‘छाक टार्नै मुश्किल हुन्छ, दशैं कसरी मनाउनु ?’


सुर्खेत, २६ असोज । आफन्तले घर भरिन्थ्यो । टिका र आर्शिवाद थाप्नेको भीड हुन्थ्यो । बेलुकी आँगनमा नाचगान पनि चल्थ्यो । आठ बर्ष अघिसम्म सुर्खेतको बराहताल गाउँपालिका–२ गिरीघाटकी सिर्जना विकको घरमा दशैंले यस्तै उमंग ल्याउँथ्यो । तर २०७१ सालयता उनका लागि दशैंमा कुनै उमंग नै आएको छैन । ‘ दशा लागेको मान्छेलाई के को दशैं ?’ उनी भन्छिन्, ‘बाढीपीडित भएदेखि हाम्रो लागि दशैं आएकै छैन ।’
२०७१ साल साउन ३० गते आएको बाढीले सिस्नेरीको घरजग्गा बगायो । बस्ती नै बगेपछि परिवारसहित थातथलो छोडेर गिरीघाटको सडक छेउमा बस्दै आएका छन् । बाढीपीडित भएदेखि दशैंले खुशी ल्याउन सकेको छैन । दशंै–तिहारमा आफन्तहरु नै आउन छोडिसकेका छन् । ‘पहिले पो ठूलो घर थियो, मिठोमसिना पाक्थ्यो । आफन्तसँग भेटघाट हुन्थ्यो’ उनी भन्छिन्, ‘अहिले त न घर छ, न मिठोमसिनो नै खान सकिन्छ ।
हाम्रो दुख देखेर आफन्तहरु नै आउन छोडिसक्नु भयो ।’ सिर्जनाले शिविरमै सात वटा दशैंलाई विदा गरिसकेकी छिन् । ‘साँझ र विहान के खाने भन्ने चिन्ताले सताउँछ’ गिरीघाटस्थित अस्थायी शिविरमा बस्दै आएका हरिलाल तारामी भन्छन्, ‘पेट भर्नै मुस्कील भएको बेला के को दशै ंआउथ्यो ?’ बाढीपीडित भएदेखि हरेक दशैं दशा बनेर आउने गरेको उनको अनुभव छ । ‘दशंै भनेको त माछामासु खाने र नयाँ लुगा लगाउने पर्व हो’ उनी भन्छन्, ‘मिठोमसिनो खान नपाएपछि दशैं आएजस्तो लाग्दैन ।’ नियमित आम्दानीको स्रोत नहुँदा उनलाई साँझ विहानको छाक टार्न धौ–धौ पर्छ ।
‘पहिले त एक विगाह जग्गा थियो, के खाने भनेर चिन्ता हुन्थेन’ उनी भन्छन्, ‘अहिले सबथोक किनेर खानपर्छ, पैसा नभएपछि दशैं मनाउने कुनै योजना छैन ।’ २०७१ सालको बाढीले सबैथोक गुमाएपछि उनी डोप्काबाट गिरीघाट आएका हुन् ।
‘मिठोमसिनो खाने सके पो दशैं आएजस्तो हुन्छ, हाम्रो लागि दशैं पनि दशा हो’ गिरीघाटमा बस्दै आएकी रत्ना विक भन्छिन्, ‘बाढीपीडित भएदेखिका हरेक चाडपर्वहरुमा पीडा मात्रै हुन्छ ।’ सबै आफन्तहरु नआउने र मिठो मसिनो खान नसक्ने भएपछि दशैं–तिहार खल्लो हुने उनको अनुभव छ । नजिकका आफन्तहरु आए पनि टिका लगाएर फर्कन्छन् ।
जसले गर्दा शिविरमा रमाइलो हुँदैन । ‘ आउनैपर्ने आफन्तहरु बाध्यताले आउँछन्, दक्षिणा त दिनै सकिदैन । खाली हात टिका थाप्न पनि सबै आउँदैनन्’ उनी भन्छिन्, ‘बस्ने ठाउँ नभएपछि एकै छिनमा फर्किहाल्छन्, आफन्त नभएपछि रमाइलो हुँदैन ।’
चाडपर्वमा छोरीछोरीले नयाँ लुगा खोज्ने गरेको भन्दै उनले किनिदिन नसकेपछि पीडा हुने गरेको सुनाइन् । उनले यो दशंैमा पनि छोराछोरीका लागि नयाँ लुगा किनिदिन सकेकी छैनन् । कमाउन भारत गएका श्रीमान् फर्किएका छैनन । ‘भारतबाट श्रीमान् आएपछि छोराछोरीले नयाँ लुगा किनिदिने सोचेकी छु, आफूसँगै पैसा छैन’ उनी भन्छिन्, ‘श्रीमान् पनि दशैंमा आउने नआउने ठेगाना छैन ।’
उनले पनि गट्टी बालुवा र दाउरा बिक्री गरेर साँझविहानको छाक टार्दै आएकी छिन् । गिरीघाट शिविरकै खगिसरा विकलाई भने दशैं दशा बनेको छ । केही दिनअघि मात्रै नातीको मृत्यु भएको छ । दुखले घेरिएको बेला उनलाई दशैंले छोएको छैन । ‘यो साल मलाइ दशा लागेको छ, कसरी दशंै मनाउनु’ उनी भन्छिन्, ‘शिविरमा आएदेखि दुःखले छोडेको छैन, मैले त दशैं नै मनाउन विर्सिँसके ।
’ सिर्जना, हरिलाल, रत्ना र खगिसरा मात्रै होइन, दशैंले सुर्खेतका सबै बाढीपीडिलाई छोएको छैन । मिठोमसिनो खान सक्ने नभएपछि दशैंको उल्लास पनि छैन । अधिकांश पीडितले गिट्टीबालुका र दाउरा बिक्री गरेर दैनिकी चलाउँदै आएका छन् । तर पछिल्लो दुई बर्षदेखि कोरोनाका कारण गिट्टीबालुवा पनि बिक्री भएको छैन ।
यहीकारण साँझ–विहानको छाक टार्न उनलाई मुस्कील छ । यस्तो अवस्थामा दशैंले खुशी ल्याएको छैन । २०७१ सालको बाढीबाट सुर्खेतका एकहजार ४५ घरपरिवार विस्थापित भएका थिए । तिमध्ये हालसम्म चारसय ५४ घरपरिवार विभिन्न शिविरमा बस्दै आएका छन् । विस्थापित भएदेखि पीडितहरुले खुशीले चाडपर्व मनाउन पाएका छैनन् ।





