अभाव टार्दै समृद्धितर्फ कर्णाली भौतिक विकासमा पनि फड्को

सुर्खेत । रोग, भोक र गरिवीले थलिएको कर्णाली । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको अभाव । सामाजिक पछौटेपनले ग्रस्त । अहिले पनि कर्णालीलाई यही रुपमा चिन्ने गरिन्छ । अभाव र गरिबीलाई कर्णालीसँग जोड्ने गरिन्छ ।

तर अब कर्णाली सिंहदरबार र आइएनजीओले ठानेजस्तो मात्र छैन । बरु समृद्ध कर्णालीको परिकल्पना साकार पार्न भौतिक पूर्वाधारको विकास र सामाजिक रुपान्तरणतर्फ लम्किन थालेको छ । पछिल्ला वर्षमा भएको भौतिक विकास र सामाजिक परिवर्तनले कर्णालीमा केही सम्भावनाका धर्साहरु पनि देखिन थालेका छन् ।

शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा कर्णालीले फड्को मार्न थालेको छ । कर्णालीका ७९ स्थानीय तहमध्ये ६६ वटा पालिकाको केन्द्रसम्म सडक पुगिसकेको छ । ५२ वटा स्थानीय तहको केन्द्रसम्म पक्की सडक पुगेको छ । ट्याक खुल्न बाँकी १३ स्थानीयसहित २७ वटा स्थानीय तहको केन्द्रसम्म पक्की सडक पु¥याउने लक्ष्य राखिएको छ ।

प्रदेशभर एकसय तीन किलोमिटर सडक कालोपत्रे भइसकेको छ । आगामी दशैसम्म हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी काम भइरहेको छ । स्थानीय सरकार बनेपछि गाउँगाउँमा सडक पु¥याएका छन् । कर्णालीबासीको भाग्यरेखा मानिने कर्णाली करिडोर, भेरी करिडोर, पुष्पलाल लोकमार्ग, मदन भण्डारी लोकमार्ग, राप्ति करिडोर जस्ता सडक आयोजनाले कर्णालीलाई आर्थिक समृद्धिसँग जोडेका छन् ।

भेरीबबई बहुउद्देश्यीय आयोजना, नलगाड जलविद्युत आयोजना र दैलेखको पेट्रोल खानी उत्खनन् जस्ता महत्वपूर्ण आयोजनाहरु निर्माणको चरणमा छन् । छोरी बुहारीका लागि प्राविधिक शिक्षा कार्यक्रम अगाडि बढाएको छ । किसानलाई आत्मनिर्भर बनाउने प्रयासहरु थालिएका छन् ।

जसका लागि बैंक तथा वित्तिय संस्थाबाट ऋण लिने किसानको ब्याज प्रदेश सरकारले तिरिदिने व्यवस्था गरिएको छ । कर्णालीले दुध, मासु र फलफुलमा निर्यात गर्न थालेको छ । त्यस्तै पर्यटन पूर्वाधारले क्षेत्र पनि बदलिएको छ ।

सुर्खेतको काँक्रेविहार, बुलबुले, मुगुको रारा, सल्यानकोे कुपिन्डेताल, रुकुमको स्यार्पुताल, डोल्पाको शे–फोक्सुन्डो ताल हेर्न पर्यटकहरु आउन थालेका छन् ‘अब कर्णाली पहिले जस्तो छैन, पूर्वाधारको क्षेत्रमा ठूलो फड्को मारेको छ’ प्रदेश सरकारका प्रवत्तासमेत रहेकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी भन्छिन्, ‘अभाव होइन, अब कर्णाली समृद्धिको बाटोमा अघि बढेको छ ।’

प्रदेश, स्थानीय र केन्द्र सरकारले कर्णाली आधारहरु तयार पारिरहेको उनको तर्क छ । ‘प्रदेश सरकारले कर्णाली समृद्धिको रोडम्याप तयार पारिसकेको छ, विकासको जग बसालेको छ’ उनी भन्छिन्, ‘हामीले कर्णालीको काँचुली फेर्ने प्रयास गरेको छाैं ।’  कर्णाली प्रदेश योजना आयोगले पनि तीन वर्षको अवधिमा कर्णालीको परिभाषा बदल्ने प्रयासहरु भएको बताउँछ ।

‘पछिल्लो समय कर्णालीमा धेरै विकास भएको छ, पहिलेको जस्तो अभावहरु छैन’ प्रदेश अयोगका सदस्य डा. दिपेन्द्र रोकाया भन्छन्, ‘कर्णालीले अभावको परिभाषा बदल्ने प्रयास गरेको छ ।’ प्रदेश योजना आयोगले तयार पारेको मार्गचित्र अनुसार सरकारले अगाडि बढेको खण्डमा समृद्धिको सपना टाढा नरहेको उनको तर्क छ । ‘आयोगले तयार पारेको योजनामा प्रदेश सरकार हिँडेपछि कर्णालीको समृद्धि टाढा छैन’ उनी भन्छिन् ‘बजेटको कार्यान्वयन र लगानी जुटाउन सके कर्णाली छोटो समयमै समृद्ध बन्छ ।’

राजधानीको मुहार बदल्ने चिल्ला सडक

सडक पूर्वाधारमा पनि प्रगति हुन थालेको छ । कुनैबेला साँघुरा र धुलाम्य वीरेन्द्रनगरका सडकहरु फराकिला र चिल्ला बनाउने काम भइरहेको छ । यसले कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगरको मुहार बदलिन थालेको छ ।

राजधानीलाई सडक पूर्वाकारमा अब्बल बनाउने गरी वीरेन्द्रनगरका विभिन्न ३६ वटा सडकलाई चिल्ला (पक्की) बनाउन थालिएको हो । राजधानीको मुहार बदल्न केन्द्र, प्रदेश र स्थानीय सरकारले सडक पूर्वाधारमा लगानी गरेरका छन् । हाल वीरेन्द्रनगरका ३६ वटा सडकको स्तरोन्नति थालिएको छ ।

संघीय सरकारले सुर्खेत विमानस्थलदेखि गणेशचोकसम्म र बाँकी सडकहरु प्रदेश र स्थानयि तहले स्तरोन्नती गरिरहेको छन् । ३६ सडकमध्ये २५ वटा सडकलाई सहरी सडकका रुपमा स्तरोन्नती गरिन थालिएको छ । चालु आर्थिक भित्रै वीरेन्द्रनगरमा ३२ किलोमिटर सडक कालोपत्रे हुनेछ । यसकारण पनि प्रदेश राजधानीमा सडक पूर्वाधारको विकासमा क्रान्ति नै भइरहेको छ ।

स्वास्थ्य पूर्वाधारमा चमत्कार

कर्णालीको एउटा पीडा थियो, विरामी हुँदा सिटामोल पनि नपाइने । गर्भवती र विरामीहरु उपचार नपाइ मर्नुपर्ने अवस्था थियो । तर अहिले अवस्था फेरिएको छ । पछिल्लो समय स्वास्थ्य पूर्वाधारको क्षेत्रमा पनि कर्णालीले ठूलो फड्को मारेको छ । एक बर्षअघिसम्म सुर्खेत र जुम्लाबाहेकका जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा नै थिएन ।

तर पछिल्लो एक वर्षमा कर्णालीको मुहार बदल्नेगरी स्वास्थ्य क्षेत्रमा उल्लेखनीय विकास भएको छ । अहिले कर्णालीका सबै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा उपलब्ध छ । ‘स्वास्थ्य क्षेत्रमा पूर्वाधार मात्रै थपिएको होइन’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेल भन्छन् ‘आईसीयू र भेन्टिलेटर कर्णालीवासीको आयु पनि थपिएको छ ।’

उनले भनेजस्तैअहिले जटिल प्रकृतिका बिरामीहरुले जिल्लामै उपचार पाएका छन् । उपचारको अभावमा छट्पटानुपर्ने अवस्था छैन । सामाजिक विकास मन्त्रालयको तथ्याङ्यक अनुसार हाल प्रदेशभर ६२ वटा आइसीयू वेड छन् । त्यस्तै सघन उपचारका लागि अत्यावश्यक मानिने भेन्टिलेटर सेवा पनि कर्णालीका सबै जिल्लामा उपलब्ध भएको छ ।

प्रदेशभर कुल २७ बेड भेन्टिलेटर छ । त्यस्तै कर्णालीमा थप दुई वटा अस्पताल शिक्षण अस्पतालको रुपमा विस्तार हुने भएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सुर्खेतमा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेखको राकम कर्णालीमा एकसय बेडको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारी गरेका छन् । त्यस्तै दैलेखकै राकम कर्णालीमा ट्रमा सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । समग्रमा स्वास्थ्य पूर्वाधारमा कर्णालीले फड्को नै मारेको छ ।

उज्यालो यात्रामा लम्किदै

विद्युतको पहुँच विस्तारमा पनि कर्णालीले महत्वपूर्ण पाइला चालेको छ । सुर्खेतमा विद्युत विस्तार भएको झण्डै ३२ वर्ष एकसय ३२ केभीए विद्युतलाई विस्तारको काम थालिएको छ । विगत चार महिनादेखि १३२ केभीए विद्युत प्रशारण लाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ ।

७० करोड लागतमा भारतीय निर्माण कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’ विद्युतलाई विस्तारको काम गरिरहेको छ । आयोजनाले अहिले विद्युतको फाउन्डेसन निर्माण र विद्युतको पोल रहने स्थानको माटो परीक्षण गरिरहेको छ’ आयोजना प्रमुख रवीकुमार चौधरीले बताए ।

एकसय ३२ केभीए लाइन विद्युत विस्तार भएपछि कर्णालीका उपभोक्ताले लो–भोल्टेजका कारण पाउँदैँ आएको हैरानी हट्ने अपेक्षा गरिएको छ । लाइन विस्तार भएपछि सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखका नागरिकले सहज रुपमा विद्युत प्रयोग गर्न पाउनेछन् ।

कर्णाली प्रदेशको पञ्चवर्षिय योजनाले पनि अबको चार वर्षपछि ९० प्रतिशत नागरिकलाई विद्युतको पहुँचमा पु¥याउने लक्ष्य राखेको छ । हाल कर्णालीका २८ प्रतिशत जनसंख्या मात्र विद्युतको पहुँचमा पुगेका छन् ।

ठूला जहाज अवतरण गराउने कसरत

कुनैबेला कर्णालीबासी संघीय राजधानीसम्म जहाजमा जान नेपालगंज नै पुग्नुपर्ने बाध्यता थियो । कर्णालीका कुनै पनि जिल्ला काठमाण्डौंसँग सिधा हवाइमार्गमा जोडिएका थिएनन् । तर पछिल्लो समय कर्णालीलाई काठमाण्डौंसँग सिधा हवाइमार्गमा जोड्ने प्रयास सफल भएको छ ।

सुर्खेतबाट हाल सिधा काठमाण्डौ हवाइ सेवा सुरु भएको छ । यद्यपी विमानस्थल साँघरो भएका कारण ठूला जहाज अवतरण हुने सकेका छैनन् । यसका लागि सुर्खेतमा ठूला जहाज अवतरण गराउने कसरत जारी छ । हवाइ यातायातको क्षेत्रमा पहुँच विस्तारका लागि कर्णालीका सबै विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढेको छ ।

प्रदेश राजधानी सुर्खेतमा ठूला जहाजबाट सेवा दिने उद्देश्यले सुर्खेत विमानस्थल विस्तारको प्रक्रिया अगाडि बढेको छ । हाल १२ सय मिटर लामो धावनमार्गलाई बढाएर १५ सय मिटर पु¥याउने लक्ष्य राखिएको छ । विमानस्थल विस्तारका लागि एकअर्ब एक करोड बजेट पनि छुट्याइएको छ ।

यसले कर्णालीमा ठूला जहाज अवतरण हुने र सहज रुपमा कर्णालीबासीले जहाज चढ्न पाउने अवसर नजिकिदै छ । जुम्ला र हुम्ला विमानस्थल पनि स्तरोन्नति गरिएको छ । त्यस्तै बन्द रहेको कालिकोटको चुनछहारी विमास्थल र डोल्पाको मसिनेचौर विमानस्थल विस्तार थालिएको छ ।

अभाव टार्दै समृद्धितर्फ कर्णाली भौतिक विकासमा पनि फड्को

त्रिदेशीय टी–२० का लागि नेपाली टोलीको घोषणा

अभाव टार्दै समृद्धितर्फ कर्णाली भौतिक विकासमा पनि फड्को

अठत्तरलाइ कुनै नयाँ मन्त्र छ कि… (राष्ट्रवाद)

Leave a comment

Your email address will not be published. Required fields are marked *