एउटै कक्षामा १६८ विद्यार्थी !
जाजरकोट, १२ पुस ।
एउटा कक्षामा बढीमा कति विद्यार्थी राखेर पढाउन सकिएला ? ४०, ५० वा बढीमा ६० जनासम्म । तर जाजरकोटको एक विद्यालयमा भने एउटै कक्षामा एकसय ६८ जना विद्यार्थीलाई पढाउने गरिएको छ । पत्याउनै गाह्रो पर्ने गरी त्रिभुवन माध्यामिक विद्यालय जाजरकोट खलंगामा कक्षा ९ को अर्थशास्त्र विषय एकैपटक एकसय ६८ जना विद्यार्थी पढ्न बाध्य छन् ।

कक्षा कोठामा विद्यार्थी नअटेपछि खुला चौरमा बसालेर पढाउने गरिएको शिक्षक राजेश शर्माले बताए । कोरोना महामारीबाट बच्न सामाजिक दुरी कायम गरेर पठनपाठन गर्ने सरकारी निर्देशन छ । तर विद्यार्थीको चाप र दरबन्दी अभावका कारण सो विद्यालयमा यति ठुलो संख्यामा एकजना शिक्षकले एउटै पिरियडमा पढाउनुपर्ने बाध्यता रहेको शिक्षक शर्माको भनाइ छ । कक्षा ९ मा दुईसय आठ जना विद्यार्थी छन् । तीन सेक्सनमा विभाजन गरिएको छ ।
त्यसमध्य ऐच्छिक प्रथम विषय अन्र्तगत ४० जनाले ऐच्छिक गणित र अन्य एकसय ६८ जनाले ऐच्छिक अर्थशास्त्र विषय अध्ययन गर्दछन । तर ऐच्छिक विषयमा प्रत्येक सेक्सनमा पढाइ नभएर एकै ठाँउमा राखेर पढाउँदा समस्या भएको हो । विद्यार्थी धेरै हुँदा कक्षा कन्ट्रोल गर्नसमेत हम्मेहम्मे भएको शिक्षक शर्माको अनुभव छ । शिक्षक शर्माले कक्षा सातमा पनि पढाउँछन् । त्यहाँ पनि एउटै कक्षामा उनले ९६ जना विद्यार्थी एउटै कोठामा राखेर पढाउने गरेका छन् ।
विद्यार्थीको चाप अत्याधिक छ । तर सोहीअनुसार विषयगत शिक्षक दरबन्दी नहुँदा यसरी एउटै ठाँउमा राखेर पढाउनुपर्ने बाध्यता भएको निमित्त प्रधानाध्यापक हरिबहादुर बस्नेत बताउँछन् । शिक्षा नियमावली अनुसार एउटा कक्षा कोठामा ४० जनासम्म विद्यार्थी राखेर पढाउनुपर्ने उल्लेख गरिएको छ । विद्यार्थी संख्या धेरै भए सेक्सन विभाजन गर्नुपर्ने प्रावधान राखिएको छ । तर एक सय ६८ जना विद्यार्थी एकै ठाँउमा राखेर पढाउँदा पनि कुनै अभिभावकले चासो राखेका छैनन् । विद्यालयसंगै भेरी नगरपालिकाको शिक्षा शाखा जोडिएको भए पनि अनुगमण्न र नियमणमा कुनै चासो देखाएको छैन । कक्षाकोठा र शिक्षक अभावमा एउटै कोठामा ठुलो संख्यामा विद्यार्थी राखेर पढाउँदा कोरोना महामारीको जोखिम पनि उत्तिकै बढिरहेको छ ।





