निर्वाचनकाे पूर्वतयारी : केन्द्रीय नेताहरु जिल्ला दौडाहमा

सुर्खेत, २८ फागुन ।
यही फागुन १५ गते नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा र उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरु सुर्खेत आए । आउँदो बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको तयारी अन्तगृत कर्णालीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन उनीहरु सुर्खेत आएका थिए ।

प्रशिक्षणको क्रममा नेताहरुले एमालेका उम्मेदवारलाई विजयी बनाउन कार्यकर्तालाई गाउँ–गाउँमामा खटिन निर्देशन दिए । बिहीबार मात्रै नेकपा एकीकृत समाजवादीका नेता डा. गंगालाल तुलाधार पनि सुर्खेत आए ।

जिल्लामा आएको बेला उनले पनि समाजवादीलाई नेताहरुसँग भेटघाट गरे । निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई भने । शुक्रबार मात्रै एमालेका सचिव योगेश भट्टराई पनि यहाँ आइपुगेका छन् ।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु पनि शुक्रबार सुर्खेत आइपुगे । उनले पनि कर्णालीमा अगुवा कार्यकर्तालाई आउँदो निर्वाचनमा जीत हात पार्न निर्देशन दिएका छन् ।

पछिल्लो दुईहप्ता यता विभिन्न पार्टीका केन्द्रीय नेताहरुको सुर्खेत आउनेक्रम चलेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु चुनावमा होमिएका छन् ।

अधिकांश दलले चुनाव लक्षित जिल्ला तथा प्रदेशका कार्यकर्ता र जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन व्यस्त भएका छन् । प्रशिक्षण, कार्यकर्ता भेला र आमसभामा केन्द्रीय नेताहरुलाई भ्याइनभ्याई हुन थालेको छ ।

मतदातालाई प्रभावित पार्ने दलहरुले लोकप्रिय, बैचारिक र युवा नेताहरुलाई जिल्ला दौडाहमा खटाएका छन् । स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका दलहरुले आफ्नो दलले नै जित्ने दाबी गरिरहेका छन् ।  साथै केन्द्रीय तहका नेताहरु नै जिल्लामा आएर निर्वाचनका लागि मतदाता फकाउने उपाय कार्यकर्तालाई सिकाउन थालेका हुन् ।

काँग्रेसले जिल्लाहरुमा पठायो केन्द्रीय नेता
नेपाली काँग्रेसले कर्णाली प्रदेशका सबै जिल्लामा केन्द्रीय नेताहरु खटाएको छ । स्थानीय तहको निर्वाचनका लागि काँग्रेसले कर्णालीका सबै जिल्लामा केन्द्रीय नेताहरुलाई खटाएको हो ।

जसमध्ये सुर्खेतमा मानबहादुर नेपाली, दैलेखमा जानकी सिंह, जाजरकोटमा जीवन राना, कालीकोटमा बाबुराम बस्नेत र हुम्लामा योगेन्द्र शाहीलाई खटाइएको छ ।

त्यस्तै मुगुमा कर्णबहादुर शाही, जुम्लामा कृष्णकिशोर घिमिरे, डोल्पामा डा.गोपाल दहित, सल्यानमा राजिवबिक्रम शाह र रुकुमपश्चिममा शुशिला धिङलाई खटाइएको छ ।

ति नेताहरुले एक महिनासम्म जिल्लामा स्थानीय निर्वाचन लक्षित अभियान चलाउनेछन् । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका साथ काँग्रेसले केन्द्रीय नेताहरु जिल्लाहरुमा खटाएको हो ।

‘आधार इलाका’ जोगाउन प्रचण्डको निर्देशन
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कर्णालीका नेता तथा कार्यकर्ताहरुलाई आधार इलाका जोगाउन निर्देशन दिएका छन् ।

‘कर्णाली प्रदेश हाम्रो आधार इलाका हो, यो प्रदेशमा अरुभन्दा हामी बलियो छौँ’ प्रचण्डले भने, ‘आउँदो चुनावमा हाम्रो उम्मेदवारलाई जिताउँदै आधार इलाका जोगाउनोस् ।’ स्थानीय चुनाव नजिकिएको भन्दै प्रचण्डले पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्र्रीत हुनुपर्ने बताए ।

‘चुनावको मिति आउन थोरै समय बाँकी छ, अहिलेदेखि नै तयारी नगरे हामी पछि पर्छाैँ’ प्रचण्डले भने, ‘स्थानीय चुनाव नहुँदासम्म अब पार्टीको सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत हुनुपर्छ ।’ उनले कर्णालीका सबै स्थानीय तहमा जित्नेगरी तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रचण्डले कर्णालीका नेता र कार्यकर्ताहरुको प्रसंशासमेत गरे । अघिल्लो निर्वाचनमा माओवादी देशभर कमजोर हुँदा कर्णालीमा प्रदेश र स्थानीय तहमा भने दोस्रो दल बनेको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी २५ प्रमुख र २६ उपप्रमुखसहित एक हजार एकसय ४४ पदमा विजयी भएको थियो ।

राप्रपा अध्यक्ष लिङ्देल सुर्खेतमा
आज शनिबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु सुर्खेत आएका छन् । राप्रपा सुर्खेतले आयोजना गरेको आमसभालाई सम्बोधन गर्न नेताहरु सुर्खेत आएका हुन् ।

राप्रपाले आज शनिबार वीरेन्द्रनगरमा चुनावी तयारीका लागि आमसभा गर्दैछ । सोही सभालाई राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशम्सेर जवरा, महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेद्र शाही लगायतका नेताहरुले सम्बोधन गर्ने राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीले जनाए ।

कांग्रेससँग ताकत छ भने एक्लै चुनाव आवस : एमाले नेता भट्टराई
नेकपा एमालेका युवा नेता योगेश भट्टराईलाई सल्लीवजारमा स्वागत गरिएको छ । नेकपा एमाले बनगाड कुपिण्डे नगरपालिका एमाले पार्टीद्वारा आयोजित भेटघाट तथा छलफल कार्यक्रम सल्लीबजारमा युवा नेता भट्टराईलाई स्वागत गरिएको छ ।

आफ्ना कार्यकर्ता माझ देशको समसामयिक विषयमा धारणा राख्दै भट्टराईले पार्टी कामको शिलशिलामा जाजरकोट, डोल्पा जाने क्रममै सल्लीका नेता कार्यकर्तासँग भेटघाट भएकोमा खुशी व्यक्त गरे । विधमान राजनीति परिघटना र स्थानीय चुनावका विषयमा भने फेरी पनि एमालेले देशमा चुनाव जित्ने दावी गरे ।

छोडेर गएका साथीहरु निकट छिट्टै फर्किने कुरामा उनको भनाइ रहेको थियोे । गठबन्धन भन्दा पनि नेपाली कांग्रेससँग ल्याकत छ भने एक्ला एक्लै चुनावी मैदानमा आवस धेरै नन्दिभिरिङि बोकेर होइन सिंगल सिंगल आवस भट्टराईको अह्वान रहेको छ । सिंगल सिंगल चुनाव आउने ताकत देशको राजनीति हालका कुनै शक्तिसँग छैन त्यो केवल एमालेसँग मात्रै छ ।

एमसीसीका विषयमा भने एमालेको न समर्थन छ न विरोध छ । एमसीसी कार्यान्वयन कसरी हुन्छ त्यसपछि मात्रै प्रतिक्रिया हुने जनाएको छ । सहि ढंगले भएमा सकारात्मक रुपमा लिइन्छ होइन भने एमाले खारेजको कित्तामा लाग्छ र त्यो ३० दिन भित्र खारेजी पनि हुन्छ । कार्यकर्तालाई चुनावी महोलमा लाग्न नेता भट्टराईको आव्हान छ ।

निर्वाचनकाे पूर्वतयारी : केन्द्रीय नेताहरु जिल्ला दौडाहमा

घुयँत्राे : मतपत्रभित्र रुखैरुख उम्रेर सूर्यलाई ढाक्ने

निर्वाचनकाे पूर्वतयारी : केन्द्रीय नेताहरु जिल्ला दौडाहमा

सल्लीवजारका युवाहरुले गरे बजार सरसफाई

Leave a comment

Your email address will not be published. Required fields are marked *