बजेट सक्न गुरुयोजना कुल्चेर खुलामञ्चलाई पार्क बनाइँदै !
सुर्खेत । सुर्खेत उपत्यकाको गुरुयोजना कुल्चेर वीरेन्द्रनगर नगरपालिकाले खुलामञ्चलाई पार्क बनाउन थालेको छ । गुरुयोजना विपरित असारे बजेट सक्न नगरपालिकाले रातारात खुलामञ्चलाई पार्क बनाउन लागेको हो । पार्क बनाउने नाममा नगरपालिकाले खुलामञ्चमा एक करोड बजेट सक्ने तयारी गरेको छ ।
विस २०३६ सालमा खुलामञ्चकै लागि तत्कालीन उपत्यका नगर विकास समितिले व्यक्तिहरुको जग्गा अधिग्रहण गरेको थियो । उपत्यका विकासको गुरुयोजनामा जिल्ला समन्वय समितिको कार्यालय अगाडि रहेको खुलामञ्जलाई सार्वजनिक खुला मैदानमा रुपमा विकास गरिने उल्लेख छ ।
यस्तै गुरुयोजनामा नगरपालिकाको ठिक तल्लो भागमा रहेको खुला स्थानलाई सिटीपार्क बनाउने उल्लेख छ । तर वीरेन्द्रनगर नगरपालिकाले भने उक्त गुरुयोजना कुल्चदै जिसस अगाडिको खुलामञ्चमा पार्क बनाउन थालेको हो । पार्क बनाउन भन्दै रातारात काम पनि भइरहेको छ ।
वीरेन्द्रनगरको यो खुलामञ्च नागरिकको सहज पहुँच हुने स्थान हो । मेला महोत्सवदेखि सार्वजनिक कार्यक्रमका लागि खुलामञ्च एउटा मात्रै विकल्प हो । किनकी वीरेन्द्रनगरमा ठूला आमसभा, चाडपर्व, महायज्ञ र मेला महोत्सव गर्नका लागि अरु खुला स्थान छैनन् । भूकम्प, बाढीपहिरो र महामारीजस्ता आपत्त विपद्मा पनि खुलामञ्च सहारा हो ।
एकै पटक हजारौं नागरिक अटाउन सक्ने खुलामञ्च वीरेन्द्रनगरका लागि नभई नहुने सार्वजनिक स्थान हो । तर नगरपालिकाले असारे बजेट सक्न यही स्थानमा पार्क बनाउन थालेको छ । जसको सर्वत्र विरोध भइरहेको छ । बढ्दो शहरीकरण र जनघनत्वका कारण खुलामञ्च जस्ता स्थलहरु वीरेन्द्रनगरवासीका लागि अपरिहार्य छन् ।
उपत्यका नगर विकास समितिले बनाएको गुरुयोजनाविपरित नगरपालिकाले खुलामञ्चलाई पार्क बनाउन थालेको हो । नगर विकास समितिको दायित्व पनि हाल नगरपालिकाकै काँधमा छ । यस हिसावले पनि गुरुयोजना कार्यान्वय गर्नु र गराउनु नगरपालिककै पहिलो दायित्वभित्र पर्दछ । तर अरुलाई गुरुयोजना कार्यान्वयन गराउने निकाय आफैले गुरुयोजनाविपरित खुलामञ्चलाई पार्कका रुपमा परिणत गर्न सुरु गरेको हो । खुलामञ्चमा पार्क निर्माणका लागि नगरपालिकाले खुलामञ्चको वरिपरि घेरबार गरिसकेको छ ।
असारे बजेट सिध्याउने उद्देश्यले नगरपालिकाले खुलामञ्च मासेर पार्क बनाउन थालेको हो । संघीय सरकारको वन तथा वातावरण मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त लगानीमा करिव एक करोड रुपैयाँ बराबरको लागतमा खुलाचौरमा पार्क निर्माण निर्माण गर्न थालिएको हो । असार सकिनै लाग्दा उक्त बजेट सक्नैपर्ने बाध्यता छ ।
यही कारण नगरपालिकाले खुलामञ्चललाई हताहतारमा बन्द गरिसकेको छ । अबको केही दिनमै खुलामञ्चको भित्री भागमा बृक्षारोपन गर्ने नगरपालिकाको तयारी छ । कम्पाउण्ड वालको बाहिर र भित्र रुख रोप्ने योजना अनुसार नै कम्पाउन्डको बाहिरी भागमा बिरुवा रोपिएका छन् । अब छिट्टै कम्पाण्डको भित्री भागमा बृक्षारोपणको तयारी गरिएको छ । भित्री र बाहिरी भागमा बृक्षारोपन गर्ने र बीच भागमा पार्क बनाइने नगरपालिकाले जनाएको छ ।
‘पार्क होइन, सुविधायुक्त मञ्च हो’
वीरेन्द्रनगर नगरपालिकाले भने खुलामञ्चलाई पार्क नभई सुविधायुक्त मञ्च बनाउन लागिएको दाबी गरेको छ । ‘गुरुयोजना कुल्चेर पार्क बनाउन लागेका होइनांै, बरु खुलामञ्चलाई व्यवस्थित र सुविधायुक्त बनाउन लागेका छौं’ नगर प्रमुख देवकुमार सुवेदीले भने, ‘पार्क भनेर हल्ला फिजाइयो, यो पार्क होइन, खुल्ला मञ्च नै हो ।
यसलाई केही व्यवस्थित मात्रै गर्न लागेको हौँ ।’ मञ्चलाई पार्क नभई हरियालीसहितको खुलामञ्चका रुपमा विकास गरिने उनको दाबी छ । ‘कार्यक्रम गर्दा दर्शकहरु सितल छहारीमा बस्न मिल्ने हिसावले केही विरुवाहरु रोप्ने योजना छ’ उनले भने, ‘मर्निङ्वार्क गर्न मिल्ने गरी मञ्चलाई व्यवस्थित मात्रै गर्न थालेको हौँ ।’ बढ्दो शहरीकरणले वायुप्रदुषणलाई कम गर्नेगरी हरियाली वातावरणसहितको मञ्च बनाउने उनको भनाइ छ ।
‘खुलामञ्चलाई खुला नै छोडौं’
गुरुयोजनाविपरित खुलामञ्चलाई खुल्लै छोड्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । सुर्खेत उपत्यका नगर विकास समितिका पूर्वइन्जिनियर चेत अधिकारीले खुलामञ्चलाई सबैको सबैका लागि खुला छोडिनुपर्ने बताए । ‘खुलामञ्चलाई पार्क बनाउनु गुरुयोजनालाई कुल्चने प्रयास हो’ उनले भने, ‘खुलामञ्चलाई सबैका लागि सधंै खुल्ला छोडिनुपर्दछ ।
सबै नागरिकको सहज पहुँच र वीरेन्द्रनगरवासीका लागि अत्यावश्यक भएका कारण खुलामञ्चलाई खुल्लै छोडिनु उपयुक्त हुने उनको तर्क छ । नगरपालिकालाई पार्क नै चाहिएको भए नगरपालिकाको ठिक तल्लो भागमा रहेको खुलाचौरमा पार्क बनाउन उनले सुझाव दिए ।
‘गुरुयोजनामा नगरपालिकाको कार्यालयभन्दा तल्लो भागको खुला चौरलाई सिटीपार्क बनाउनका लागि छुट्याइएको छ’ उनले भने, ‘नगरपालिकालाई पार्क नै चाहिएको भए त्यहाँ सिटी पार्कमा निर्माण गर्दा हुन्छ ।’ सार्वजनिक कार्यक्रम स्थलका लागि छुट्याएको क्षेत्रलाई पार्क निर्माण गरेर कुरुप (साँघुरो) बनाउन नहुने उनको तर्क छ ।
उपस्थित हुन अदालतको आदेश
उच्च अदालत सुर्खेतले खुलामञ्चलाई पार्क बनाउनुपर्ने कारणसहित नगरपालिकालाई अदालतमा उपस्थित हुन आदेश दिएको छ । गुरुयोजना विपरित खुलामञ्चलाई पार्क बनाउन थालिएको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले आइतबार उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।
सोमबार भएको बहसमा कायममुकायम मुख्य न्यायाधिश शेषराज सिवाकोटीको एकल इजलासले खुलामञ्चलाई पार्क बनाउनुको लिखित कारणसहित अदालतमा उपस्थित हुन नगरपालिकालाई आदेश दिएको हो । विपक्षीहरुलाई २० गते उपस्थित हुन आदेश दिइएको हो ।
दुबै पक्षको छलफल र बहस सुनेपछि मात्रै अदालतले अन्तिरिम आदेश दिनुपर्ने वा नपर्ने भनेर निर्णय लिनेछ । अधिवक्ता खत्रीले कानूनविपरित पार्क बनाउन थालिएको भन्दै कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत उपत्यका नगर विकास समितिलाई विपक्षी बनाइ रिट दिइका थिए ।
गुरुयोजनामाथि निरन्तर प्रहार
वीरेन्द्रनगर उपत्यकाको गुरुयोजना कार्यान्वनय गर्ने मुख्य दायित्व वीरेन्द्रनगर नगरपालिकाको हो । तर नगरपालिकाले नै विगत दुई बर्षदेखि निरन्तर सोही गुरुयोजनामाथि प्रहार गर्दै आएको छ । गतवर्ष घण्टाघर अगाडिको खाली भागलाई दिनेश स्मृति प्रतिष्ठानलाई पार्क बनाउन दिइएको थियो ।
गुरुयोजनाविपरित सार्वजनिक जग्गामा व्यक्तिको नामबाट पार्क बनाउन सुरु गरेपछि विवाद बढेको थियो । कम्पाउण्ड निर्माणको जग हाल्नै लाग्दा नागरिकको चर्काे विरोध र अदालतले चासो देखाएपछि उक्त पार्क बनाउने योजनाबाट नगरपालिका पछाडि हटेको थियो । ठिक त्यसैगरी पछिल्लो पटक नगरपालिकाले पुनः गुरुयोजनाविपरित खुलामञ्चलाई घेरबार गरेर पार्क निर्माण गर्न थालेको हो । गुरुयोजना कार्यान्वयन गर्ने नगरपालिका नै आफै यसलाई कुल्चन थालेको हो ।
समितिले अझैं पूर्णता पाएन
विगत एक बर्षदेखि उपत्यका नगर विकास समितिको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी वीरेन्द्रनगर नगरपालिकाको काँधमा छ । २०७६ साल असोज १६ गतेबाट नगर विकास समितिको अध्यक्षमा नगर प्रमुख देवकुमार सुवेदी छन् ।
नगर प्रमुख नगर विकास समितिको अध्यक्ष र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नगर विकासको सदस्य सचिव रहने प्रावधान रहेको छ । नगर विकास समितिको बोर्डमा नगर कार्यपालिकाका पाँच जना सदस्य मनोनित गर्नुपर्ने हुन्छ । तर बर्षदिन पुग्दा पनि वोर्डले पूर्णता नपाएको हो । बोर्ड सदस्य नियुक्तीमा नगर प्रमुख सुवेदी र उपप्रमुख मोहनमाया ढकालबीच विवाद छ ।
नगरपालिकामा बहुमत सदस्यहरु ढकालको पक्षमा छन् । बहुमतको आधारमा बोर्ड सदस्यमा ढकाल हावी हुने भएपछि बोर्डसदस्य मनोनित गर्न नसकिएको बताइएको छ । सञ्चालक समिति नै अपूर्ण भएपछि नगर विकासको बैठकसमेत बसेको छैन ।






राजु
30th Jun 2021सुबिधा युक्त मंच को खाका कस्तो हुन्छ नगरपालिकाले बिस्तृत योजना सार्बजनी गर्दा हुन्थियो नि त. होइन भने सर्बसाधारणको जागा विस २०३६ सालमा खुलामञ्चकै लागि तत्कालीन उपत्यका नगर विकास समितिले व्यक्तिहरुको जग्गा अधिग्रहण गरेको थियो . नया पार्क बनाउनु भन्दा भयको पार्क लाई ब्यबस्थित गर्दा हुन् थियो नि . बुलबुले , घन्टाघर, भानु पार्क, मुस्कान पार्क, सहिद पार्क को हालत कस्तो छ .