मालपोतले पायो भवन, छिट्टै सेवा विस्तार गर्ने तयारी

सुर्खेत, १२ माघ ।
मालपोत कार्यालय सुर्खेतको सेवा प्रवाह प्रभावकारी नहुनुमा प्राविधिक दक्ष जनशक्ति तथा भौतिक संरचनाको अभाव भएको कार्यालयको गुनासो थियो । मालपोत कार्यालयबाट प्रभावकारी सेवा प्रवाह नभएको विषयमा युगआव्हान दैनिक र युगन्यूज डट कमबाट नियमित खबरदारी गरेपछि सुधारको संकेत देखिएको छ ।

मालपोत कार्यालय सुर्खेतले सेवा विस्तार गर्ने भएको छ । साविक नापी कार्यालयको भवन प्राप्त भएसँगै मालपोतले सेवा विस्तार गर्ने भएको हो । आइतबारदेखि प्रयोगको अनुमति पाएको कार्यालयले व्यवस्थापन गर्ने भएको छ । कार्यालय र जनशक्ति व्यवस्थापन भएपछि सेवा विस्तार गरिने कार्यालय प्रमुख हिक्मतजंग शाहीले जानकारी दिए ।

अबको एक हप्ताभित्र साविक नापी कार्यालयबाट सेवा विस्तार गर्ने कार्यालयको तयारी गरेको छ । ‘नापी कार्यालय पुरानो भवन प्रयोग गर्ने अनुमति पाइसकेका छौँ’ कार्यालय प्रमुख शाहीले भने, ‘दुई ठाउँबाट सेवा प्रवाह भएमात्रै सेवाप्रवाहमा सहज हुन्छ ।’  मालपोतको आडमै रहेको नापी कार्यालयबाट सेवा विस्तार गरेपछि केही सहज हुने कार्यालयको अनुमान छ । यसअघि कर्णाली प्रदेश सरकारले भवन उपलब्ध गराउन मानेको थिएन । तर दिनप्रतिदिन सेवाग्राहीले सास्ती खेप्न थालेपछि भवन उपलब्ध गराउन बाध्य भएको हो । पछिल्लो समय सुर्खेतमा जग्गाको कारोबार बढ्ेसँगै सेवा विस्तार गर्न लागिएका हो ।

सेवा विस्तारको लागि मालपोतले हरेक स्थानीय तहलाई एक कर्मचारी/एक कम्प्युटर उपलब्ध गराइदिन माग गरेको छ । कार्यालयले भेरीगंगा, लेकवेशी, पञ्चपुरी नगरपालिका तथा चिङ्गाड, चौकुने र बराहताल गाउँपालिका कर्मचारी माग गरेको हो । सम्बन्धित स्थानीय तहले १६ गतेपछि मात्रै कर्मचारीहरु पठाउने जनाएका छन् ।

सेवाग्राहीको अत्याधिक चाप बढेपछि वीरेन्द्रनगर नगरपालिकाले यसअघि नै दुई जना प्राविधिक कर्मचारी मालपोत कार्यालयलाई खटाइ सकेका छ । सुर्खेतको गुर्भाकोट र सिम्ता गाउँपालिकाको सेवा भने मालपोतको मेहलकुना शाखाबाट हुँदै आएको छ । सेवा विस्तार नहुँदासम्मका लागि मालपोत कार्यालयले बार र स्थानीय तहहरुको सेवा प्रवाह गर्ने छ ।

तपाईको प्रतिक्रिया