आमा बन्दै ऋचा शर्मा भन्छिन्: मेरो धडकनभित्र अर्को जीवनको आभास भइरहेको छ

काठमाडौं । अभिनेत्री ऋचा शर्माले आफू आमा बन्न लागेको बताएकी छन्। उनले सामाजिक सञ्जालमार्फत नयाँ वर्षको दिनमा आफ्ना फ्यानहरुको आशीर्वादको अपेक्षासहित उक्त कुराको जानकारी दिएकी हुन् ।
शर्मा र दिपेक्ष विक्रम राणाले २०७६ मंसिर महिनामा बिहे गरेका थिए। पेटमा बच्चा भएको जानकारी दिँदै ऋचाले दिवंगत आमालाई सम्झिएकी छन् । ‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस्। आज त्यही कुरा स्मरणमा आइरहेको छ ।
एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन’, उनले लेखेकी छिन्, ‘आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन मभित्र प्यारो आभास भइरहेको छ । आज तपाईंहरु माँझ यो खुशी बाँड्न पाउदा सम्पूर्ण महसुस भइरहेको छ ।’

एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु नै सौभाग्यको कुरा रहेको उनले उल्लेख गरेकी छन् । प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा उनले र उनको श्रीमानले यो सजीवनको रुख रोपेको उनले बताइन् । ‘यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधै बनिरहोस् भन्ने तपाईंहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु’, ऋचाले लेखेकी छिन्, ‘मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला,छोरी आज ठूली भई ।’






