अफ्रिकन स्वाईन फिबरसम्बन्धी कार्यशाला
सुर्खेत, २६ माघ ।
बंगुरमा देखिने अफ्रिकन स्वाईन फिबर रोग सम्बन्धी एक दिने चेतनामूलक कार्यशाला विहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । पशुपंक्षी विकास निर्देशनालय सुर्खेतको वार्षिक कार्यक्रम अनुसार कार्यशाला आयोजना गरिएको हो । सुँगुर र बंगुरमा अफ्रिकन स्वाईन फिबर रोग तथा अन्य विभिन्न रोग संक्रमणका लक्षण तथा रोकथामका उपायहरुका बारेमा तीन वटा कार्यपत्र प्रस्तुत गर्दै सरोकारवाला सबैले छलफल गरेका थिए ।
कार्यशालामा रुकुम पश्चिम मुसिकोट नगरपालिका–१ खलंगाबाट आएका बंगुरपालक कृषक जवाहरलाल बुढामगरले फर्ममा पालिएका बंगुर मरेको जानकारी दिए । साना ठूला गरेर ४५ वटा बंगुर मरेपछि ५ लाख बराबरको क्षति भएको उनको दाबी छ । कृषक बुढामगरले फर्ममा रहेका बंगुरमा बिहान दाना खाएको बंगुर अचानक भोलिपल्ट मरेको जानकारी दिए । उपचार नपाउँदा बंगुर मरेको भन्दै उनले पुष २८ देखि यता एक महिनामै फर्ममा लाखौंको क्षति भएको उनले गुनासो सुनाए ।
पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. विकास श्रेष्ठले अफ्रिकन स्वाईन फिबरका लक्षण, रोकथामको उपाय, त्यसको नियन्त्रणका लागि सरोकारवाला निकायको भूमिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका पशु चिकित्सक डा. जीतेन्द्र श्रेष्ठले पशु रोग नियन्त्रण, रोकथामका लागि सरकारी तहबाट भएका नीति, नियम, दायित्वका विषयमा जिम्मेवार व्यक्ति तथा निकायहरुको भूमिकाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका पशु विकास अधिकृत डा. सोबिना मल्लले बंगुरका विभिन्न रोगको संक्रमण, लक्षण, रोकथामका उपायका बारेमा जानकारी गराइन ।
सुर्खेतहित कालीकोट, सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेखका पशु सेवा अस्पताल तथा पशु सेवा कार्यालयका कर्मचारी, सुंगुर तथा बंगुर पालक किसानहरुको सहभागिता रहेको छ । पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक कृष्णप्रसाद पंगनीको अध्यक्षता तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. विकास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।






