‘कृषिलाई प्राथमिकता दिएर बजेट लगानी गरेका छौं’

तिलकबहादुर मर्साङ्गी
वडाध्यक्ष, बराहताल गाउँपालिका–५, सुर्खेत
गाउँका सिंहदरबार भनिने स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको पाँच बर्षको कार्यकाल अब सकिदैछ । नयाँ नेतृत्व चयन गर्नका लागि सरकारले आउँदो बैशाख ३० गते निर्वाचन तोकिसकेको छ । संघीयता कार्यान्वयन भएको पहिलो कार्यकालमा निर्वाचित जनप्रतिनिधिहरुले यो अवधिमा नागरिकका चाहना र अपेक्षाहरु पूरा गरेको दाबी गरिरहेका छन् । तर नागरिकले भने अपेक्षाअनुसार काम हुन नसकेको गुनासो गरिरहेका छन् । आखिर हालका जनप्रतिनिधिहरुले यो अवधिमा के प्रगति गरे ? चुनावको बेला जनतासँग गरेका बाचाहरु पूरा भए त ? यो अवधिमा सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ५ मा कस्ता काम भए ? यीनै विषयमा केन्द्रीत रहेर बराहताल गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष तिलकबहादुर मर्साङ्गीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
हिजोआज के गर्दै हुनुहुन्छ ?
म हिजोआज गाउँमा जनताको सेवा र समस्या समाधान गर्ने काममा नै व्यस्त छु । अहिले हाम्रो गाउँपालिकाको हिउँदेसभा बस्ने तयारी छ । म सामाजिक विकास समितिको अध्यक्षको हैसियतले त्यसमा पनि लागिरहेको छु ।
बाँकी ऐन र कानुन बनाउनेगरी लागेका छौं । समग्रमा भन्दा जनतासँगको भेटघाट, जनताको अवश्यकता कसरी पुरा गर्न सकिन्छ भनेर हामी लागिरहेका छांै ।
वडामा विकासको अवस्था कस्तो छ ?
हाम्रो वडामा धेरैजसो योजनाहरु सम्पन्न भएका छन् । बाँकी योजना पनि अहिले चलिरहेका छन् । वडा कार्यालयको भवन निर्माण हुँदै छ । मंगलबार मात्रै भवनको शिलान्यास गरिएको छ ।
बड्डीचौरमा सडकको डीपीआर भइसकेको छ । किसानको खेतबार ीसम्म पुग्नेगरी विभिन्न कुला पनि निर्माण भइरहेका छन् । धार्मिक तथा पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणको काम पनि भइरहेको छ । अन्य क्षेत्रमा पनि कामहरु चलिरहेका छन् । ठुला विकासको कामको लागि हामीले प्रदेश र केन्द्र सरकारसँग पनि समन्वय गरिरहेका छांै ।
यसपटकको बजेटका प्राथमिकता के छन् ?
यो आर्थिक बर्षको बजेटमा हामीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेका छांै । हाम्रो वडामा कृषि उत्पादनको दृष्टिकोणले धेरै उर्वर भूमि हो ।
त्यसैले पनि हरेक किसानलाई उत्पादनमा जोड्न र र गाउँलाई आत्मनिर्भर बनाउन सिंचाइ कुलाका कामहरु भइरहेका छन् । कृषिमा नै हामीले पहिलो प्राथमिकता दिएर काम गरिरहेका छांै । अन्य साना योजनाहरुको कामको लागि पनि बजेट छ ।
काम गर्दा कस्ता चुनौती भोग्नुभयो ?
स्थानीय सरकार भनेको आँगनको सरकार हो । जनताको नजिकैको सरकार भएपछि जनताको पहिलो सेवा लिने ठाउँ पनि स्थानीय सरकार नै हो ।
वडामा सानो बजेट हुने र आवश्यकता भने धेरै हुँदा सबै क्षेत्र, समुदाय र वर्गलाई समेट्न धेरै चुनौतीको सामाना गर्नुपर्यो । विशेषगरी जनताका भने जतिका आवश्यकता सबै पुरा गर्न नसक्दा दबाव खेप्नुपर्यो ।
अर्कोतर्फ विकासका काम गर्दा विवादको कारण केही चुनौती आउँदो रहेछ । तर चुनौतीकाबीच पनि जिम्मेवार तहमा आएपछि काम त गर्नु नै पर्छ नी हैन र ?
तपाइँको वडामा मुख्य समस्या के छन् ?
मेरो वडाका मुख्य समस्या भनेको त सडकको समस्या नै हो । हाम्रो वडा भौगोलिक रुपले पिछडिएको छ । यद्यपि तल्लो भेगमा त बाटो लैजान सहज नै छ ।
यहाँ बाटोहरु ग्राभेल भइरहेका छन् । माथिल्लो भेगमा भने सबै ठाउँमा बाटो पुगे पनि भौगिलक विकटताका कारण बाह्रै महिना गाडी चल्ने बाटो बनाउन सकिएको छैन ।
त्यससँगै शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि मानिसहरु पछाडी पर्नु परेको छ । यो पनि भौगोलिक समस्याकै कारण हो । मुख्य समस्या भनेकै यही हो ।
रोजगारी सिर्जना गर्ने योजना के छन् नी ?
प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत ३० जनाभन्दा धेरैले नियमित काम पाइरहेका छन् । केही व्यक्तिहरु यही कार्यक्रममार्फत रोजगार बन्नुभएको छ ।
हाम्रो लक्ष्य के हो भने रोजगारी होइन, स्वरोजगार हुनुपर्छ भन्ने हो । त्यसलाई मध्यनजर गरेर हामीले शिक्षामा पनि कमाउँदै पढ्दै कार्यक्रम हाम्रै वडाको विद्यालयबाट शुरु गरेका छांै । अहिले यो कार्यक्रम देशभर नै लागु गरिएको छ ।
कृषिमा आत्मनिर्भर नभएसम्म हामीले समृद्धि हासिल गर्न सक्दैनौं भन्ने हेतुले हामीले कृषि क्षेत्रमा आम युवाहरुलाई आकर्षित गर्न विभिन्न कार्यक्रम संचालन गर्दै आएका छौं ।
जस्तै हाते ट्याक्टर प्रदान गर्नेदेखि घाँस काट्ने मेसिन दिनेसम्मका काम गरेका छौं । त्यससँगै पशुपालनको लागि विभिन्न कार्यक्रमहरु संचालन गरेका छौं ।
सँगै हामीले हाउसवाइरिङ, पलम्बरका तालिम पनि दिएर केही युवाहरुलाई आफै गरिखाने गराएका छांै । तथापि यो सबै पर्याप्त नहोला । हाम्रो क्षमताले सकेसम्म हामीले धेरै काम गरेका छौं ।
जनतासँग गरिएका बाचा पुरा भए त ?
मैले निर्वाचन ताका गरिएका प्रविवद्धता करिब पुरा भएका छन् । केही कामहरु अहिले पनि चलिरहेका छन् । अब हाम्रो कार्यकाल पनि सकिदैँ छ । त्यो अवधिसम्म हामीले जनताको बिचमा गरेका बाचा पुरा गर्छौं ।
तपाइँ आएपछि वडामा मुख्य परिवर्तन के भयो ?
वडामा धेरै परिवर्तन भएको छ । सबै टोलमा सडकहरु पुगेका छन् । यद्यपि ति सडकहरुलाई बाह्रै महिना चल्ने बनाउनु छ । शिक्षामा पनि धेरै सुधार भएका छन् । विद्यालय भवनहरु पक्की बनेका छन् ।
खानेपानीका समस्या समाधान भएको छ । भने सिंचाइ केही समयमा पुर्याउने गरी लागेका छांै । स्वास्थ्यमा पनि हामीले धेरै सुधार गरेका छांै ।
हामीले चेपाङ्गमा सामुदायिक स्वाथ्य इकाइ बनाएर बड्डीचौर आउनुपर्ने त्यहाँका नागरिकको समस्यालाई समाधान गरेका छांै । समग्रमा विगतको भन्दा धेरै परिवर्तन भएको छ ।






