चिस्यान केन्द्र नहुँदा सुन्तला : कतै धानसँग साटियो, कतै सस्तोमै बेचियो

रुकुम पश्चिम,२७ माघ ।

रुकुम पश्चिमका केहि किसानहरुले उत्पादन गरेको सुन्तलाले बजार नपाएपछि कतै धानसँग साटिएको छ भने कतै व्यापारीले भनेकै मूल्यमा बेच्नु परेको गुनासो रहेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका –६ स्यालाका किसानहरुले धान र सुन्तला साटासाट गरेका छन् भने मुसीकोटका नगरपालिका १० का किसानले सस्तोमै बेचेका छन् ।

आफ्नो बारीमा फलेको अन्नले मात्रै बर्षदिनसम्म खाना नपुग्ने भएका कारण सुन्तला खेति गरेको तर सुन्तलाले बजार नपाएपछि धानसँग साट्नु परेको बाँफिकोट गाउँपालिका –६ का सुन्तला उत्पादक किसान मनबहादुर कुसारीले बताए । उनले आफ्नो बारीमा फलेका सुन्तला गाउँमै धानसँग सरोबरी गरेर साटेको बताए ।

सोहि गाउँकी पुष्पा खड्का खत्रीले १० कठ्ठा धानसँग आफ्नो बारीको सुन्तला साटेको बताए । ‘मेरो बारीमा धान फल्दैन सुन्तला प्रशस्तै फल्छ, धान दिनेको बारीमा सुन्तला फल्दैन, धान फल्छ,’ खत्रीले भनिन, गाउँमा यसैगरी सुन्तलासँग धान साट्नु परेको छ ।’ सुन्तला बिक्रि नभएर खेर जानुभन्दा गाउँमै उब्जेको अन्नसँग साट्नु राम्रो ठानेर धान र सुन्तला साटासाट गरेको उनले जानकारी दिए  ।

स्याला गाउँका करिब ३० घरले यसैगरी सुन्तला र धान साटासाट गरेका छन् । १० घर सुन्तला उत्पादक किसानले २० घर धान उत्पादक किसानसँग साटासाट गरेका छन् । वस्तु साटासाटको चलन गाउँमा पहिलेदेखि नै रहेको स्थानीय नरमा पुनले जानकारी दिए ।

वस्तुको मूल्यमा अन्तर रहेतापनि वस्तु साटासाटले ग्रामिण जीवनशैलीमा आत्मियता जोखाइराख्ने उनको बुझाई रहेको छ । किसानका उत्पादनहरुले समयमै उपयुक्त बजार नपाउनु दुर्भाग्य रहेको पुनले उल्लेख गरे । स्थानीय सरकारले संकलन केन्द्र तथा चिस्यान केन्द्रहरु निर्माण गरेर बजारको खोजी गर्न पहल गरिदिनुपर्ने समेत उनले बताए ।

बाँफिकोट गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्र ओलीका अनुसार यसवर्ष बाँफिकोटमा मात्रै ४२.५ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जसमध्य ६.५ मेट्रिकटन सुन्तला धानसँग साटिएको छ भने ३६ मेट्रिकटन सुन्तला बिक्रि भएको तथ्याङक गाउँपालिकामा रहेको छ ।

कृषि शाखा प्रमुख ओलीले सुन्तला उत्पादक किसानले प्रतिकेजि सरदर ५० रुपियाँको दरले बिक्रि गरेको सुन्तलाबाट १८ लाख रुपियाँको आम्दानी गरेको बताए । बाँफिकोट गाउँपालिकाको वडा नम्वर –३ निपाने, वडा नम्वर –६ स्याला, जिप्सिङ, वडा नम्वर –७ को दुलिङगा, वडा नम्वर –८ को दुली, हलबाँधे, वडा नम्वर –९ को झुलागाउँ, वडा नम्वर –१० को जारे, सजे लगायतका टोलमा बढी मात्रामा सुन्तला खेती हुने गरेको छ ।

बजार नपाएपछि सस्तोमै बिक्रि

अहिले रुकुमपश्चिमका विभिन्न बजार क्षेत्रमा प्रतिकिलो ८० देखि एक सय रुपियाँसम्ममा सुन्तला बिक्रि हुने गरेको छ । तर, गाउँमा उत्पादन भएका सुन्तलाहरुले उचित बजार नपाउँदा सस्तोमै बेच्नु परेको किसानहरुको गुनासो रहेको छ ।

चिस्यान केन्द्र नहुँदा किसानलाई जसरी पनि सुन्तला विक्रि गर्नुपर्ने बाध्यता रहेकोले व्यापारीले तोकेकै मूल्यमा सुन्तला दिन बाध्य भएको मुसीकोट नगरपालिका –१० का किसान झुपलाल खड्काले बताए । दाङबाट सुन्तला लिन आएका व्यापारीलाई प्रतिकिलो २५ रुपियाँका दरले बारीका सबै सुन्तला बिक्रि गरेको खड्काले बताए ।

आफ्नो बारीमा फलेका नौ क्विन्टल सुन्तला सोहि दरमा बेचेको उनको भनाई छ । गाउँबाट बजार टाढा रहेको र गाउँमै बिक्रि गर्ने अवस्था नभएपछि सस्तोमै बेच्नु परेको उनलेजनाए । सुन्तला भण्डारण तथा चिस्यानको समस्याको कारण सस्तोमा सुन्तला विक्रि गर्नुपर्ने बाध्यता रहेको मुसीकोट नगरपालिका –१० का वडाध्यक्ष धनबहादुर खड्काले बताए ।

बारीका सुन्तला कुहिएर खेर जानु भन्दा सस्तोमा नै विक्रि गरिएको हो । गाउँमा राम्रो सुन्तला फलेपछि वडाकै पहलमा गाउँमा व्यापारी पुगेका थिए । आगामी दिनमा वडामै चिस्यान केन्द्र बनाउने योजना रहेको वडाध्यक्ष खड्काले उल्लेख गरे ।

चिस्यान केन्द्र नहुँदा सुन्तला : कतै धानसँग साटियो, कतै सस्तोमै बेचियो

मूर्ति चोरिएपछि रित्तिन थाले गुम्बा

चिस्यान केन्द्र नहुँदा सुन्तला : कतै धानसँग साटियो, कतै सस्तोमै बेचियो

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

Leave a comment

Your email address will not be published. Required fields are marked *