १७ र दार्मा गाउँपालिकामा एक हजार नौं सय ७८ पशुचौपाया संक्रमित भएका छन् ।
प्रमुख महतका अनुसार जिल्लाका सबै पालिकामा लम्पी स्किन रोगको महामारीले किसानलाई क्षति पुर्याएको छ । रोग नियन्त्रणका लागि कर्णाली प्रदेशले हाललाई दुई हजार डोज खोप उपलब्ध गराएको छ । अहिले विभिन्न पालिकालाई उपलब्ध गराई प्राविधिक खटाएर धमाधम गाईगोरुमा लगाउन थालिएको उनले बताए । उनका अनुसार जिल्लाका लागि तीन हजार डोज खोप माग गरिएको र एक हजार डोज खोप आउन बाँकी रहेको बताए ।
जिल्लाभरका ३१ हजार ६ सय किसानले झन्डै ७० हजारभन्दा बढी गाईगोरु पाल्दै आएका छन् । खेतीपाती गर्ने समयमा रोगले धमाधम गोरु मर्न थालेपछि किसान चिन्तित छन् ।





