अन्नबालीको उत्पादन बढ्यो, सुन्तला घट्यो

रुकुम पश्चिम, ७ पुस।

रुकुम पश्चिममा मुख्य अन्नबाली मकै र धानको उत्पादन बढेको छ । जाजरकोटमा भने सुन्तला उत्पादनमा कमी आउँदा किसान चिन्तित छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार रुकुममा गत वर्षको तुलनामा मकै ४५.२ र धान ४४.४१ प्रतिशतले बढेको छ । यो वर्ष १२ हजार ३२ मेट्रिक टन बढी मकै फलेको कार्यालयले जनाएको छ । ८ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकोमा गत वर्ष प्रतिहेक्टर ३ मेट्रिक टनका दरले २६ हजार ७ सय २३ मेट्रिक फलेको थियो ।

यस वर्ष भने प्रतिहेक्टर ४.६४ का दरले ३८ हजार ७ सय ५५ मेट्रिक टन मकै उत्पादन भएको कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले बताए । उनका अनुसार गत वर्ष र यस वर्ष उत्तिकै क्षेत्रफलमा मकै र धानको खेती गरिएको थियो । ‘कोरोना महामारीले यो वर्ष परिवारका सबै सदस्य घर फर्किए, कृषि कर्म बढ्दा पनि उत्पादन बढेको हो,’ उनले भने, ‘मौसमले पनि उत्तिकै साथ दियो ।’

यस वर्ष जिल्लाको ३ हजार ४८ हेक्टरमा धानखेती गरिएको थियो । गत वर्ष ८ हजार ९ सय ७६ मेट्रिक टन धान फलेकामा यसपालि १२ हजार ९ सय ५४ मेट्रिक टन धान फलेको कार्यालयले जनाएको छ । गत वर्षभन्दा ३ हजार ९ सय ८७ मेट्रिक टन धान बढी उत्पादन भएको निमित्त प्रमुख केसीले बताए । उनका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा मकै र धानको खेती हुन्छ । कार्यालयले यस वर्ष सबै स्थानीय तहमा ‘क्रप कटिङ’ गरी उत्पादनको मापन गरेको हो । केसीका अनुसार अब गहुँ र अरू बालीको पनि यसरी नै उत्पादन मापन गर्ने तयारी गरिएको छ ।

सुन्तला उत्पादन आधा घट्यो

जाजरकोटमा यसपालि सुन्तला उत्पादन घटेको छ । सुन्तलाको पकेट क्षेत्र मानिएको कुशे गाउँपालिका–५, दम्दालामा सुन्तलाको उत्पादन झन्डै आधा घटेको छ । सुन्तला खेतीलाई मुख्य पेसा बनाएका किसान निराश बनेका छन् ।

गत वर्ष सुन्तला खेतीबाट ५ लाख रुपैयाँ आम्दानी गरेका दम्दालाका शक्तिबहादुर ओलीले यस वर्ष मुस्किलले एक लाख रुपैयाँ कमाए । उनले ३५ रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । ‘गत वर्षको तुलनामा मेरो बारीमा यस वर्ष झन्डै ४ गुणाले सुन्तला उत्पादन घट्यो,’ उनले भने, ‘बोट सुक्ने, पात झर्ने, दाना कालो हुने, किरा पर्ने र ढुसी लाग्ने समस्याले यो वर्ष सबैको सुन्तला उत्पादन घट्यो ।’ उनको बारीमा सुन्तलाका २ हजारजति बोट छन् ।

सुन्तला उत्पादन घटेपछि परिवार पाल्न समस्या भएको दम्दालाकी पार्वती थापाले बताइन् । ‘फूल खेल्ने सिजनमा परेको असिनापानीले यो वर्ष सुन्तला नै फलेन,’ उनले भनिन्, ‘बारीभरि सुन्तला लगाइयो, नफल्दा आम्दानी नै भएन ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार दम्दालामा मात्रै वर्षमा झन्डै २ करोड रुपैयाँको सुन्तला उत्पादन हुन्छ । जिल्लाभरि ५ सय किसानले व्यावसायिक सुन्तला खेती गरिरहेका छन् । तर रोग–किराको प्रकोपले सुन्तलाका बिरुवा धमाधम सुक्न थालेपछि किसान चिन्तामा छन् । यो वर्ष झन्डै ५० प्रतिशतले सुन्तला उत्पादन घटेको निमित्त कृषि विकास प्रमुख गणेशबहादुर अधिकारीले बताए । उनका अनुसार कुसे गाउँपालिका, भेरी र नलगाड नगरपालिका विभिन्न क्षेत्रलाई जोडेर सुन्तला जोन घोषणा गरिएको छ । ‘जोनमै सुन्तला उत्पादन घटेको छ,’ उनले भने, ‘कुन ठाउँमा कति घटेको हो भन्नेबारे तथ्यांक संकलन गर्न गाउँगाउँमा प्राविधिक खटाएका छौं ।’

सुन्तला जोनमा आधाले उत्पादन घटेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख पीताम्बर बस्नेतले बताए । ‘बोट सुक्ने र दाना कालो भएर कुहिने समस्या सबैतिर देखियो,’ उनले भने, ‘उत्पादन घट्न नदिन किसानलाई विषादी वितरण गरिरहेका छौं ।’ उनले जोन क्षेत्रको करिब २ सय हेक्टरमा सुन्तलाखेती गरिएको जानकारी दिए ।

कान्तिपुरबाट साभार ।

अन्नबालीको उत्पादन बढ्यो, सुन्तला घट्यो

YUGAAWHAN NATIONAL DAILY (2077-09-07)

अन्नबालीको उत्पादन बढ्यो, सुन्तला घट्यो

गाउँमा प्रसूति सेवा सञ्चालनमा आउँदा महिलालाई सहज

Leave a comment

Your email address will not be published. Required fields are marked *