राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पाउने देशभरीका ४१५७ विद्यालयको नामावली

सुर्खेत, ६ फागुन ।
सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्राप्त आवेदनका आधारमा कर्णालीका ४ सय ७७ सार्वजनिक विद्यालय छनौट गरेको छ ।
कर्णालीका ११० विद्यालयमा चारकोठे भवन, १३८ मा दुईकोठे भवन, २२५ विद्यालयमा आईसीटी ल्याब, प्राविधिक ल्याब दुई र नयाँ प्राविधिक विद्यालय स्थापना दुई छनोट भएका हुन् ।
सरकाले देशभरका चार हजार १५७ सार्वजनिक विद्यालय छनौंट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्यालय छनौट गरेको हो ।
छानिएकामध्ये चारकोठे भवन ९७६, दुई कोठे भवन ९६६, आईसीटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ ।
मन्त्री पौडेलका अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय ३६ लाख, दुईकोठे भवन निर्माणका लागि १८ लाख, आईसीटी ल्याब व्यवस्थापनका लागि छ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २१ विद्यालयलाई ७० करोड ५९ लाख छ हजार दिइनेछ ।
गएको आर्थिक वर्षमा ल्याब व्यवस्थापनका लागि छुट विद्यालयका लागि अनुदान १४ विद्यालयका लागि ३३ करोड ६० लाख र प्राविधिक धार सञ्चालित विद्यालयमा ल्याब सुदृढीकरण तथा स्तरोन्नतिका लागि अनुदान ८८ विद्यालयलाई ८८ करोड रकम छुट्याइएको छ ।
राष्ट्रपति शैक्षिक सुधारका लागि सात अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ । विद्यालय छनोट गरी बाँकी एक अर्ब ३८ करोड रकम बाँकी रहेका स्थानीय तहका विद्यालयमा छुट्याइने शिक्षामन्त्री पौडेलले बताउनुभयो ।
देशका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले प्रस्ताव पठाएका थिए । जसमा सात हजार ९८६ विद्यालयले भवन निर्माण, चार हजार २३५ विद्यालयले आईसीटी ल्याब, ११७ विद्यालय नयाँ प्राविधिक धार, प्राविधिक विद्यालय ल्याब व्यवस्थापन १८८ र घेराबार खेलमैदानमा ९४७ विद्यालयले आवेदन दिएका थिए ।
देशभरमध्ये प्रदेश नं १ मा सबैभन्दा धेरै विद्यालयका भवन निर्माण हुने भएका छन् । प्रदेशगत वितरणअनुसार प्रदेश १ मा १९८ विद्यालयमा चारकोठे भवन, १७९ विद्यालयमा दुईकोठे भवन, ३४९ विद्यालयमा आईसीटी व्यवस्थापन, २४ विद्यालयमा प्राविधिक ल्याब र नयाँ प्राविधिक विद्यालय स्थापनामा सात विद्यालय छनोट भएका छन् ।
यस्तै लुम्बिनी प्रदेशमा १९५ विद्यालयमा चारकोठे भवन, १३७ विद्यालयलमा दुईकोठे भवन, आईसीटी ल्याब व्यवस्थापनमा २८१ विद्यालय, प्राविधिक ल्याब १८ विद्यालयमा र नयाँ प्राविधिक विद्यालय स्थापना तीन विद्यालय छनौंट भएका हुन् ।
कर्णालीका ४७७ सहित देशभरीका विद्यालयको विवरण (यो विवरण फाइल ठुलो भएकाले कम्प्यूटरबाट मात्रै हेर्न, डाउन्लाेड, उतार गर्न सकिनेछ)






