टेलिकमको फाईबर इन्टरनेट जडानपछि मालपोत सेवामा सहज

राजेन्द्र कार्की, मुगु । मालपोत कार्यालय मुगुमा नेपाल टेलिकमको उच्च गतिको फाइवर इन्टरनेट जडान भएको छ । कर्णाली प्रदेशको दुर्गम तथा हिमाली जिल्ला मुगुमा इन्टरनेटको गतिलो पहुँच नहुदा सेवाग्राही मर्कामा पर्दै आएका थिए ।
यसअघि इन्टरनेट प्रदायक संस्था सुबिसुको इन्टरनेट जडान भएपनि हिमपातले गर्दा रिपीटेड टावरमा आउने समस्याका कारण कार्यालय बाट प्रदान गरिने LRIMS सेवा अबरुद्ध हुँदै आएको थियो ।
मालपोत कार्यालयका कार्यालय प्रमुख जगत बहादुर रोकायाका अनुसार जिल्लामा रहेको एकमात्र सरकारी इन्टरनेट प्रदायक संस्था नेपाल टेलिकमले उच्च गतिको फाईबर लिज लाईन जडान नगरिदिदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको थियो ।
तर, अब टेलिकमले फाइवर जडान गरिदिएपछि सेवा प्रवाहमा सहजता आउने बताए । कार्यालय प्रमुख रोकायाको निरन्तर प्रयासपछि फाइवर इन्टरनेट सेवा सुरु भएको हो ।






