भेरी–बबई आयोजनाको दोस्रो चरणको निर्माण निराशाजनक

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा अहिले दोस्रो चरणको काम चलिरहेको छ । दोस्रो चरण अन्र्तगत हेडवक्स र पावरहाउस निर्माण पर्दछ ।
जसमा आयोजनाको बाँधस्थल सुर्खेतको भेरीगंगास्थित चिप्लेमा स्वचालित गेट, पेनस्टक, स्टिल लाइनिङ जस्ता काम गर्नु पर्दछ । यस्तै बबईमा विद्युत्गृह, टर्बाइन, विद्युतीय उपकरण र सवस्टेशन लगायत कामहरु गर्नुपर्छ ।
यो काम गर्ने अवधि ४८ महिनाको हो । तर दोस्रो चरणको काम सुरु भएको दुई वर्ष पुरा भइसकेको छ । २०७६ साउन १५ गतेदेखि चिनिया कम्पनीसहित रमण जेभीले निर्माणको जिम्मा लिएका छन् । सम्झौता अनुसार दुई कम्पनीले अबको दुई वर्ष अर्थात २०८० भित्र यो काम सम्पन्न गरी सक्नुपर्ने हुन्छ ।
कुल ६ अर्ब १६ करोड ५२ लाखमा निर्माणको ठेक्का लिएका कम्पनीहरुको दोस्रो चरणको प्रगति भने निराशाजनक छ । काम सुरु भएको दुई वर्ष पुगिसक्दा पनि दुई कामको प्रगति जम्मा ३० प्रतिशत मात्रै भएको हो । समयका हिसाबले ५० प्रतिशत अर्थात् दुई वर्ष बितिसकेको छ । तर भौतिक प्रगति भने ३० प्रतिशत मात्रै भएको आयोजनाले जनाएको छ ।

यसरी हेर्दा बाँकी रहेको दुई वर्षमा आयोजनाको ७० प्रतिशत काम सक्नुपर्ने दबाव छ । यद्यपी तोकिएको अवधिमा काम नसकिए समय थप्नुको विकल्प छैन । एक चौथाई मात्र समय बाँकी रहँदा कामको प्रगति भने ५० प्रतिशत पनि भएको छैन । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अविनाशी सिग्देलका अनुसार हालसम्म आयोजनाको कुल भौतिक प्रगति भने ४८ प्रतिशत मात्रै भएको छ ।
‘अहिलेसम्म आयोजनाको कुल भौतिक प्रगति ४८ प्रतिशत मात्रै भएको छ’ उनले भने, ‘कोरोना महामारीका कारण दोस्रो चरणको काम त मुश्किलले ३० प्रतिशत भयो ।’ कोरोना महामारीका कारण दोस्रो चरणको सुरुवातमै आयोजनाको काम प्रभावित भएको थियो । ‘सुरुवाती चरणमा महामारीले ठूलो असर ग¥यो, मजदुरहरु संक्रमित भए ।
यहीकारण कामले गति लिन सकेन’ उनले भने, ‘तोकिएकै समयमा आयोजना सम्पन्न गर्न काम भने रोकेनौँ, तर निर्माण सामग्री र सबै मजदुर काममा खटाउन नसक्दा प्रगति कम भयो ।’ कोरोना महामारीको पहिलो र दोस्रो चरणमा पनि आयोजनाको काम रोकिएको थिएन ।
तर निर्माण सामग्रीको अभाव भएको थियो । निर्माण कम्पनी नै बन्द भएपछि सरिया, सिमेन्ट जस्ता अत्यावश्यक निर्माण सामग्रीको अभाव भएको थियो । यहीकारण दोस्रो चरणको काम सन्तोषजनक रुपमाले अगाडि बढ्न नसकेको आयोजनाले जनाएको छ ।
यद्यपी तोकिएकै समयमा काम सम्पन्न गर्ने पर्यत्न जारी राखेको आयोजनाले जनाएको छ । पहिलो चरणमा तोकिएको समयावधिभन्दा अगाडि नै काम सम्पन्न गरेर आयोजनाले चर्चा बटुलेको थियो । नेपालमा पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरी सुरुङ निर्माण भएको आयोजनाको ठेक्का सम्झौता रकम १० अर्ब ५६ करोड ९७ लाख मध्ये नौ अर्ब ९२ करोड ८४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
अहिलेसम्म आयोजनाको १२.२० किलोमिटर लामो र ४.२० मिटर व्यास भएको सुरुङ निर्माण भइसकेको छ । आयोजना सम्पन्न भएपछि बाँके र बर्दियामा सिचाइँ सुविधा पुग्नेछ भने विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
प्रभावित क्षेत्रमा ऐलानी जग्गाको मुआब्जा वितरणमा ढिलाइ
भेरी बबई आयोजना सञ्चालन हुँदा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकवेशीको ३२ हेक्टरभन्दा बढी जग्गा डुवानमा पर्छ । जसमध्ये झण्डै २३ हेक्टर जग्गा ऐलानी छ । तर आयोजना सञ्चालनमा आएको लामो समय भइसक्दा पनि ऐलानी जग्गाको मुआब्जा दिएको छैन ।
२२ दलमलव ८१ हेक्टर ऐलानी जग्गाको मुआब्जाको बारेमा आवश्यक कार्यविधि समेत बनेको छैन । ऐलानी जग्गा धनीलाई के–कति मुआब्जा रकम दिने भनेर निर्धारण नटुङ्गिएका कारण मुआब्जा वितरण गर्न नसकिएको आयोजनाले जनाएको छ ।
मुआब्जा निर्धाणको लागि आयोजनाले विभागमा फाइल पेश गरेको छ । मन्त्रिपरिषद्ले मुआब्जा रकम निर्धारण गरेपछि छिट्टै ऐलानीलाई समेत मुआब्जा वितरण गर्ने आयोजनाले जनाएको छ । डुबानमा पर्ने ऐलानी जग्गा मध्ये साढे ६ हेक्टर जग्गाको फिल्डबुकमा दर्ता भएका छन् ।
तर लालपुर्जा प्राप्त गरेका छैनन् । कुल जग्गा मध्ये झण्डै दुई हेक्टर जग्गाको दर्तासमेत भएको छैन । तर लामो समयदेखि प्रभावितहरुले भोगचलन गर्दै आएका छन् । आयोजनाले हालसम्म झण्डै नौ हेक्टर जग्गाको मात्रै मुआब्जा वितरण गरेको छ ।






